काठमाडौं । विवादित अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज एमसीसीलाई लिएर नेकपामा थप विवाद शुरु भएको छ । एमसिसी बजेटमा परेपछि नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच विवाद भएको हो ।
यस विषयमा छलफल गर्न भोलि बिहान ९ बजे बालुवाटारमा सचिवालय बैठक बोलाइएको छ । पार्टीमा छलफल नै नगरी एमसिसीलाई बजेटमा पारेपछि पूर्वमाओवादी पक्ष ओली सरकारबाट झस्किएको छ । सरकारले ल्याएको १४ खर्ब १५ अर्बको बजेटमा एमसिसी पनि सलंग्न छ ।
बजेटको लप्सीफेदी रातामाटे हेटौंडा र लप्सीफेदी रातमाटे दमौली बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण बढाइने उल्लेख छ र अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।
बजेटमा एमसीसी भनिएको छैन । तर ठूलो रकम विनियोजन गरेकाले एमसीसीलाई नै अगाडि बढाउन खोजेको देखिन्छ । सरकारले नीति तथा कार्यक्रममा पनि ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने भनेको थियो ।
लगतै नेकपाको एमसीसी कार्यदलका संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले आपत्ति जनाएका थिए । आफूहरुको कार्यदलले परिर्माजन नगरी सम्झौता संसदबाट अनुमोदन गर्न नसकिने निष्कर्ष निकालेको भन्दै दुबैले पार्टीमा छलफल नगरी एमसीसी सम्झौता अगाडि नबढाउन आग्रह गरेका थिए ।
नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एमसीसी अनुमोदन गर्ने नगर्ने संसदको हातमा भएको बताएका थिए । साथै एमसीसी अनुमोदन नभए सरकार आफैंले अन्तरदेशीय प्रशारण लगानीमा लगानी गर्ने बताएका थिए ।
तर बजेट आउँदा एमसीसी अगाडि बढाउने गरी आएको भन्दै सचिवालय सदस्यहरुले नै आपत्ति जनाएका छन् । यसबारे भोलि बस्ने बैठकले थप टुंगो लगाउनेछ । तर पार्टीभित्र सामान्य परामर्श पनि नगरी निर्णय गर्ने बानीले ओलीलाई पटक पटक पार्टीभित्र समस्या हुने गरेको छ ।