वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगर बसपार्क क्षेत्रमा व्यवसायीहरूले फोहोर नगर्ने र अरू कसैलाई पनि गर्न नदिने साझा प्रतिवद्धता व्यक्त गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी कार्यविधि अनुरूप नीति÷नियम पालना गर्ने र आफ्नो मातहतका व्यवसायीलाई पालना गर्न लगाउने प्रतिवद्धता व्यक्ति गरेका हुन् ।
वीरेन्द्रनगर नगरपालिका–६ को वडा कार्यालय र अन्तरनिर्भर समाज सुर्खेतले आयोजना गरेको कार्यक्रमकाबीच बस तथा अटो व्यवसायीकहरू, विभिन्न अन्य व्यवसायी संघ, बसपार्क ब्यवस्थापन समितिले प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता पत्रमा प्रत्येक पसलका अगाडी डस्टवीन राख्न लगाउने, आफ्नो पसलबाट निस्केको फोहोरलाई कुहिने र नकुहिने फोहोरमा छुट्याई फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने, यातायात ब्यवसायीले संचालनमा आएका गाडि भित्र यात्रुले गरेको फोहोर व्यवस्थापनका लागि विन राख्ने र यात्रुहरुलाई फोहोर व्यवस्थापन सम्बन्धी सुचना प्रवाह गर्नुपर्ने उल्लेख छ ।
कार्यक्रममा वडा अध्यक्ष मोति प्रसाद कंडेलले फोहोर व्यवस्थापन सबैको जिम्मेवार रहेको बताए । बसपार्क क्षेत्रमा निगरानी गर्ने र पहिले एकदुई दिन सम्झाई बुझाई गर्ने र त्यस पछि कार्वाही गर्ने बताए । उनले नागरिकहरुलाई पनि सरसफाई जिम्मेवार रहेको भन्दै जथाभावि फोहोर नगर्न र आफुले गरेको फोहोर आफैले सफागर्न पनि अनुरोध गरे ।
यस्तै अन्तरनिर्भर समाज सुर्खेतका कार्यक्रम व्यवस्थापक विवेक शाहीले सरसफाईमा सबै जिम्मेवार हुनुपर्ने बताए । उनले सरसफाई स्वंयसेवक तथा अभियान्ताहरु पनि खटिने बताए ।
साथै बसपार्क क्षेत्रमा वीरेन्द्रनगर नगरपालिका–६ को वडा कार्यालय, अन्तरनिर्भर समाज सुर्खेत, बस व्यवसायी, बसपार्क व्यवसायी, अन्य संघसंस्थाको उपस्थितमा सरसफाई समेत गरेको छ ।