काठमाडौं : कर्णालीमा दलित युवालाई मार्नु । बेपत्ता पार्नु । कुटिकुटी हत्या गर्नु । अङ्गभङ्ग पार्नु । भेरीमा बगाउनु सामान्य हो । यसविरुद्ध न सरकार छ न बोल्ने धार ।
२०७६ जेठ १० रुकुम सोतीका गाउँलेले जाजरकोटका ६ जना युवालाई हत्या गरेको थाहा नपाउने बिरलै छन् । तैपनि भनौं, रुकुम पश्चिमको चौरजहारी नगरपालिका – ८ सोतीका गाउँलेहरु मिलेर जाजरकोट भेरी नगरपालिका – ४ रानागाउँका नवराज विकसहित ६ जना युवाको विभत्स हत्या गरेका थिए ।
कारण थियो मल्ल थरसँगको अन्तरजातीय प्रेम सम्बन्ध । राणागाउँका नवराज र सोतीकी शुष्मा मल्लबीचको प्रेम सम्बन्ध । जसले गर्दा नवराजसहित जाजरकोट ती युवालाई सोतीका गाउँलेले बलि चढाए ।
मितिका हिसाबले यो घटना भएको वर्ष बित्यो तर आलो छ । न्यायको हारगुहार चलिरहेको छ। लडाइँ जारी छ । अपराधीलाई संरक्षण गर्ने काम पनि जारी छ ।
यो घटना आलै छ । यस्तै कर्णालीमा अर्को घटना घटेको छ । भनौं नवराजको घटना जस्तै दोहोरिएको हो । यद्यपी युवा मारिएका छैनन तर बेपत्ता पारिका छन् । कारण उहिँ मल्ल थरसँगको अन्तरजातीय विवाह ।
मुगुको सोरु गाउँपालिका–१ लिप्रु गाउँकी सुन्तली मल्ल र हुम्लाको सर्केगार्ड गाउँपालिका–१ को जैरको नात्ता गाउँका चन्द्रे कामीबीच विवाह भएको लगभग दुई महिना बित्यो । उनीहरुलाई माइती पक्षको धम्कीले दुई महिना बाहिरै बसे । सर्केगार्डको रीप गाउँमा उनीहरु बस्दै आएका थिए ।
यता लिप्रुका माइती पक्षले खोजिरहेका थिए । तर, भेटाएका थिएनन । पछि माइती पक्षबाट अहिलेको जमानामा पनि के को जातपात ? आउ भेटौं भनेर बोलाएपछि उक्त जोडी घरमा आए ।
बुधवार राति मात्रै युवकको घरमा माइती पक्ष आएर युवकलाई निर्घात कुटपिट गरे । अनि, युवा र युवतीलाई लिएर गए । तर, उनीहरुलाई कहाँ लिए ? अत्तोपत्तो छैन ।
सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोशी धामीका अनुसार, युवाको घरमा बसिरहेका बेला माइती पक्षबाट करिब २० जना युवा आएर कुटपिट गरे अनि दुई जनालाई लिएर बेपत्ता पारेका हुन् ।
हुम्ला प्रहरीका अनुसार, युवती सम्पर्कमा आएको र युवक अहिलेसम्म बेपत्ता छन् । ‘घटनाको जानकारी पाउन वित्तिकै प्रहरी परिचालन भइसकेको छ । प्रहरी निरीक्षकको नेतृत्वमा पाँच जनाको टोली तुम्च, गल्फागाड, श्रीनर र कवाडी चौकीबाट प्रहरी परिचान भएको हुम्ला प्रहरी नायब उपरिक्षक हेरम्भ शर्माले भने, ‘खोजी कार्य तीब्र गरिरहेका छौं तर अहिलेसम्म युवक पत्ता लाग्न सकेको छैन । युवती सम्पर्कमा आएको सुचना प्राप्त भएको छ ।’
जिल्ला प्रहरी कार्यालय मुगुले पनि प्रहरी परिचालन गरिसकेको जानकारी दिएको छ । दुई जिल्लाबाट प्रहरी परिचाल भइसकेका छन् तर युवाको पत्तो छैन ।
घरबाटै २० जना युवाले निर्घात कुटपिट गरेर लिएका युवालाई के गरे ? शंकाको विषयमा बन्न पुगेको छ । यद्यपी प्रहरीले भने खोजी कार्य रहेको बताएको छ । युवा दुई दिनदेखि बेपत्तामा छन् । यता युवाको घरतर्फ पनि खोजी कार्य गरिरहेको परिवारले जनाएका छन् ।
यो पनि पढौं..