सिमकोट : अस्पतालम रुघाखोकीका र ज्वरोका बिरामी संख्या बढ्न थालेका छन् । चिसो अत्यधिक बढ्नु र धुलोको कारण बिरामी बढ्दा अस्पतालमा उपचारका लागि घुइँचो लाग्ने गरेको छ । अस्पताल पुगेका बिरामी जौका रावतले चार दिनदेखि रुघाखोकी ज्वरो आएर थला परेको बताइन् । घाँटी र पुरै शरिर दुख्ने र खाना खान मन नलाग्ने गरि बिरामी भएको उनले बताइन् ।
घरमै सन्चोसँग तातो पानी प्रयोग गरेर निको पार्ने सोचेकाले निक्कै सताउन थालेपछि उपचारका लागि अस्पताल पुगेको उनको भनाइ छ । आफु मात्र नभएर उनले सदरमुकाम सिमकोट भरी रुघाखोकीका बिरामी वृद्धि भइरहेको जनाइन् । घरघरमा ज्वरो रुघाखोकीका बिरामी बढ्न थालेका छन् ।
अस्पतालकी सिनियर अनमी सरिता बोहराले रुघाखोकी र ज्वरोका बिरामी निक्कै बढेको बताइन् । हाल अस्पताल आउने यस्ता बिरामी दैनिक ४० देखि ५० जना पुग्ने बताउँदै चिकित्सकलाई बिरामीको उपचार गर्न भ्याइनभ्याई छ । उपचारका लागि अस्पतालमा आउने सबै उमेर समूहका बिरामी भएपनि बढी भने बालबालिका र वृद्धवृद्धा रहेका छन् ।
उनले उपचारपछि केही कठिन अवस्थाका बिरामीहरुलाई अस्पतालमा भर्ना समेत गर्नु परेको बताइन् । बिरामी संख्या बढे पनि उपचारमा भने कुनै समस्या नभएको अस्पतालले जनाएको छ ।
चिसो अत्यधिक बढ्नु र धुँवा धुलो बढी हुने भएको कारण यसका बिरामी वृद्धि भइरहेको अस्पतालले जनाएको छ । खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीले गाउँपालिकाका सबै वडाका बस्तीमा रुघाखोकीका बिरामी संख्यामा वृद्धि भइरहेको बताए ।
चिसो मौसममा रुघाखोकी र सिजनल फ्लु बढी हुने भएको कारण यसबाट जोगिनका लागि सबैले सावधानी अपनाउनु पर्ने उनले बताए । उनले यसका लागि पानी उमालेर मात्र पिउनु पर्ने, ताततातो झोलिलो पदार्थको सेवन गर्नुपर्ने, न्याना कपडा लगाउनु पर्ने र बालबालिका तथा वृद्धवृद्धालाई चिसोको समयमा घर बाहिर ननिस्कने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।