काठमाडौँः युवा तथा खेलकूद मन्त्रालयले छ खेलाडी, दुई प्रशिक्षक र एक निर्णायक गरी नौ जनालाई राष्ट्रिय खेलकूद प्रतिभा पुरस्कारबाट सम्मान प्रदान गरेको छ । उसुबाट सुर्खेतका दीपक हमाल, धादिङकी जुनी राई र भक्तपुरकी सुस्मिता तामाङ, कराँतेबाट काठमाडौँका एलन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी तथा पारा खेलाडीबाट म्याग्दीका केशव थापा (बहुखेल) सम्मानित भए । सबैले जनही रु एक लाखसहित प्रशंसापत्र प्राप्त गरे ।
त्यस्तै प्रशिक्षकमा तेक्वान्दोबाट नुवोकोटकी सङ्गीना वैद्य र काठमाडौँका नोर्बु लामा सम्मानित भए । दुवैले समान अङ्क हासिल गरेकाले जनही रु ५० हजारसहित प्रशंसापत्र प्राप्त गरे । निर्णायकमा काठमाडौँका अशोक खड्का सम्मानित भए । तेक्वान्दोका निर्णायक खड्काले रु एक लाखसहित प्रशंसापत्र प्राप्त गरे ।
सोही अवसरमा नौजना खेल पत्रकारलाई सम्मान गरियो । खेलकूद पत्रकारिता पुरस्कार तथा सम्मानबाट काठमाडौँ हिमेशरत्न बज्राचार्य (कान्तिपुर दैनिक) सम्मानित भए । उनले रु ५० हजारसहित प्रशंसापत्र प्राप्त गरे । पत्रकारिता प्रोत्साहन पुरस्कारअन्तर्गत समावेशीतर्फ रुपन्देहीकी सञ्जु पौडेल (कान्तिपुर दैनिक) तथा पोखराका विजय नेपाली (ढोरपाटन दैनिक) सम्मानित भए । उनिहरूले जनही रु २५ हजार प्राप्त गरे ।
पत्रकारिता प्रोत्साह पुरस्कार प्रदेशगततर्फ सम्मानित हुनेमा प्रदेश नं १ का नमिन ढकाल (स्थानीय सन्देश साप्ताहिक), प्रदेश नं २ का बसन्त खतिवडा (नयाँ पत्रिका दैनिक), वाग्मती प्रदेशका कुशल तिमल्सिना (कान्तिपुर दैनिक), गण्डकी प्रदेशकी सोनिता अर्याल (ग्यालेक्सी ४ के टिभी), लुम्बिनी प्रदेशका दीपक न्यौपाने (रेडियो नमस्ते), कर्णाली प्रदेशका रमेशकुमार पाण्डे (गुराँस खबर डटकम) र सुदूरपश्चिम प्रदेशका विनोदसिंह विष्ट (रासस स्थानीय समाचारदाता) पुरस्कृत भए । उनिहरूले जनही रु २५ हजारसहित प्रशंसापत्र पाए ।
सम्मानीत हुनेलाई युवा तथा खेलकूदमन्त्री महेश्वरजङग गहतराज, राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष शिव कोइराला, खेलकूद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र सहसचिव एवं प्रवक्ता विष्णुराज ढकालले सिंहदरबारस्थित खेलकूद मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे । रासस