सिमकोट : तिहारको अवसरमा स्थानीयले देउसी भैलो खेलेर उठेको नगदबाट विद्यालयमा सामग्री खरिद गरिएको छ । विद्यालयलाई आवश्यक पर्ने सामग्रीदेखि भौतिक संरचना निर्माणका लागि भैलोबाट उठेको रकम खर्च गरिएको हो ।
सर्केगाड गाउँपालिका वडा नम्बर २ र ३ को लागि स्थापना भएको लालिगुराँस माध्यमिक विद्यालयका प्रधानाध्यापक कालीबहादुरर महताराले देउसीबाट उठेको रकम खर्च गरिएको बताए । दुबै दुवै वडाका रिप र उनापानी गाउँका स्थानीयले गत तिहारको बेला देउसी भैलो खेलेका थिए ।
प्रधानाध्यापक महताराका अनुसार, देउसी खेलेर ११ लाख ६१ ह्जार ९२८ रुपियाँ उठेको र सो रकमबाट विद्यालयलाई आवश्यक पर्ने सामग्री र भत्किएको पूर्वधार मर्मतमा खर्च गर्ने गरी उपलब्ध गराएका छन् ।
देउसीबाट उठेको रकम विद्यालयलाई उपलब्ध भएको र त्यसबाट विद्यालयको आवश्यक आठ वटा कोठाको मर्मत, शौचालय मर्मत, विद्यालयमा सरस्वतीको मन्दिर निर्माण, मञ्च निर्माण, ब्याडमिन्टनको मैदान निर्माण र सांस्कृतिक कार्यक्रमका लागि आवश्यक सामग्री खरिद गरिने बताए ।
दुर्गममा तिहारको बेला देउसी भैलो खेलेर यति धेरै रकम उठेको पहिलो पटकको हो । तीन जना स्थानीय युवा युवती मिलेर नौ वटा भन्दा बढी गाउँमा देउसी खेलिएको थियो ।
उनापानी गाउँका ३ नम्बर वडाको वडा अध्यक्ष गज बहादुर रावतले देउसीबाट उठेको रकमले विद्यालयका लागि निक्कै उपयोगी भएको बताए । उनले यसरी उठेको रकम मनोरन्जन भन्दा पनि सामाजिक कार्यमा लगाउन उपयुक्त भएको बताए ।