सिमकोट : तत्कालिन विद्रोही माओवादीले २०५२ साल फागुन १ सुरु गरेको जनयुद्ध कसैले बिर्सेका छैनन । सडकदेखि संसदसम्म । बिर्सिन पनि कसरी बिर्सिने ? रगतको खोलो बगेको । हजारौं आमाको कोख रित्तिएको । हजारौं चेलीको सिउँदो मुछिएको । हजारौंले परिवर्तनका लागि बलिदान दिएको । छातिमा गोली खाएको । परिवार टुहुरो पारेको । हजारौं चोटले घाइते भएको । कसरी बिर्सिन्छ ?
यही युद्धको एक कमरेड हुन् हुम्लाका गोपाल बुढा । बुढा नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश प्रथम अधिवेशनबाट सदस्य चुनिएका छन् । बुढा तत्कालिन युद्धमा चार ठुला आक्रमणमा परेका थिए ।
आक्रमणमा परेका बुढा उपचारपछि बाँकी जीवन बिताइरहेका थिए । ‘जनयुद्धमा मरेको भए शहीद हुने थिए । बाँचेर धेरैपछि सदस्य हुन पुगेको छु’ बुढाले भने । हुम्ला ताँजाकोट गाउँपालिका- ५ का बुढाले २०४८ सालको निर्वाचनमा भाग लिएका थिए । पछि जनमोर्चा संबद्ध अखिल क्रान्तिकारीको २०५३ सालमा सदस्यता लिए । यसबीच युद्धका विभिन्न भागमा रहेर काम गरे ।
माओवादी केन्द्र कर्णाली प्रदेशको पहिलो अधिवेशनबाट सदस्यमा चयन हुन पनि निकै सकस भएको बुढाले बताए । त्यागकै कारण आफुपछि परेका बुढा प्रदेश कमिटी सदस्यमा चयन हुँदा सन्तुष्ट देखिएका छन् ।
२०५२ सालदेखि नै माओवादी केन्द्रमा आवद्ध बुढा २०५६ मा सदस्यता लिएर पूर्णकालिन राजनीतिमा आएसँगै युद्धमा होमिएका थिए ।
त्यसको एक वर्षपछि २०५७ सालमा जिल्ला कमिटीका सदस्य भएर काम गरे । ०५६ मै माओवादी सेनामा आवद्ध भएका थिए । बुढा जनयुद्धको क्रममा पहिलो पटक म्याग्दीको बेनी आक्रमणमा सहभागी भएका थिए ।
तत्कालिन आक्रमणमा घाइते भए । उपचारपछि निको भए । त्यसपछि बाँकेको कुशुम आक्रमणमा सहभागी भए । त्यो आक्रमणमा पनि घाइते भए । उक्त घटनाबाट पनि उपचारपछि निको भएका थिए । त्यसपछि युद्धकै क्रममा रुकुमको खारा आक्रमणमा सहभागी जनाइ घाइते भएका थिए ।
त्यो दिन सम्झदै उनले भने, ‘बाँच्ने लेखेको रहेछ । चार आक्रमणबाट घाइते भएर पनि बाँचियो ।’ त्यसपछि चौथो पटक उनी नवलपरासीको सुनवल आक्रमणमा परे । र गम्भीर घाइते भए । त्यो आक्रमणबाट घाइते हुँदा उनलाई भारतमा उपचारका लागि लगेको उनले सुनाए । चार आक्रमणमा घाइते भएर पनि बाँच्न सफल भएको उनी बताउँछन् ।
भारतको उपचारपछि उनी अस्थायी सेल्टर छटौं डिभिजन काम गर्दै पुर्वी नवरपरासीको झ्याल्टाङडाँडामा बटालियन सह-कमाण्डर भए । सरकार र विद्रोही माओवादी शान्ति सम्झौता भयो । त्योसँगै सेना समायोजन हुँदा उनी हुम्लाको जिल्ला कमिटी सदस्य भएका थिए ।
२०६८ सालमा सचिवाल सदस्य, २०७३ सालमा पार्टीको ताँजाकोट गाउँपालिकाको संयोजक भए । एमालेसँग माओवादी एकता भएपछि बनेको नेकपामा ताँजाकोट गाउँपालिकाकै इन्चार्ज समेत भए ।
अहिले उनी उक्त पार्टीको प्रदेश सदस्य र ताँजाकोट गाउँपालिकाको इन्चार्ज रहेका छन् । उनको राजनीति इतिहास यस्तो भई रहँदा आफुले त्यागको भावनालाई प्राथमिकतामा राखेको उनको दावी रहेको छ । अहिले कर्णाली प्रदेश कमिटीको सदस्यको जिम्मेवारी पाउँदा निकै खुशी भएका छन् ।