कोही बाच्नको लागि खान्छन् र कोही खानको लागि बाँच्छन्, कोही हुनेखाने हुन्छन् र कोही हुँदा खान्छन् । कोही धन भएका मन नभएका, कोही मन भएका तर धन नभएका हुन्छन् । विभिन्न रुचि र चाहना भएका व्यक्तिलाई यस भूमिमा प्रकृतिदेवीले 'भोग गर' भनेर पठाएकी छन् । जसले जे कर्म लिएर आएको हुन्छ त्यसले त्यो गर्नै पर्छ ।
खानको लागि या दिनको लागि आफ्नै लागि या अर्काको लागि सबैले आफ्ना कर्म गर्दै अगाडि बढिरहेका हुन्छन् । तर संसारमा यस्तो मान्छेको कदर हुन्छ जो आफ्नो लागि नभएर अरूको लागि केही गरेर बाँच्न चाहन्छन् । उदार दिलले आफूसँग भएको ज्ञान या बुद्धि बाँड्न चाहन्छन् । मैले मेरो जिन्दगीमा एउटा यस्तै एउटा व्यक्ति भेटें, ती हुन् भैरव रिसाल दाइ ।
उनमा धन भएर होइन मन भएर सानो लगानीमा पनि ठूला र अरूलाई फाइदा पुग्ने धेरै काम गर्ने अठोट र दृढ आत्मविश्वास छ । मैले देखेको सफल भैरव दाइका पनि कति असफल योजनाहरू होलान् तर मैले भने उनलाई कर्णालीकै सोच र चिन्तनको सिलसिलामा भेटेको हुँ ।
उनी मेरा अभिभावकका साथै जिन्दगीको मार्गदर्शक पनि हुन् । मैले सुरुमा उनलाई कर्णालीको निम्ति चिन्तित जस्तो देखे तापनि उनी समग्र राष्ट्रको चिन्तक रहेछन् । चित्त नबुझेको कुराको तुरुन्तै प्रतिकार गरिहाल्ने उनको यथार्थवादी स्वभावकै कारण शायद मेरो उनीसँग साइनो गाढा हुन गएको हो कि ?
'हुम्लामा उज्यालो' भन्ने बौलाहा योजना अगाडि सारी काम गर्दा दाइसँग सामिप्य बढ्नुका साथै धेरै रमाइला घटनाहरू पनि भए- पारिवारिक, व्यक्तिगत अनि कार्यालयीय पनि । उनको यो राष्ट्रिय छवि अझै पनि अगाडि लम्किने नै छ।
मलाई उनको मार्गदर्शनको अझै खाचो छ भने मुलुकलाई पनि खाँचो छ यस्ता व्यक्तिको ! ईश्वरले यस्तो शक्ति देऊन् भैरव दाइलाई जसले गर्दा कयौं गरीब दुःखी र निमुखका लागि बुनेका योजना पूरा होऊन् । यही मेरो हार्दिक शुभकामना छ ।
(वरिष्ठ पत्रकार भैरव रिसालले पञ्चायतकालकै बेलामा कर्णालीको भ्रमण गरेका थिए । अहिले पनि विकट जिल्लामै गनिएका कर्णालीका हुम्ला, मुगु र डोल्पाको अवस्था त्यतिबेला झन् दर्दनाक थियो । त्यसबेला पनि कर्णालीका हिमाली जिल्लामा पत्रकार रिसालले भ्रमण गरेर कर्णालीबासीका लागि गरेको महत्वपूर्ण कामका बारेमा वर्तमान कर्णालीका मुख्यमन्त्री जीवनबहादुरर शाहीले २०७० सालतिर लेखेको लेख भैरव दाइको जीवन्त ग्रन्थबाट लिएका हौं ।)