सुर्खेत । थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कर्णाली प्रदेशमा संक्रमितको संख्या १ सय २३ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको पीसीआर परीक्षणमा कालिकोट र दैलेखका थप १८ जनामा संक्रमण पुष्टि भएको हो ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार कालीकोट शुभकालिका गाँउपालिकाका १९ वर्षीय युवक र दैलेखका अन्य १७ जनामा संक्रमण देखिएको हो ।
दैलेखका १७ जनामध्ये नारायण नगरपालिकाका ९ जना र दैलेखकै देवलकाँडामा ५ जना पुरुष, सिमडाका एक, रातापानीका एक र साडुका एकजना पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित सबैको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
चार जिल्लामा फैलियो कोरोना, संक्रमित संख्या १ सय नाघ्यो
कर्णालीका चार जिल्लामा कोरोना फैलिएको छ । आइतबार कालिकोट र सल्यानमा पनि संक्रमित भेटिएपछि कर्णालीका चार जिल्लामा कोरोना फैलिएको हो । यसअघि सुर्खेत र दैलेखमा संक्रमितको संख्या ह्वात्तै बढेको थियो ।
संक्रमितको संख्या बढ्दै जाँदा सुर्खेत र दैलेख कोरोनाको हटस्पट बनेका छन । सबैभन्दा बढी दैलेखमा संक्रमितको संख्या दैनिक बढिरहेको छ । पछिल्लो तथ्यांकअनुसार दैलेखमा मात्रै अहिलेसम्म झण्डै ६० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये एक जनाको शनिबार मृत्यु भएको पुष्टि भएको थियो ।
कर्णालीमा अहिलेसम्म संक्रमितको संख्या एक सय नाघ्दा दैलेखमा कर्णालीकै पहिलो र नेपालको सातौ संक्रमितको मृत्यु भएको हो । पछिल्लो तथ्यांकअनुसार सल्यानका २६, कालिकोटका १७ जना, दैलेखका १५ र सर्खेतका १ जना गरी ५९ जना नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या १ सय नाघेको हो ।
मृत्तक युवा भारतबाट आएका थिए । कुनै गम्भिर लक्षण नदेखिएर संक्रमितको मृत्यु भएपछि त्रास झन बढेको छ ।
नेपाल पनि इटाली बन्ने सांसदको चिन्ता
चीनको वुहानबाट फैलिएको कोरोनाले युरोपमा पहिलोपटक इटालीलाई तहसनहस पारेजस्तै नेपाल पनि इटाली बन्ने चिन्ता सांसदले व्यक्त गरेका छन । कर्णाली प्रदेशसभामा बोल्ने सांसदले कोरोना रोकथाममा सरकारले खासै चाँसो नदेखाएका कारण नेपालसँगै कर्णाली पनि इटाली बन्ने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरेका हुन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारको लापरबाहीले कोरोनाको संक्रमण भयावह बनेको आरोप लगाए । शुरुमा कोरोना छैन भन्दै हाइसञ्चो गरी बसेको सरकारलाई अहिले कोरोना देखिएपछि उच्च ज्वरो आएको पनि उनले बताए ।
समयमै तयारी नगर्दा अहिलेको अवस्था आएको पनि सांसद शाहीको भनाई छ । संक्रमण पनि अहिले पनि नियन्त्रणमा रहेकाले सरकारले कोरोना नियन्त्रण र व्यवस्थापनतिर गम्भिर ध्यान पुर्याउनुपर्ने शाहीको भनाई छ । यस्तै सांसद गुलावजंग शाहले कर्णालीमा कोरोना नियन्त्रण गर्न सरकार चुक्दै गएको बताए । उनले यही अवस्था जारी रहे कर्णाली इटाली बन्ने चेतावनी समेत दिए ।
कांग्रेसका सांसद हिमबहादुर शाहीले दैलेख सुर्खेत लगायतका ठाउँमा देखिएको कोरोना तत्काल नियन्त्रण गर्न नसके देशले ठूलो क्षति व्यहोर्ने बताए । सबैभन्दा गरीब प्रदेश रहेको कर्णालीमा स्वास्थ्यको पूर्वाधार कम रहेकाले कोरोना नियन्त्रणमा लापरबाही गरे कर्णालीका जनताले ठूलो मूल्य चुकाउनुपर्ने उनको भनाई छ ।
कर्णालीमा ढिलो गरी फैलिएको कोरोना पछिल्लो समय भारतबाट भित्रिनेको संख्या बढेसँगै संक्रमितको संख्या पनि ह्वात्तै बढ्दै गएको छ ।