काठमाडौं : गएको मंसिर २९ गते बुधबार । अर्थात् हुम्लाका चन्द्र विकले अन्तरजातीय विवाह गरेकैकारण कुटिनु परेको दिन । दुई महिना अघि हुम्ला सर्केगाड गाउँपालिका–१ जैरका चन्द्र विक र मुगु सोरु गाउँपालिका–१ लिप्रुकी सुन्तली मल्लबीच विवाह भयो ।
मल्ल थरकी युवतीसँग प्रेम विवाह गरेका चन्द्रले माइती पक्षको डर, त्रास र धम्कीकाकारण दुई महिना गाउँ छोड्नु पर्यो । जैर गाउँ छोेडेसँगै चन्द्र र सुन्तली सर्केगार्डको रीपमा बस्दै आएका थिए ।
माइती पक्षले चन्द्रको घरमा निरन्तर धम्की दिने, घरमा चन्द्रको खोजी गर्ने काम गरिरहेका थिए । निरन्तर खोजी गरे पनि उनीहरु घरमा नआएपछि अहिलेको जमानामा पनि के को जातपात ? घरमा आउँ भैटौं, सल्लाह गरौंला भनेर माइती पक्षले नै बोलाए ।
प्रेम विवाह गरेका चन्द्र र सुन्तली माइती पक्षको त्यस्तो प्रतिक्रियाले दुई महिनादेखि गाउँ बाहिर बस्दै आएका उनीहरु मंसिर २९ गते बुधबार हर्षित हुँदै जैर पुगे । तर, जैरमा माइती पक्षबाट युवाहरु आएर चन्द्रलाई घर भित्र बाँधेर कुटे । अनि, चन्द्र र सुन्तलीलाई बुधबार नै सँगै लिएर गए । चन्द्रलाई सम्पर्कविहीन पारे ।
केही दिनसम्म सम्पर्कविहीन रहेका चन्द्र विकलाई बुधबार मात्रै हुम्ला प्रहरीले सात दिनपछि भेटाएको छ । उनी सम्पर्कविहीन हुनु, कुटिनु, एउटैकारण हो त्यो मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्नु । अहिले चन्द्र, युवती र युवतीका बुवा प्रहरीको निगरानीमा छन् । अन्य चन्द्रलाई कुटपिट गर्ने फरार छन् । हुम्ला प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ ।
जातीय विभेद गर्नु सामाजिक अपराध हो । यस्तो कार्य गर्नेलाई कारबाही गर्नुपर्छ । यति मात्रै नभइ अन्तरजातीय विवाह गर्नेलाई पुरस्कारको व्यवस्था समेत गरेकै हो । तर, चन्द्र विकले अन्तरजातीय विवाह गरेकै कारण घरमै निर्घात कुटिनु पर्यो ।
यसलाई कानुनले हेर्ने कि नहर्ने ? भलै चन्द्र विक भेटिए पनि दलित भएकै कारण चन्द्र कुटिए । चन्द्रलाई घरबाट माइती पक्षले लिएर दिनौं बेपत्ता पारे । ठाडै विभेद गरे । जातीय रुपमा विभेद गर्ने विभेदकारीलाई कानुनले आफ्नो दाहेरामा ल्याउँछ ? ल्याउँदैन । किन ? कानुन नै अपराधीको किचेनमा छ । अपराधीको टाङमुमि छ ।
कालिकोटमा पानी छोएकै कारण जनप्रतिनिधिले नै गुमाउनु मात्रै परेन रुकुममा माओवादी नेता जनार्दन शर्माकै आफ्न्तले जाजरकोटका युवाको हत्या गरे । यी घटनाका नाइके नै सडकमा बढो शानका साथ हिँड्डुल गरिरहेका छन् ।
कानुन मुकदर्शक बनेको ज्वलन्त छ । कानुनले पीडितलाई नै मारिरहेको ज्वलन्त मात्रै होइनन दोषीलाई कारबाही गरेर इतिहास रचोस् । अपराधीको टाङमुमि मात्रै होइन पीडितको आँखामा बसोस् ।
चन्द्र विकमाथि भएको जातीय विभेद सामाजिक रुपमा नै अपराध भएको हो । यसका दोषीलाई कानुनले कारबाही गरोस् । चन्द्र विकमाथि कानुनले पनि कुटपिट नगरोस् । चन्द विकको ज्यान अझै असुरक्षित छ । यसमा सधैं निरीह हुने कर्णाली सरकारको ध्यान जावस् ।