खलंगा : जुम्ला आयूर्वेद स्वास्थ्य केन्द्र प्रमुखको चरम लापरबाहीले आयूर्वेद सेवामा प्रभावित बन्दै गएको छ । दसैँ बिदामा कार्यालय प्रमुख देवेन्द्र ठाँकुर पुस ४ गते मात्रै कार्यालय फर्किए । उनको लापरबाहीले आयूर्वेद केन्द्रको काम प्रभावित बन्न पुगेको हो ।
दसैँमा घर गएका प्रमुख ठाँकुर विना जानकारी घरमै दुई महिना बढी बसेका थिए । त्यसपछि पाँच महिनामा कर्मचारीको तलब बाहेक अन्य पुँजिगत काम शुन्य देखिएको छ । उनी आफु जिल्ला बाहिर बस्दा कसैलाई पनि कार्यवाहकको जिम्मेवारी नदिएर बस्ने गरेका छन् ।
कार्यालय प्रमुख देवेन्द्र ठाँकुर दसैँपछि पुसमै फर्किएको कार्यालयमा कार्यरत एक कर्मचारीले बताए । कर्मचारीका अनुसार, कार्यालयमा कार्यवाहक जिम्मेवारी कसैलाई नदिएकाकारण कार्यालयले औषधि समेत खरिद गर्न सकेको छैन ।
प्रमुख ठाँकुर पुस ४ गतेबाट कार्यालयमा हाजिर भएका छन् तर पाँच महिना बितिसक्दा पनि कार्यालयको पुँजिगततर्फको काम शुन्य भएको छ । आयूर्वेद स्वास्थ्य केन्द्रको पहिलो चौमासिक मर्मत सम्भारका लागि भनेर आएको २० लाख, डीपीआर निर्माणका लागि एको ५ लाखको समेत काम हुन नसकेको नाम नखुलाउने सर्तमा एक कर्मचारीले बताए ।
औषधि खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका कुनै पनि कार्य हुन नसकेको कर्मचारीको गुनासो छ । कार्याल प्रमुख दुई महिनासम्म कार्यालयको जिम्मेवारीबाट बेखबर छन् ।
यता कार्यालय प्रमुख ठाँकुरले आफु विरामी भएका कारण घर बसेको बताए । उनले निमित्तको जिम्मेवारी कर्मचारी गोरखबहादुर रावतलाई दिएको दाबी गरे । कर्मचारी रावतले कार्यालय प्रमुखले कुनै पनि जिम्मेवारी नदिएको र जिम्मेवारी नदिइएकै कारण अहिलेसम्म काममा प्रभावित भएको बताए ।
जुम्ला आयूर्वेदमा सेवाग्राही भने धेरै आउने गरेका छन् । दैनिक १० देखि १५ जना सेवाग्राही कार्यालयमा आउने गरेको तर औषधि अभाव कर्मचारीले फर्काउने गरेका छन् । कार्यालयको खातामा रकम भएपनि औषधि खरिद नगर्दा सेवाग्राहीले सेवा लिन पाएका छैनन ।
कार्यालय प्रमुख ठाकुरले गत आर्थिक वर्षमा पनि कामको सिलसिलामा कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए । ठाकुरले सवै पेश्की आफ्नो नाममा लिने तर काम पनि नगर्ने, करार कर्मचारीको जागिर खान्छु भनेर धम्की दिने भएकाले कार्यालय प्रमुख र कर्मचारीको झगडा जिल्ला प्रशासनसम्म पुगेको थियो । यो वर्ष भने दुई महिना हाकिम नभएको खबर पाएपछि स्थानीय प्रशासनले छड्के गरेर हाजिरमा रातो लगाएको छ ।
आयूर्वेदका हाकिम देवेन्द्र ठाँकुरको नाममा दुई लाखको बेरुजु
आयूर्वेद स्वास्थ्य केन्द्र गत वर्ष जनस्वास्थ्य सेवा केन्द्रसँग गाभिएको थियो । अहिले कार्यालयको छुट्टै संरचना बनेको छ । गत वर्षकै करिब २ लाख प्रमुख ठाँकुरको नाममा बेरुज थियो । अहिले पनि उनकै नामा रहेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाका अनुसार, ठाकुरको नाममा २ लाखको बेरुज छ । जडीबुटी खरिद गर्नका लागि उत्त रकमको पेश्की ठाँकुरले लिएका थिए । जडीबुटी खरिद नगरेको भेटिएपछि उक्त रकम वेरुजु भएको सापकोटाले बताए ।
उनले यसका लागि छानविन समिति समेत गठन गरिएको बताए । समितिको निष्कर्ष विरुवा खरिद नगरेकाले बेरुजु राखिएको बताए । ठाँकुरको काम प्रति कर्णाली सरकार पनि असन्तुष्ट देखाएको छ ।
कर्णाली प्रदेश सरकार सामाजिक मन्त्रालय अन्तर्गत चिकित्सा शाखा प्रमुख लक्ष्मी नारायण तिवारीका अनुसार, कार्यालय प्रमुख देवेन्द्र ठाँकुरको काम त्यति राम्रो नभएकोे बताए ।
उनले यस समस्या सामाधनका लागि पहल भइरहेको बताए । कार्यालय प्रमुख ठाँकुरले मंसिर १ गतेबाट आफ्नो सरुवा भइसकेको बताए । तर सरुवा बिषयमा आफुलाई जानकारी नभएको तिवारीले बताए ।
गत आर्थिक वर्षमा पनि उक्त कार्यालयबाट काम गर्न नसकेर १२ लाख फ्रिज भएको थियो । जुम्ला प्रशासनले आयूर्वेद स्वास्थ्य केन्द्रमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले बताए । उनका अनुसार, प्रशासनले प्रमुख ठाँकुरलाई स्पस्टिकरण सोधेको छ ।