सुर्खेत । जातीय विभेदमा नवराज विकसहित ६ जनाको हत्या भएको रुकुम पश्चिमको सोतीमा भएको घटनाविरुद्ध सुर्खेतमा पनि प्रदर्शन भएको छ । सुर्खेतमा क्रियाशील विभिन्न दलित संघ संस्था, अगुवा, दलित अधिकारकर्मीको आह्वानमा भएको प्रदर्शनमा दर्जनौको सहभागिता थियो ।
वीरेन्द्रनगर बजार परिक्रमा गरेर वीरेन्द्रचोकमा कोणसभामा परिणत भएको प्रदर्शनमा दोषीलाई कडा भन्दा कडा कारबाही गर्न अधिकारकर्मीले माग गरेका छन । दलित गैरसरकारी महासंघका उपमहासचिव सन्जु विश्वकर्माले जातीय विभेदको नरसंहारका दोषीलाई तत्काल कारबाही गर्न माग गरे ।
उनले दोषीलाई कारबाही नभए झन आन्दोलन चर्काउने चेतावनी समेत दिए । युवा अभियान्ता सजना सुनारले पनि घटनाका दोषीलाई कारबाही गर्न माग गरिन् । साथै उनले दलित भएकै कारण मारिनुपर्ने बाध्यता अन्त्य गर्न पनि सरकारसँग माग गरेकी छन ।
प्रदर्शनमा स्थानीय, दलित युवा, अभियान्ता, पत्रकार लगायतको सहभागिता थियो । सोती घटनाको विरोधमा राजधानी काठमाडौँसहित देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ ।
गएको शनिबार जेठ १० गते विवाहका लागि प्रेमिका लिन गएका जाजरकोट रानागाउँका युवा नवराज विक लगायत ६ जनाको रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा कुटपिटपछि हत्या भएको थियो । हत्या गरेर भेरी नदीमा फालिएका उनीहरुमध्ये ५ जनाको शब भेटिएको छ । अझै एक जना बेपत्ता छन ।
प्रहरीले घटनामा सलंग्न रहेको आरोपमा सोतीका वडाध्यक्ष डम्बर मल्लसहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सरकारले गृहमन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति पनि गठन गरेको छ । समितिले जाजरकोट र रुकुम पुगेर अनुसन्धान गरिरहेको छ ।