वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालको सुरुवा भएको छ । वीरेन्द्रनगर नगरपालिकामा करिब ३२ महिना कार्यकाल पुरा गरेर कोहलपुर नगरपालिकामा सरुवा भएका हुन् ।
उनलाई बुधबार एक बिदाई कार्यक्रम मार्फत नगरप्रमुख देवकुमार सुवेदी, उप–प्रमुख मोहनमाया ढकाल लगायत नगरपालिकामा कार्यरत कर्मचारीले बिदाई गर्दै थप सफलताको शुभकामना समेत दिएका छन् । बिदा हुँदै अधिकृत ढकालले नगरपालिकामा करिब दुइवर्ष ८ महिनाको कार्यकाल पुरा गर्दै बुधबार पौष ७ देखि औपचारिक रुपमा बिदा भएको बताएका छन् ।
उक्त समय अवधिमा ढकालले गरेका सबै कामहरू फलदाई र उपलब्धीमूलक भएका समेत प्रतिक्रिया दिएका छन् । ढकाले नगरप्रमुख देवकुमार सुवेदी तथा उपप्रमुख मोहनमाया ढकाल लगायत जनप्रतिनिधीहरुले ल्याएका नीति आफूसँग–सँगै कर्मचारीको सहयोगमा काम गर्ने अवसर प्राप्त भएको बताए ।
३२ महिना कार्यकालमा ढकालले गरेका कामहरू
ढकालले आफ्नो कार्यकालमा नगर क्षेत्र भरी करिव ५५ किलोमिटर आफ्नै अप्टिकल फाईबर सहित ८९ स्थानमा सिसिटिभी क्यामेरा विस्तार, आन्तरिक सञ्चार सेटको सुरुवात, एकीकृत सफ्टवेयर प्रणालीको सुरुवात गरेको बताएका छन् ।
यस्तै नगरपालिकामा अधिकांश कामकाजहरू अनलाईनबाट गर्न मिल्ने, खर्च ब्यवस्थापमा सूत्र प्रणालीको पूर्ण प्रयोग, भुक्तानी प्रणालीमा एकरुपता तथा वडा कार्यालयहरुबाट संचालित गैरकानूनी सरकारी खाताहरु बन्द गरी एकीकृत भूक्तानी प्रणाली, समायोजन पश्चात करिव ३५० जना कर्मचारी ब्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई अधिकार प्रत्यायोजन गरी कार्यसम्पादन करार समेत सुरुवात पनि आफ्नै कार्यकालमा भएको बताएका छन् ।
कर्मचारीहरुको स्तरवृद्धिदेखि नगर अस्पताल सञ्चालन
त्यस्तै ढकालले स्थानीय सेवा ऐन तर्जुमा र कार्यान्वयन गरी लामो समय सम्म वृत्ति विकास रोकिएका कर्मचारीहरुको स्तरवृद्धि समेत भएको बताएका छन् । कार्यालय तथा परिसरको ले आउट मर्मत सुधार लगायतका आन्तरिक ब्यवस्थापन साथै अक्सिजन प्लान्ट तथा नगर अस्पताल सञ्चालनमा ठूलो भूमिका निर्वाह गरेको बताए ।
कोभिड ब्यवस्थापनमा ठुलो भूमिका, सरकारबाट निजामती पुरस्कार
त्यस्तै ढकालले पहिलो र दोस्रो चरणको कोभिड ब्यवस्थापनमा जनप्रतिनिधी तथा कर्मचारीहरुसँग रातदिन खटेर ब्यवस्थापन गर्ने अवसर प्राप्त गरेको बताएका छन् ।
उक्त कामको फलस्वरुप नगरपालिकाको कोभिड ब्यवस्थापन अब्बल रहेको आम जनसमुदाय र मिडियाबाट चर्चा भएको र यसै कार्यालयमा कार्यगर्दा आफुले नेपाल सरकारबाट निजामती पुरस्कार प्राप्त गर्न सकेको बताए । साथै ढकालले निजामती पुरस्कार पाउँनुमा श्रेय नगरपालिकाको टिमलाई दिएका छन् ।
ढकालले वीरेन्द्रनगर नगारपालिकाका स्थानीय बासी समेत हुन् । त्यसैले पनि ढकालले नगरपालिकाका हरेका समस्याहरूलाई विशेष चासो दिएर अगाडी बढाईएका अपुरा कामहरु जस्तै विस्तारित नगर क्षेत्रको गुरुयोजना, विश्व बैंकको सहयोगमा वीरेन्द्रनगर खानेपानी आयोजना संचालन, नगरपालिकाको प्रशासकीय भवन निर्माण, नगरपालिकालाई उपमहानगरको रुपमा स्तरोन्नती, खोला नालाको क्षेत्र विस्तार तथा वडा नम्बर १ मा कर्णाली बसपार्क निर्माण, बमोजिम फोहरमैला ब्यवस्थापन केन्द्रको पूर्णता, एकीकृत सफ्टवेयरका सबै क्षेत्रहरुको प्रयोग गर्नु लगायतका कार्यहरु अबका जनप्रतिनिधी तथा कर्मचारीहरुले पूर्णता दिनुपर्ने बताएका छन् ।
साथै ढकालले आफ्नो कार्यकालका नगरपालिकामा कार्यसम्पादन गर्न हौसला, साथ सहयोग र प्रेरणा दिने मन्त्रालयको टिम, जिल्ला स्थित सम्पूर्ण सांसदहरू लगायत सबै जनप्रतिनिधीहरू, राजनीतिक दलका नेता, पत्रकारहरू, सहकर्मी कर्मचारीहरू लगायत सम्पुर्णलाई धन्यवादसहित आभार ब्यक्त गरेका छन् ।