सल्यान : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सल्लीबजारमा स्वागत गरिएको छ । नेकपा एसका कार्यकर्ताले उनलाई सल्लिबजारमा स्वागत गरेका हुन् ।
स्वागतसँगै सल्लीबजारदेखि धारापानीसम्म मोटरसाइकल र्याली समेत गरिएको थियो । कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेका अध्यक्ष नेपालले लोकतन्त्र मास्नेहरुको साथ छोड्न आग्रह गरेका छन् ।
आगामी निर्वाचनमा लोकतान्त्रिक वामपन्थी शक्तिलाई एकतावद्ध भएर जाने बताए । चुनावी गतिविधि बढिरहेको भन्दै नेपालले यसतर्फ ध्यान केन्द्रित गर्ने दाबी गरे ।
चुनावको सिलसिला सुरु भएको उल्लेख गर्दै उनले ती चुनावमा आफूहरूले विजय प्राप्त गर्ने बताए । एकीकृत समाजवादीका विभिन्न कामहरू व्यवस्थित भइरहेको अध्यक्ष नेपालको भनाइ छ ।
योसँगै एमसीसीबारे छलफल भइरहेको बताउँदै नेपाली जनताको विश्वास जित्न आफूहरू लागेको नेपालको दाबी छ । उनले नेतालाई मन परेको जनतालाई मन नपर्ने र जनतालाई मन परेको नेतालाई मन नपर्ने कुराहरुमा गम्भीर हुनुपर्ने बताए ।
नेता नेपालले देशको रक्षा गर्न एकीकृत समाजवादी पार्टी चिन्तनशील रहेको बताउँदै स्वास्थ्य, शिक्षा, रोजगारी र जनताको हितका विषयमा पार्टी गम्भीर रहेको बताए । ओली प्रतिगमनविरुद्धको आन्दोलन जारी रहेकोम र प्रतिगमनकाविरुद्ध सल्यानको भुमिका झन् विशेष रहेको उनको भनाइ थियोे ।
पौष ९ गते सल्यानमा हुने आम सभालाई सम्बोधन गर्न जाने क्रममै सल्यान पश्चिमका नेता कार्यकर्ताबीच भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरिएको थियो । सल्यान एकीकृत समाजवादीका उप–महासचिव प्रकाश ज्वालाको जिल्ला भएकोले एमाले भन्दाबढी एकीकृत समाजवादीका कार्यकर्ता बढी देखिन्छन् ।
हाल नेकपा एमाले नेतृत्व गरेका केपी ओलीले कम्युनिस्टको सिद्धान्त, विचार र निष्ठालाई लात हानेको र झुट, उखान टुक्काले पार्टी सञ्चालन गरेको अध्यक्ष नेपालको आरोप छ । झुटको खेतीवाहेक ओलीले देशमा अरु केही गर्न नसकेको बताए ।