जाजरकोट । नेपाल विद्यार्थी संघ जाजरकोटले पूर्वगृहमन्त्री जनार्दन शर्माको पुत्ला जलाएको छ । आइतबार जाजरकोट सदरमुकाम खलंगामा नेपाल विद्यार्थी संघले आयोजना गरेको विरोध प्रदर्शनमा पूर्वगृहमन्त्री शर्माको पुत्ला जलाएको हो ।
गएको जेठ १० गते राती रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा भएको जातीय विभेदको घटना तोडमोड गर्ने प्रयास गरेको आरोप लागेका शर्माको पुत्ला जलाएर नेविसंघले विरोध प्रदर्शन गरेको छ । साथै उसले दोषीलाई कडा भन्दा कडा कारबाही गर्न पनि माग गरेको छ ।
सोती घटना घटाउने चौरजहारी नगरपालिका ८ का वडाध्यक्ष डम्बर मल्ललाई जोगाउन पूर्वगृहमन्त्री शर्माले प्रत्यक्ष भूमिका खेलेको आरोप लागेपछि नेविसंघ जाजरकोटले उनको पूत्ला जलाएर विरोध गरेको हो । सदरमुकाम खलंगाको ठाटीबजारमा आइतबार नेविसंघले जनार्दनको पुत्ला जलाएर नाराबाजी गर्दै बजार परिक्रमा गरेको थियो ।
बजारमा थप अर्को पुत्ला जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको नेविसंघका नेताहरुले बताएका छन । खलंगा बजारमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेविसंघ जाजरकोटका अध्यक्ष ललित बस्नेतले दोषीलाई कारबाही नगरी उम्काउन खोजिए यसको मुल्य महंगो पर्ने चेतावनी दिए ।
निर्दोष ६ जना युवाको हत्या गर्नेलाई कडाभन्दा कडा कारबाही गर्न र दोषीलाई तुरुन्त सार्वजनिक गर्न पनि उनले माग गरे । घटनाको तथ्य तोडमोड गरेर लुकाउने प्रयास नगर्न पनि नेविसंघ जाजरकोटका अध्यक्ष बस्नेतले पूर्वगृहमन्त्री शर्मालाई चेतावनी दिएका छन ।
रुकुम पश्चिमका सांसद समेत रहेका शर्माले प्रतिनिधिसभा बैठकमा सोती घटनाबारे एकपक्षीय विवरण उल्लेख गरेका थिए । त्यसयता उनको निरन्तर विरोध हुदैँ आएको छ । सोतीमा प्रेमिका शुष्मा मल्ललाई विवाहका लागि भगाउन गएका जाजरकोट रानागाउँका नवराज विकसहिते ६ जनालाई कुटपिटपछि हत्या गरेर भेरी नदीमा फालिएको थियो ।
प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा वडाध्यक्ष मल्लसहित १८ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
यो पनि पढ्नुहोस
सोती घटनाका नाइके मल्लको जनार्दन 'कनेक्सन'
सोती घटना लुकाउने जनार्दन शर्माको प्रयास, संसदमा आरोपितको बचाउ !
‘जनार्दन शर्मा र शक्ति बस्नेतले घटना दबाउन खोजे’
जनार्दनका विश्वासपात्र छानबिन समितिको संयोजक