रुकुम पश्चिमको चौरजहारीमा जातीय विभेदको घटनामा ६ जना युवाको नरसंहार भएको ९ दिनसम्म पनि सरकारले वास्तविकता बाहिर ल्याउन सकेन । घटना घटेको दिन बित्दै जाँदा आफन्त न्यायको पर्खाईमा छन । तर सरकार र अनुसन्धानरत निकाय भने घटना तोडमोड गर्ने प्रयासमा छन । घटनाका प्रत्यक्षीदर्शीले, घाइतेले, मृत्तकका आफन्त र घटनाक्रमले सबैकुरा बोल्दा पनि सरकार वास्तविकता किन बाहिर ल्याउदैन त ? सोती घटनाको ९ दिनमा अतुलनीय पीडाका ९ प्रश्न :
१. जे पायो त्यहि अभिव्यक्ति : घटनालाई प्रभाबित पार्ने संघ, प्रदेश र स्थानिय तहको जिम्मेवार व्यक्तिको भ्रमित अभिव्यक्तिबारे राज्य मौन किन ? मौनताको अर्थ राज्यको सहमति हो ?
२. प्रयास गरियो, परिणाम आएन : रुकुम सोतीबाट बेपत्ता गोबिन्द्र शाहीको अवस्था अझै अज्ञात छ । यसबारे राज्य बोल्नु पर्दैन ?
३. ढिलोगरी गोताखोर आयो गयो : हालसम्म प्राप्त ५ वटै लास जाजरकोटी युवाले भेट्टाएका हुन । गोताखोरले एउटा लास पनि भेटाउन सकेन । गोताखोर किन फर्काइयो ?
४. एकोहोरो समिति गठन : छानबिनका गठित समितिमा दलित अधिकारकर्मी, मानव अधिकारकर्मी, नागरिक समाजबाट प्रतिनिधि किन राखिएन ?
५. क्षतिपुर्ति खोई : फजुल खर्चमा माहिर सरकार मृत्तकका आफन्त र परिवारलाई उचित राहत घोषणा गर्न किन सक्दैन ?
६. भ्रमपुर्ण समाचार : आर्यघाटमा छोरा जलिरहेको दृश्य हेरिरहेका बाबुसँग अन्तर्वार्ता लिने, १८ बर्षभन्दा मूनिका बालबालिकासँग स्वीकृति नलिइकनै फोटो, भिडियो, अन्तर्वार्ता लिन नपाइने अन्तराष्ट्रिय मान्यता विपरित त्यस्तो कार्य गरी घटनाकाविरुद्ध प्रमाण संकलन गर्न आएका युट्युबर, पत्रकारको भूमिकाबारे सरकार किन मौन ? कुन सहानुभूतिका नाममा प्रमाण संलकन गर्न पठाइएका वा ल्याइएका हुन ?
७. निलम्बन : ज्यान मार्ने अभियोगमाा जाहेरी दर्ता भएपछि वडाध्यक्षलाई किन निलम्बन गरिएन ?
८. अविश्वास : अब्बल, परिपक्व, पत्रकार जिल्लामा हुँदाहुँदै बाहिरबाट लकडाउनको अवधिमा हुलका हुल पत्रकार किन भित्र्याइयो ?
९. घटनाको वास्तविकता : सोतीमा घटना घटिरहदा प्रहरी मुकदर्शक, गाउँमा मारेर भेरी नदीमा बगाइएका जाजरकोटका मानिसहरुको ठम्याई छ । दूनिया बोल्ने, पीडितका शब्दमा कडाई गर्ने सरकार स्थानीयको वास्तविकता किन बोल्दैन ?
यसरी जनता तड्पिदा तिमीलाई दुख्दैन सरकार । कस्तो निरलज्ज, कठोर बन्न सकेको सरकार ।
(पन्त नेपाली कांग्रेसका युवा नेता हुन ।)