काठमाडौं : दुई महिना अघि हुम्लाका चन्द्र विक र मुगुकी सुन्तली मल्लबीच प्रेम विवाह भयो । हुम्ला सर्केगाड गाउँपालिका–१ जैरका चन्द्र र मुगु सोरु गाउँपालिका–१ लिप्रुकी सुन्तलीले प्रेमपछि भागी विहे गरेका हुन् ।
अन्तरजातीय विवाह गरेकै कारण चन्द्रलाई कुटपिट गर्ने र सुन्तलीलाई खोसेर लिने युवती पक्षको दाउ थियो । युवती पक्षको त्यो इच्छा पनि गएको मंसिर २९ गते पुरा भयो ।
मल्ल थरकी युवतीसँग प्रेम विवाह गरेका कारण चन्द्रको परिवारलाई युवती पक्षबाट आएर डर, त्रास र धम्की भने नदिएका होइनन दिनौं खोजी तलासी गर्ने, धम्की पुर्ण व्यवहार गरिरहेका थिए ।
उक्त डर त्रासले चन्द्र र सुन्तली जैरभन्दा टाढा सर्केगार्डको रीपमा बस्दै आएका थिए । दुई महिनादेखि बाहिर बस्दै आएका चन्द्र र सुन्तली मंसिर २९ गते बुधबार चन्द्रको घर जैर पुगे । त्यो पनि युवती पक्षकै डिजाइनमा ।
‘अहिलेको जमानामा के को जातपात ? घरमा आउँ भैटौं, सल्याह गरौं’ यस्तो प्रतिक्रिया दिएपछि रीपगाउँ बस्दै आएका चन्द्र र सुन्तली जैर पुगेका हुन् । तर, जैरमा युवती पक्षबाट मध्यरातमा आएका सुन्तलीका बाबुसहित २० जनाभन्दा बढी युवाको टोलीले चन्द्रलाई घर भित्र बाँधेर निर्घात कुटपिट गर्यो अनि चन्द्र र सुन्तलीलाई लिएर गयो ।
तत्काल उक्त टोलीले चन्द्रलाई कहाँ लियो ? युवतीलाई कहाँ लियो ? भने थाहा भएन । खोजी कार्यको हारगुहार चल्यो । बुधबार घटेको घटना दुई दिनपछि ‘मल्ल थरकी युवतीसँग विवाह गरेका हुम्लाका दलित युवा बेपत्ता’ भनेर सार्वजनिक भयो ।
घटना बाहिरिए लगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोली खोजीमा गयो । यता मुगु प्रहरी पनि खोजीमा जुट्यो । युवतीको गाउँ पुग्यो । प्रहरीको खोजी कार्यले तीन दिनपछि युवती सुन्तली मल्ललाई मुगु घरमै भेटायो । र, युवती र उनका बुवालाई मुगु प्रहरीले नियन्त्रणमा लियो ।
हुम्लामा भने चन्द्र भेनिएका थिएनन । प्रहरी निरिक्षक भण्डारीको टोलीले नभेटाएपछि हुम्लाका डीएसपी हेरम्भ शर्मा नेतृत्वको टोली खोजीमा डिँड्यो । सात दिनपछि चन्द्रलाई खार्पुनाथ गाउँपालिकाको केन्द्र याङ्चु बजारमा भेटायो ।
प्रहरीले सामान्य सोधपुछ गर्दा चन्द्रले भने, ‘सुन्तलीका ‘बा’सहित धेरै केटाहरु राति साढे १२ को समय हाम्रो घर आए । हामीलाई भनेको जस्तो होइन सुन्तली लिन आएका रहेछन् । अनि मलाई नाम्लोले बाँधेरे कुटे । गाउँका सबै सुतिसकेका रहेछन् । केही नसुनेकालाई बाहिर नआउनु भनेर धम्की दिएका रहेछन् । पछि सुन्तली र मलाई लिएर गए । हाम्रो जैरदेखि पर लिएर मलाई छोडे । फर्केर मलाई फेरि कुट्छन् कि भनेर म घरतिर नआइ छान्दा जंगलतिर गएका हुँ । पुस १, २ र ३ गतेसम्म केही नखाएर छान्दामै बसे । ४ र ५ गते गुसा जंगल पुगेँको थिए । त्यहाँ गोठ भेटाए । गोठ नजिकै खाल्डोमा एक स्याउ थियो खाए । ६ गते सुनखाडामा बसे ।’
खोजी कार्यमा खटिएका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक दानसिंह भण्डारीका अनुसार, चन्द्र विक कुटपिट गरेर सुन्तलीलाई लिएर गएपछि फेरी फर्केर कुपिट गर्छन् कि भन्ने डरले घर नगएर जंगल गएका हुन् ।
चन्दमाथि तेर्सिएका कुतर्क !
चन्द्र भेटिएसँगै उनीमाथि केही प्रश्न उठेका छन् । चन्द्रमाथि बालविवाहको प्रश्न उठेका हुन् । चन्द्र अहिले १९ वर्षका भए । सुन्तली अहिले १७ वर्षकी भइन् । त्यसैले पनि उनीहरुमाथि प्रश्न उठ्नु स्वाभाविकै मानिन्छ । हुन पनि हो नेपालको कानुनले २० वर्ष पुरा नगरेर विवाह गरेमा बालविवाह मानेको छ ।
२०६८ सालको जनगणना अनुसार, नेपालमा विवाहित महिला मध्ये ७५ प्रतिशत २० वर्ष उमेर मुनिका छन् । यसमध्ये झन् कर्णालीमा धेरे छन् । कर्णालीमा १५ वर्ष उमेर मुनिका विवाहित महिला धेरै भेटिन्छन् । बालविवाहको रोकथामका लागि साँचो र चिन्ता सबैको बन्नुपर्छ । यसकारण पनि चन्द्र विकको घटनाबारे सामाजिक सञ्चालमा दुई धारका अधिव्यक्ति आएका छन् ।
उक्त अभिव्यक्तिले कर्णालीमा केही पत्रकार, राजनीतिज्ञ, अभियन्ताले सस्तो चर्चा मात्रै कमाएनन पूर्वको घटना पश्चिमसम्म पुर्याउने काम भने गरेकै छन् । वर्ष पिच्छे कर्णालीमा यस्ता घटना घट्ने गरेका छन् । यस्ता अभिव्यक्ति आउन भने छोड्दैनन । सत्य, चन्द्र विकमाथि भएको घटना जातीय विभेदकै कारण घटेको यसभन्दा अघिका घटनाले पुष्टि मात्रै गरेनन जुन माइती पक्षको व्यवहारले पनि पुष्टि गरिसकेको छ ।
२०६८ सालमा चुलो छोएको निहुँमा कालिकोटका मनवीरे सुनारले ज्यान मात्रै गुमाएनन जनप्रतिनिधि मना सार्कीले समेत ज्यान गुमाइन् । छोराले अन्तरजातीय विवाह गरेकै कारण दैलेखमा सेते दमाईको हत्या मात्रै नभइ जाजरकोटमा ६ युवाले ज्यान गुमाएको ज्वलन्त छन् ।
मानव अधिकारकर्मी एवं अधिवक्ता बद्री भुसालका अनुसार, सबैमा कानुनी पाटाहरु पुरा भइ लागु हुन बाँकी छ । चन्द्र विकको घटना पनि जातीय विभेदकै कारण घटेको हो । चन्द्र विकमाथि बालविवाहको ट्याग दिएर सामाजिक रुपमा अपराध मानिएको जातीय विभेद जस्तो मुद्दालाई कमजोर बनाउने षड्यन्त्र रच्नु उचित हुँदैन । ‘अझै पनि चन्द्र विकको ज्यान असुरक्षित छ’, भुसालले भने, ‘राज्यको यसमा ध्यान जान जरुरी छ ।’
यस विषयमा लेखक, कला संस्कृति तथा विकास अध्येता डीबी नेपाली भन्छन्, ‘कर्णालीमा विभेद मौलाएको छ । बेला बेला पानी छोएकै निहुँमा ज्यान गुमाउनु परेको छ । प्रेम गरेकै नाममा ज्यान गुमाउनु परिरहेको छ । यसमा राज्यका अधिकारीको ध्यान दोषीलाई कारबाही होइन संरक्षणतिर हुन्छ । जसकारण यस्ता घटना दोहोरिरहन्छन् ।’
नेपालीले भने, ‘यस्तो प्रवृत्तिले चन्द्र विकमाथि घटाइएको घटनाका दोषीले छुटकारा पाउँछन् । दास प्रवृत्ति संरक्षण गरिरहेका व्यक्तिलाई न्याय हुन्छ । चन्द्र विकको ठाउँमा चन्द्र मल्ल भएको भए के हुन्थ्यो ? चन्द्र शाही भएको भए के हुन्थ्यो ? चन्द्र शाह भएको भए के हुन्थ्यो ? यस्ता प्रश्नहरु आउँदैन थिए ।’
मल्ल थरकी युवतीको प्रेमकै कारण रुकुम सोतीका गाउँलेले जाजरकोटका ६ युवालाई बलि चढाएको घटनामा पनि चन्द्र विकमाथि तेर्सिएका प्रश्न भने आएकै हुन् । इतिहासलाई नै कलंकित पार्ने घटना घट्दा पनि समाजमा लाजसरम पचाएर कुतर्क गर्न भने लागिरहन्छन् । घटना पश्चिमको हुन्छ पूर्वतिर दौडिरहेका हुन्छन् ।
खैर यस विषयमा बाहिर आएका अभिव्यक्तिलाई चर्चा गरे पनि हुम्ला प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले मुगुबाट युवती र उनका बुवालाई हुम्ला पुर्याएको छ । यता चन्द्र पनि प्रहरी निगरानीमा छन् । अनुसन्धानका लागि चन्द्रका बुवा आमा र अन्य स्थानीयलाई पनि बोलाइएको हुम्ला प्रहरीले जानकारी दिएको छ ।