२०५२ सालदेखि २०६२ सालसम्म नेपालमा सशस्त्र द्धन्द्ध भयो । तत्कालिन विद्रोही नेकपा माओवादीले जनयुद्ध घोषणा गर्दा देशभर संघीयता, संविधान र गणतन्त्रका लागि योगदान गर्नेको लहर चल्यो । माओवादीको परिवर्तनकारी नारामा समाहित भएर जनयुद्धमा होमिनेको संख्या दिनप्रतिदिन बढ्न थाल्यो । जसकारण जनयुद्ध सुरु भएको १० वर्षसम्म देशभर झण्डै १७ हजारले मृत्युवरण गर्न पुगे । हजारौ घाइते छन् । तीन हजारभन्दा धेरै अहिले पनि बेपत्ता छन । जनयुद्धका घाइते, बेपत्ता र प्रभावितले अहिले पनि राज्यबाट उचित राहत नपाएको गुनासो गरिरहेका छन । त्यतिबेला परिवर्तनका लागि भन्दै माओवादीमा लागेका नेता, कार्यकर्ता र सिपाही रगत बगाउन तयार थिए । यता माओवादीकै आक्रमणमा परी कैयौँ सेना, प्रहरी र सशस्त्रले ज्यान गुमाउन पुगे । माओवादी र राज्य पक्षका सुरक्षाकर्मीको आक्रमणमा परी धेरै सर्वसाधारण नागरिकले पनि ज्यान गुमाएका छन । तर उनीहरुको अहिलेसम्म राज्यले नै लेखाजोखा राखेको छैन । त्यतिबेला रगत बगाउन तयार हुनेहरु अहिले साँझ बिहानको छाक टार्न दैनिक आ आफ्नै ज्याला मजदुरी गरिरहेका छन् । कतिपयले राम्रो घरबार जोडेका छन । कतिपय सडकमा छन । यो जनयुद्धदेखि अहिले बाँच्नका लागि दुई पैसा कमाउन धनयुद्ध लड्नेहरुको कथा हो, जनयुद्धदेखि धनयुद्धसम्मु श्रृंखलामा जनयुद्धमा होम्मिएका दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका –४ बुढेलीमा जन्मिएका र नेकपा क्रान्तिकारी माओवादी वैद्य निकटका केन्द्रिय सदस्य दिपकबहादुर शाहीसँग कर्णालीखबरकर्मी जितेन्द्र थापाले गरेको कुराकानीको सम्पादित अंश :
जनयुद्धको तत्कालिन अवस्था कसरी स्मरण गर्नुहुन्छ ?
जनयुद्धमा हामीले लिएका नाराहरु सहि थिए । युद्ध गर्दा के हुन्छ भने कहिलेकाही स्वाभाविक रुपमा असल मानिस पनि खराब र खराब मानिस हुन सक्छन् । जनयुद्धका फाइदा वेफाइदाहरु थिए । जनयुद्ध जनताको पक्षमा थियो । किसान मजदुरहरुको पक्षमा थियो । ती एजेण्डाहरु सही थिए । त्यसैले पनि सारा जनताहरु जनयुद्धमा होम्मिएकै हुन् । जनयुद्धको ८० प्रतिशत भुभाग अझ त्यहाँभन्दा बढी भनौ जनताको प्रत्यक्ष निगरानीमा थियो । जनताको शासन चलेको थियो । र, १५ प्रतिशत भुभागमा तत्कालिन पुँजीवादी सत्ताको निगरानी थियो । त्यो पनि एकदम कम थियो । कम्युनिष्ट माओवादी आन्दोलनको प्रभाव बढी नै थियो । त्यो आन्दोलन सही थियो । त्यो आन्दोलन सही ट्याकमा लिनको लागि नेताका कमिकमजोरी रहेका छन् । त्यो स्वभाविक कुरा हो यस्लाई अस्वभाविक मान्न सकिदैन । जनयुद्ध प्रसंसनीय छ । भलै त्यसका पात्रहरु गलत भएपनि ।
जनताको जनवादी व्यवस्था आएको मान्नुहुन्छ ?
जनयुद्धको उद्धेश्य सहि थियो । जनवादी सत्ता स्थापना गर्नका निम्ति भएको थियो । जनवादी व्यवस्था स्थापना भएको छैन । तर,उद्धेश्य सहि थियो । युद्ध पनि सहि थियो ।किन भन्दा त्यो शासन व्यवस्था नै जनताको पक्षमा थिएन । निरङ्कुश थियो । त्यसैले त्यो व्यवस्था आएको छैन । त्यो युद्ध पुरा भएको अवस्था छैन ।
जनयुद्धमा तपाई कति वर्षको उमेरमा कसरी होम्मिनुभयो ?
म कम्युनिष्ट आन्दोलनमा लागेको २०४२ सालमा हो । माओवादी आन्दोलनमा लागेको २०५७ सालमा हो । माओवादी हुँदा म २२ वर्षको थिए ।
कुन अपेक्षा लिएर जनयुद्धमा होम्मिनुभयो ?
हामी लागेको जनवादी व्यवस्था स्थापना गर्नका निम्ति हो । हामीले जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवाद,साम्यवादसम्म पुग्ने लक्ष्य माक्सवाद लेनिनवाद र माओवादको आलेकमा हामीले परिकल्पना गरेको जनवादी व्यवस्था स्थापनाका निम्ति हामीले माओवादी आन्दोलनमा लागेका थियौँ । त्यो सर्वहारा वर्गको नेतृत्वमा स्थापना भएको जनसत्ता थियो । जनसरकार थियो । त्यो परिकल्पनाका साथ हामी लागेका थियौँ । सम्पुर्ण आम जनताले गाँस बास कपास स्वास्थ्य रोजगार ग्यारेन्टी भएको व्यवस्थाको हामीले परिकल्पनाका साथ युद्धमा होम्मिएका थियौँ ।
त्यो बेला जनवादी व्यवस्थाका लागि हासेर तातो गोली खान तयार हुनुहुन्थ्यो, अहिले त्यो जनताको युद्ध पुरा भयो त ?
जनवादी व्यवस्था पुरा भएको छैन । जनवादी आन्दोलनले एउटा परिर्वतन ल्याएको छ । गणतन्त्रसम्म आइपुगेका छौँ । एउटा सामन्तवादको अन्त्य भएको अवस्था हो । हिजो सामन्तवाद थियो । दलाल पुँजीवादको अहिले स्थापना भएको छ । त्यो व्यवस्था पुरा गर्न सकेका छैनौ । पुरा भएको छैन । अहिले एउटा परिर्वतनचाही भएको हो । स्थानीय बिकेन्द्रिकरण तहसम्मका केही संरचनाहरु र एउटा सामान्य उद्धेश्य पुरा भएको छ । यसको रक्षा गर्दै अव जनवादी व्यवस्था स्थापनाका निम्ति यहि गणतान्त्रिक व्यवस्थामा टेकेर फेरी अर्को आन्दोलनको तयारी गर्न जरुरी छ ।
जनयुद्धमा होम्मिदा कस्ता खालका घटना व्यहोर्नुपर्यो ?
जनयुद्धमा होम्मिदाका थुप्रै घटनाहरु छ । जनताले राज्य पक्षबाट धेरै ठुला ठुला दुःखहरु ख्ेप्नु परेको छ । जस्तो जाजरकोटको जुनीचादेमा भएको घटना, रोल्पाका बस्तिहरुमा राज्यले आगो लगाएको,किलोशेरामा अप्रसनका नाममा जनतालाई दुःख दिएको,तत्कालिन अवस्थामा शान्तिपुर्ण आन्दोलन हुँदा हुँदै पनि राज्य पक्षले आन्दोलन गर्न नदिएको । ती आन्दोलनमा दमन गरेको । साधारण किसान मज्दुरहरुलाई कमाइ खान अप्ठेरो । राज्यबाट ठुलो फोर्स प्रयोग गरेर साधारण जनतालाई थर्काउने जस्तो कैयौँ असङ्ख्य घटनाहरु व्यहोर्नुपर्यो ।
पुरानो व्यवस्था ढालेर नयाँ व्यवस्था आउदा के परिर्वतन भएको पाउनुभयो ?
व्यवस्थामा धेरै ठुलो परिर्वतन भएको छ । हिजो राजासहितको बुदलिय व्यवस्था थियो । लोकतान्त्रिक व्यवस्था भनिन्थ्यो जस्लाई । अहिले हाम्रो नेपालमा पुँजीवादी गणतन्त्र आएको छ । यो दलाल पुँजीवादी व्यवस्था हो । अहिले सबै क्षेत्रमा दलालहरुको संख्या हावी भएको छ । हिजोको व्यवस्थाभन्दा एक स्टेप प्रगतिशिल हो । यो प्रगतिशिल व्यवस्था होइन । हिजो राजासहितको व्यवस्था भन्दा यो लोकतान्त्रिक व्यवस्था भन्दा एकस्टेप प्रगतिशिल हो । त्यसैले यो कम्युनिष्ट व्यवस्था होइन । हामीले चाहेको जनवादी व्यवस्था हो । यो भन्दा प्रगतीशिल व्यवस्था खोजेका हौँ हामीले । त्यसैले हिजोको व्यवस्था भन्दा यो व्यवस्था एक स्टेप प्रगतीशिल व्यवस्था हो ।
जंगलमा युद्ध लडेर माओवादी सत्तामा आयो, अहिले जनताको हितअनुसार काम गर्न सक्यो त ?
यो व्यवस्थाबाट जनताले चाहेको उद्धेश्य पुरा हुन्छ भनेर आएकै होइनन् । हामीले हिजोको व्यवस्थाबाट एक स्टेप अगाडी प्रगतीशिल व्यवस्था मात्र भनेका छौँ । यो प्रगतिशिल पुँजीवादी व्यवस्था हो भनेर हामीले व्याख्या गरेका छौँ । यो दलाल संसदीय व्यवस्था यो । यसले जनताका इच्छा आकांक्षा र जनताको हितमा काम गर्न सक्दैन । यो व्यवस्था भनेको खशिको टाउको देखाएर कुकुरको मासु विक्रि गर्ने व्यवस्था हो । त्यो पुरा भएको छैन । हामी आउदा पनि त्यो दलाल व्यवस्था भनेर आएका हौँ । जनताका केही कामहरु त्यो प्रतिक्रियावादी राज्य व्यवस्थाभित्र बसेर पनि केही जनसेवाका कामहरु गर्न सकिन्छ भन्ने उद्धेश्यका साथ आएका थियौँ । हामी सत्तामा पनि गयौँ । तत्कालिन अवस्थामा केही मतभेदका कारण पार्टि विभाजन गर्नुप¥यो । तिनै कारणले गर्दा पार्टि विभाजन गरेर नेकपा क्रान्तिकारी माओवादी स्थापना गर्नुपरेको थियो । जनताको आशा अपेक्षा पुरा गर्न पाएका छैनन् । हामीले सोचेको व्यवस्था पनि आएको होइन ।
हिजो समाजमा पैसा कमाएर बाच्न कत्तिको गाह्रो थियो ? हिजो पैसा कमाउन सजिलो कि आज ?
यो व्यवस्था कस्तो हो भने दलाल व्यवस्था हो । दलाल व्यवस्थामा जनयुद्ध लड्दा त जनताले खान बस्न दिएका थिए । त्यो यस्तो मज्जाको युद्ध थियो जो जनताको पक्षमा थियो त्यसैले एउटा सजिलो थियो । राज्य पक्षबाट दमन हुन्थ्यो । अप्ठेरो हुन्थ्यो । त्या ज्यान जान्थ्यो । त्यो मर्नुपथ्र्यो । पैसा कमाएर हामीले चाहेको व्यवस्था आउदैन । यो दलाल पुँजीवादी व्यवस्था भएको हुनाले यहाँ के गर्छ भने एउटा कसैको उत्पादन हुन्छ भने त्यो उत्पादनमा दश जना च्याखे थाप्ने हुन्छन् यो व्यवस्थामा । त्यसैले यो व्यवस्था भनेको च्याखे थाप्ने व्यवस्था हो । यो उपभोक्ताको उपभोक्ता हुँदैन । यो उपभोक्ताबाट सिधै उपभोक्तामा जानु पर्ने थियो । त्यो बिचमा धेरै तहसम्म दलाली हुन्छ । त्यस्ेले यो दलाल व्यवस्था हो । जस्तै हामी तराकारी उपभोक्ता हुँदा उत्पादक र हामी बिच कहिल्यै भेट हुँदैन । त्यसैले हामीले खोजेको व्यवस्था कस्तो हो भने तरकारी उत्पादकबाट आएको तरकारी किन्ने उपभोक्तामा जाओस भन्ने हो हाम्रो चाहना । त्यो राज्यले कन्ट्रोल गर्नुपर्छ । त्यो विधिले कन्ट्रोल गर्नुपर्छ भन्ने व्यवस्था चाहन्छौँ । हिजोको जनयुद्ध र पैसा कमाउने कुरा जनयुद्धसँग जोड्न मिल्दैन । पैसा त दलालहरुले कमाउने हो । जनयुद्धभनेको देशका निम्ति हो । ठुला ठुला महल बनाएका छन् । गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले तलब खाएका छन् । आफु जन्मेकै ठाउँको विकास गर्न छोडेर र त्यो ठाउँलाई कुरुप पारेर भकाभक सहरमा घर बनाउदै छन् । त्यसैले यो दलाल व्यवस्था हो । जस्ले चप्पल लगाउन पाउदैन थिए । उनले महल ठडाएका छन् । त्यसपछि राष्टसेवक कर्मचारी भनिने ति सबै भ्रष्ट भइसकेका छन् । ती सबैले पैसा कमाएका छन् । तिनका वरिपरि बस्ने तिनका आसेपासेहरुले पनि भष्टाचार गरेर पैसा कमाएका छन् । त्योसहि होइन । पैसा कमाउदमा त्यो सहि हो भन्ने कुरा गलत हो । भष्टाचार,दलाली गरेर पैसा कमाउन सजिलो हुन्छ । पैसा कमाउन दलाल व्यवस्थामा सजिलो छ । अन्तः जनयुद्ध लड्न गाह्रो छ ।
तपाइको बिचारमा जनयुद्ध ठुलो कि धनयुद्ध ?
जनयुद्ध भनेको परिर्वतनका पक्षमा थियो । जनताको जनवादी व्यवस्थाका पक्षमा थियो । धनयुद्ध दलालहरु,चोरडाकाको पक्षमा हुन्छ । त्यसैले धन ठुलो कुरा होइन । पहिलो कुरा परिर्वतन गर्नु ठुलो कुरा हो । जनताको परिर्वतनको इच्छा आकांक्षा परिर्वतनका निम्ति जनयुद्ध र जनआन्दोलन हुन्छन् । त्यसैले परिर्वतनका लागि गरिएका महत्वपुर्ण कामहरु हुन । यस्लाई धनपैसामा जनयुद्धलाई एकै ठाउँमा जोड्न मिल्दैन ।