सुर्खेत । सबैभन्दा ढिलो देखिएको कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ३३ पुगेको छ । सोमबार बेलुकी फेरि ३५ जना नयाँ संक्रमित थपिएपछि संक्रमितको संख्या २ सय ३३ पुगेको हो । यसअघि सोमबार बिहान ४३ र दिउँसो थप ३२ जनामा संक्रमण पुष्टि भएको थियो ।
सुर्खेतको प्रदेश अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका १६ जना, दैलेखका ९, सल्यानका ९ र अछामका एकजनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुर्खेतमा देखिएका संक्रमित लेकवेशी नगरपालिका वडा नं. १, २, ३, र ५ का १२ जना, पञ्चपुरी नगरपालिका वडा नं. १० का एकजना, भेरीगंगा नगरपालिका ११ का तीन जना छन् । लेकवेशी नगरपालिका १ की ८ वर्षीया बालिका र भेरीगंगा नगरपालिका ११ का ४ वर्षीया बालकमा समेत संक्रमण देखिएको छ।
यस्तै दैलेखको नारायण नगरपालिका वडा नं. १, ३ र ८ का ७ जना, चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ का एकजना, नौमुले गाउँपालिका २ का एकजना पुरुष रहेका छन् । त्यस्तै सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३, ४ र ६ का ९ जना पुरुष रहेका छन् भने अछाम चौपाटी गाउँपालिका २ का एक रहेका छन् ।
संक्रमितहरुलाई प्रदेश अस्पताल सुर्खेतमा भर्ना गर्ने तयारी छ । भारतबाट फर्किनेको संख्या धेरै रहेकाले कर्णालीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको हो ।