काठमाडौँ : जीवनबहादुर शाही नेपालकै भाग्यमानी मुख्यमन्त्री हुन् । जसले सिंगो कर्णालीभर एक मात्रै प्रत्यक्ष सिट जितेर प्रदेश सरकारको नेतृत्व गर्ने एैतिहासिक अवसर पाए । कारण थियो, सत्ताका 'गेमचेन्जर' पूर्णबहादुर खड्काको चलाखीपूर्ण राजनीति ।
तर तिनै चलाखीपूर्ण राजनीतिका गुरु हुँदाहुँदै पनि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन शाही यतिबेला अपुरो सरकार चलाउँदै छन् । निकम्मा सरकार बन्नुको पहिलो कारण, अपुरो मन्त्रिपरिषद् । दोस्रो, आफ्नेै सचिवालयको पूर्णतामा ढिलाई र सत्ता साझेदर दलहरुबीचको असन्तुष्टि ।
कतिसम्म भने कर्णाली कांग्रेसभित्र पनि सरकारलाई पूर्णता नदिँदा गुनासो बढ्दो छ । अनि मन्त्री बन्न चाहेर पनि मुख्यमन्त्रीको दैलोमा दैनिक धर्ना दिने नेतामा सीमित सांसदको माग चर्किदो छ । तर पनि मुख्यमन्त्री जीवन शाही कांग्रेस सहमहामन्त्रीको चुनाव हारेयता कर्णाली प्रदेश सरकारलाई हराउन लागिपरेका छन् ।
अरु प्रदेशमा धमाधम मन्त्रिपरिषद्ले पूर्णता पाउँदा कर्णालीमा भने छैन । कम्तीमा ६ जना मन्त्री लिएर प्रदेश सरकार चलाउने बेला उनी दुई जना मन्त्री राखेर सरकार चलाइरहेका छन् । काम गर्न मन्त्रीको टिम बनाउन नसक्ने मुख्यमन्त्री जीवन शाही आफू कसरी सफल हुन्छु ? भनेर अलिकति पनि सोचेको कुरा व्यवहारमा देखिएको छैन ।
आफ्नै कारण समस्या, दोष अरुलाई !
मुख्यमन्त्री हुँदा जीवन शाहीले झेलेको समस्या नयाँ होइन । र, यसको सुरुवात उनी आफैले गरेका हुन् । जतिबेला माओवादीले सरकार बचाउन ६ महिनापछि कांग्रेसलाई मुख्यमन्त्रीको कुर्सी सुम्पिने सहमतिमा ल्याप्चे लगायो । त्यही बेला तत्कालिन मुख्यमन्त्री महेन्द्र शाहीले जीवन शाहीबाट अनावश्यक ‘टर्चर’ झेलेका थिए । त्यतिबेला मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तार गर्न ठूलो सास्ती झेल्नुपर्यो ।
शपथ खुवाउन ठिक्क परेका मन्त्रीलाई २४ घण्टाभित्र बर्खास्त गर्नुपर्यो । गत बैशाखमा जीवन शाहीकै कारण महेन्द्र शाहीले अनेकन दुःख झेलेका थिए । कतिसम्म भने कांग्रेसबाट मन्त्री बन्नेको नाम नदिँदा महिनौँ सरकारले पुर्णता पाएन । कोभिड महामारीमा पनि कर्णालीका जनताले सरकारबाट अभिभावकत्व महसुस गर्न पाएनन् । सरकारलाई समर्थन गरेको झण्डै तीन महिनापछि मात्रै कांग्रेसबाट त्यतिबेला यज्ञबहादुर बिसी र दिनबन्धु श्रेष्ठ मन्त्री बने ।
त्यतिबेला आफैले गरिरहेको ढिलाई र अन्यौलको राजनीतिबारे जीवन शाही भन्थे, ‘हामी सरकारमा जाने होइन, सरकारलाई समर्थन मात्रै गर्ने हो । सरकारलाई काम गर्न कसले रोकेको छ र ? आफू काम गर्न नसक्ने अनि दोष हामीलाई दिने ?’ गएको बैशाखदेखि जेठ महिनासम्म जीवन शाही तत्कालीन महेन्द सरकारबारे यसरी टिप्पणी गर्थे ।
तर उनले बोलेको त्यो बोली ठीक ८ महिनापछि आफैतिर फर्किएको छ । मुख्यमन्त्री जीवन शाहीको सरकारबारे माओवादी नेताहरु अहिले भन्छन्, ‘हामी सरकारमै छौँ । मन्त्री पठाएका छौँ । तर मुख्यमन्त्रीले काम गर्न सकिरहेका छैनन । मुख्यमन्त्री निकम्मा परेपछि अरुलाई दोष दिन मिल्छ ?’
सरकारमा जाने रस्साकस्सीमा रहेका एक माओवादी नेताले मुख्यमन्त्री शाहीकै निर्णय असक्षमताका कारण मन्त्रिपरिषद् विस्तार हुन नसकेको बताए । अहिले चर्किरहेको भागबण्डा मिलाउन मुख्यमन्त्री आफैले पहल नगरेका कारण कर्णाली प्रदेश सरकार निकम्मा बनाइरहेका छन् ।
कांग्रेस १४ औँ महाधिवेशनमा पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदमा चुनाव लडेका शाही पराजित भएका थिए । मुख्यमन्त्री शाहीलाई हराउँदै बाजुराका बद्री पाण्डे विजयी भएका थिए । चुनाव हारेपछि उनी झन् निराश भएका छन् ।
तर यसलाई उर्जाका रुपमा लिएको बताउने मुख्यमन्त्री शाहीले न्युनतम काम पनि गर्न सकेका छैनन । हिजो आफुलाई अनेक बाहना र गुटबन्दी गरेर समस्यामा पार्ने जीवन शाहीलाई आज माओवादीले त्यही जवाफ दिइरहेको छ । उसले आफुलाई चार मन्त्रालय चाहिने बताएको छ । त्यहीअनुसार नेकपा एकिकृत समाजवादीले तीन वटा र कांग्रेसले दुई वटा मन्त्रालयको दाबी गरिरहेको छ ।
अहिले माओवादीबाट बिन्दमान बिष्ट अर्थमन्त्री छन् भने नेकपा समाजवादीबाट चन्द्र शाही कृषिमन्त्री छन् ।
निकम्मा बन्दै मुख्यमन्त्री
सरकारको नेतृत्व गरेपनि अपुरो सरकार चलाइहेका मुख्यमन्त्री जीवन बहादुर शाही यतिबेला निकम्मा देखिएका छन् । उनले मुख्यमन्त्रीको शपथ खाएको दुई महिनासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन । अनि उनले अरुलाई मनाउनुको साटो आफैँ दुई मन्त्रीको भागबण्डा मागेर सरकार विस्तारमा ढिलाई गरिरहेका छन् ।
जनतालाई कामको मार परेका बेला मुख्यमन्त्री शाही घाम तापिरहेका छन् । आफ्नो न्युनतम काम पनि गरेका छैनन । आफनै सचिवालय गठन नगरेर देउवालाई चुनौति दिइरहेका शाहीले आफैले आफैलाई असफलतातर्फ धकेलिरहेका छन् ।
नयाँ चुनाव नजिक आउन लागेका बेला छोटो कार्यकालमा ऐतिहासिक काम गर्न आवश्यक देखिएपनि मुख्यमन्त्री शाही आफ्नै पहिलो कार्यकाललाई असफलताको नमुना बनाइरहेका छन् । जुन कर्णालीमा राजनीतिक 'कोर्स' पल्टाउने कांग्रेस उपसभापति पूर्णबहादुर खड्काकै लागि पेचिलो प्रश्न हो ।