नवलपरासी: नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा राष्ट्रियस्तरको ‘भेट्रान्स कप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ ।
अङ्ग्रेजी नयाँ वर्ष , माघेसङ्क्रान्ति तथा माघी पर्वको अवसर पारेर जिल्ला फुटबल सङ्घ नवलपुरको समन्वय, रिटर्नी माइग्रेन्ट्स नेपाल नवलपुर शाखाको आयोजना, टाइगर क्लब गोछडाको सहआयोजनामा यही पुस १७ गतेबाट फुटबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा देशभरबाट १२ टिमको सहभागिता रहने जिल्ला फुटबल सङ्घ नवलपुरका अध्यक्ष सेतमान पुनले जानकारी दिनुभयो ।नवलपरासीपूर्व नवलपुर र पश्चिम नवलपरासीसहित काठमाडाँै, पोखरा, हेटौँडा, चितवन, सुर्खेत, वीरगञ्जलगायतका गरी १२ टिमले सहभागिता जनाउने उहाँले बताउनुभयो । प्रतियोगिताको फाइनल खेल भने पुस २४ गते हुने जनाइएको छ ।
प्रतियोगितामा विजेता हुने टिमले रु एक लाख र उपविजेता हुने टिमले रु ५१ हजारसहित ट्रफी तथा मेडल प्राप्त गर्नेछ । उत्कृष्ट गोलकर्ता, उत्कृष्ट खेलाडीलाई समेत नगदसहित पुरस्कृत गरिने सहआयोजक क्लबका सल्लाहकार पुष्परत्न महतोले बताए ।
प्रतियोगिता सम्पन्न गर्न करिब रु छ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि विभिन्न स्थानीय तह, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा सामाजिक व्यक्तित्व एवं सङ्घसंस्थाहरूले आर्थिक सहयोग गरेको उनले जानकारी दिए ।
जिल्लामा राष्ट्रियस्तरको खेल गर्दा खेलले यहाँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको अध्यक्ष पुनले बताए । “राष्ट्रियस्तरको भेट्रान्स फुटबल प्रतियोगिताले खेलसँगै पर्यटनलाई समेत जोड्ने अपेक्षा छ ।
देशका विभिन्न स्थानबाट आउने खेलाडीमार्फत जिल्लाका पर्यटकीय क्षेत्रलाई चिनाउँछ। खेललाई जिल्ला चिनाउने थलोका रूपमा समेत प्रतियोगितालाई लिएका छौँ । रासस