सिमकोट : दुर्गम बस्तीका आर्थिक अवस्था निकै कमजोर रहेको जिल्लालाई लक्षित पारेर न्यानो कपडा सहयोग गरिएको छ । चिसो अत्यधिक बढेको बेला त्यसबाट सुरक्षित राख्नका लागि न्यानो कपडा वितरण गरिएको हो ।
हुम्ला सिमकोट गाउँपालिका–७ का डाँडाफया गाउँका समाजसेवी जङ्गशुर शाहीले एक सय जना लक्षित वर्गका सेवाग्राहीलाई न्यानो कपडा सहयोग प्राप्त भएको जानकारी दिए । उनले कपडा सहयोग प्राप्त भए लगत्तै वितरण गरेको बताए ।
यसबाट चिसोबाट बच्न सहयोग पुग्ने छ । ५० जनालाई न्यानो ज्याकेट र स्लिपिङ ब्याग तथा ५० जना विद्यार्थीलाई ज्याकेट, ट्राउजर तथा स्कुल ब्याग वितरण गरिएको बताइएको छ ।
विपन्न एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता तथा दलित समुदायलाई दिउँदको कठ्याङ्ग्रिने जाडोमा न्यानो कपडा वितरण गरिएको हो । विपन्न परिवारलाई अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा न्यानो कपडा हवाइ जहाजमार्फत हुम्ला ढुवानी गरेर स्थलगत रुपमै वितरण गरिएको हो ।
ठकुरी, क्षेत्री र दलित जातिको बाहुल्यता रहेको उक्त गाउँमा २५० घरधुरी रहेका छन् । हिउँदको कठ्याङ्ग्रिने जाडोमा मायासहित न्यानो कपडा लिएर कर्णालीको हुम्ला आइ पुगेको संस्थाका नेपाल प्रतिनिधि छिरिङ लामा शेर्पाले थोरै भएपनि सहयोग पुगोस् भन्नका लागि सहयोग गरिएको बताए ।
उनले नितान्त मानवीय र सामाजिक कार्यका लागि विकट बस्ती पुग्दै र विपन्न समुदायको पहिचान गरी सहयोग गर्दै आइरहेको संस्थाले जाडोको मौसम सुरु भएपछि हुम्लाको सिमकोट आएर सहयोग गरिएको बताए । संस्थाले यस वर्षमात्रै नेपालका ३० जिल्लामा यस्तो कार्यक्रम गरेको जनाएको छ ।
न्यानो कपडा वितरण कार्यक्रममा सिमकोट गाउँपालिका–७ का कार्यवाहक वडाध्यक्ष कृष्णबहादुर शाही भौगोलिक विकटता र गरिबीले जाडो छल्न मुस्किल परेका समुदायलाई सम्झेर न्यानोमायासहित कपडा बोकेर हुम्ला आएकामा धन्यवाद व्यक्त गरेका थिए । उनले मानवीय सेवा नै धर्म भएकाले नहुनेलाई सहयोग गरेर एकअर्काप्रति सकारात्मक भावको विकास पुग्ने विश्वास व्यक्त समेत गरे ।