काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । वैदेशिक रोजगारी, शिक्षाको सिलसिलामा सयौं आकांक्षी नेपालीहरूले खचाखच भरिएको दृश्य । झोला, भारीहरु एकातर्फ, अर्कोतर्फ बिदाबारी गर्न आएका परिवार, आफन्तजन । रसाएका आँखाहरु ।
विशेषगरी दोस्रो विश्वयुद्धको बेलादेखि चलनमा आएको नेपालीहरुको लाहुर जाने प्रथा विगतको राजनैतिक अस्थायित्व, कमजोर अर्थ व्यवस्था इत्यादिले अहिले नियति, दिनचर्या हुन पुगेको छ । अनि खाडी मुलुक नेपाली युवाहरुको ठुलो गन्तब्य । सन् २००४ तिरको त्यो दिन र दृष्य बर्षौ सम्म निरन्तर हुदै, बढ्दै गयो । एक दिन म पनि लाग्न पुगे त्यहिँ लाइनमा ।
‘यहाँ नाम मिल्या छैन...भित्र हाकिमसँग सोध्नु पर्छ एकपल्ट .....’ भित्र अध्यागमन कर्मचारीहरुसँग केही सीधा र केही टेबल मुनिको मोलतोल भो । त्यहाँबाट उम्केर चमेना पस र वोर्डिङ गेटसम्म पुग्दा बाँकी नेपाली मुद्रा सबै टकटकिए । हल्का पाकेट अनि ठुलो सपना बोक्दै सुरु भयो हाम्रो उडान ।
केही बेरमै हाम्रो जहाज उच्च आकाशमा पुग्यो । झ्यालबाट हेर्दा काठमाडौँ फूटबल मैदानजत्रो देखिन थाल्यो। हाम्रो देश, समाज, त्यो भूगोल जहाँ सत्ता प्राप्तिका लागि तछाड मछाज, युद्धनै चलिरहेको थियो, बादलमै हरायो केही बेरमै । अनि छेउछाउबाट सुसज्जित एयरहोस्टेस युवतीहरु निस्किन थाले । अनेक पेय, व्यंजनहरु पेस हुन थाले । हातमा पेयपदार्थ अगाडी निलो, अनन्त आकाश, सुकिलो बादल, "तपाई केहि थप्नु हुन्छ ? जुस, बियर, व्हिस्की ? "।
गाउँ शहरको को मौजुदा द्वन्द्ध, प्रदूषण, महँगी, गरिबी सबैबाट टाढा एक बेर त स्वर्ग कै भान भो । साथै काउकुति हाँसो पनि उठ्यो । तर केही बेरमै पत्तै नपाइ कतार एयरपोर्ट पुगियो । फेरी धर्ति छोइयो ।
एक एक गर्दै नजिकका साथीहरु आफ्ना झोला, बोरिया विस्तार बोक्दै भिडमा हराएर गए । एयरपोर्टको गेट निस्कदा बित्तिकै मरुभूमिको ताप, परदेशको वास, अनि कमजोर मानवाधिकार । अत्यास लाग्दो थियो साथीहरुको अवस्था । मेरो यात्रा अझै बाँकी थियो । सानफ्रान्सिस्को, क्यालीफोरनीया, अमेरिकासम्म । फेरी भित्र छिरे ।
पन्ध्रौ शताब्दीतिर स्पेनिशहरु प्रशान्त महासागर तरेर आई त्यहाँका आदिवासीहरुलाइ विस्थापित् गरेपछि अठाहरौ शताब्दी तिर यहाँ सुन खानी पनि पत्ता लागेको रैछ । क्याालिफोर्निया स्वर्ण दौडको रूपमा प्रख्यात् त्यस समय संसार भरिवाट अप्रवासीहरुको ओइरो लागेको रहेछ आफ्नो सुनको भागको खोजीमा ।
त्यसैबाट प्राप्त श्रोत अनि उर्वर, सुन्दर भुमि, वन्दरगाहको सम्मिश्रणवाट विश्वकै सम्वृद्ध, वैभवशाली सहर पनि वन्न पुगेको रहेछ । विगत केहि दशकदेखि नेपालीहरुको पनि सानो तर बढ्दो समूह वन्दै रहेछ। आफ्नो पसिना वगाँउदै, सपाना वुन्दै । यस स्वर्ण शहरमा आफ्नो भाग खोज्दै ।
मैले महसूस गरे यो ठाउँ सायद भौतिक विकासको चरम चुली नै हुनुपर्छ । प्रशान्त महासागर छेउको मनोरम दृश्य त्यसको सेरोफेरोमा र्निर्मित सुन्दर भवन, बस्तीहरु । भित्र आफ्नो क्षमता अनुसारको काम, आम्दानीको व्यवस्था। विविध उच्च गुणस्तरको खानपान, वस्त्र, वास, इन्द्रिय मनोरन्जन । काम गर्न नसक्नेलाइ राहतको व्यवस्था ।
समय बित्दै जाँदा थाहा भो, जब गास, वास, कपडाको चिन्तावाट मान्छे मुक्त हुन्छ, उ फेरी समाज खोज्छ, जीवन जगतको अर्थ खोज्छ । भौतिक अनि इन्द्रिय सुखभभन्दा माथीको सुख खोज्छ । त्यहिँ खोज र सोचको दौडान विदेशवाट नेपाल र लामो बसाइँ, डुलाइ पश्चात विदेशतर्फको बाटो त्यस उडानमा फेरी आइपुगेको थिए । फेरी कतार एयरपोर्ट आइ पुगियो। त्यहाँवाट एक हुल नेपाली निस्क्यो र भिडमा हरायो। म फेरि उडे सानफ्रान्सिस्को, अमेरिका तिर ।
यात्रा लामो थियो । फेरी मनोरञ्जन शुरू भयो। "वानरहरुको ग्रह" नामको फिल्म शुरु भयो यसपल्ट । त्यस कथामा सान फ्रांसिस्कोका एक वैज्ञानिक विल रोडम्यान अल्जाइमर रोगको उपचार पत्ता लगाउँने आशमा दिलोज्यानले लागिपरेको हुन्छ । परीक्षणको विषय मध्ये "चम्किला आँखा" नामक एक महिला चिम्पान्जी भर्खरै पश्चिम अफ्रिकी जंगलबाट कब्जा गरेर ल्याइएको हुन्छ ।
तर परिक्षणरत औषधिले आनुवंशिक रूपमा कसैले थाहै नपाइ उक्त चिम्पान्जीलाई मानव स्तरको बुद्धि, र विशेष शारीरिक शक्ति प्रदान गरिरहेको हुञ्छ। "चम्किला आँखा" दुई महिनासम्म प्रतिरोध गर्छिन उनलाई कैद बनाइएकोमा ।
अन्तत उनीहरु उनलाई मार्न बाध्य हुन्छन । तर उनले एक असाधारण बच्चा "सिजर" लाई जन्म दिन्छिन मरनोप्रांत । र उनको वौद्धिक क्षमाता सिजरले प्राप्त गर्छन ।
जब सिजर हुर्किन्छ, उसले विभाजित, जंगली र कैदमा परेका चिम्पान्जीहरूको दर्दनाक दृश्य देख्न र बुझ्न थाल्छ। क्रमस तिनलाई एकत्रित गर्दै तिनको मुक्तिका लागि मानवहरूसँग कडा युद्धको नेतृत्व गर्छन उनि ति हिंस्रक र आक्रामक मानिसहरुलाई अन्तमा हराएर सान फ्रान्सिस्को छेउ प्रशान्त महासागरको वन्दरगाहमाथि बडेमानको गोल्डन गेट पुल तर्दै मीर वुड्सको घना रेडवुड जंगलतिर उनि लाग्छन, स्वतन्त्र, आफ्नो वादर सेनाका साथ ।
कथा सकिनै लाग्दा म झल्यास्स ब्युझे । स्क्रिनमा फेरी विज्ञापनहरू चल्न थाले । ‘के उनिसित नजीक हुन चाहनु हुन्छ ? यो अत्तर प्रयोग गर्नु होस " एउटा नग्न मोडलको कामूक तस्बिर अगाडी थियो । शहरको रमझम र तामझाम । फेरी धर्ति पुगिएछ । केहि समय पछि मेरो पालो आयो सानफ्रान्सिस्कोमा । झोला बोकेर आफ्नो गन्तब्यतिर लागियो ।
त्यहाँको केहि वसाइ पछि एक दिन वाशिंगटन डि सी जाने काम, अनि रहर भयो । हिडियो । अनि पैसा जोगाउन सार्बजनिक बसको यात्रा रोजियो। तर त्यहाँको सार्बजनिक बसनै नेपालको हवाई जहाजभन्दा आरामदायी र सफा रहेछ।
तर पनि ड्राइभर ठाउँ ठाउँ रोक्दै हिड्यो र गर्दा गर्दा मलाइ निकै ढिलो भैसकेको थियो। मलाई लाग्यो कि मैले बाहिर निस्कनु पर्छ र एउटा ट्याक्सी वा केहि समात्नु पर्छ। तर रात परिसकेको थियो। स्टेशन बाहिर जादा त्यहाँ एउटा ट्याक्सी देखे तर एउटा ठूलो अजङ्गको भुसतिग्रे ड्राइवर थियो ।
ट्याक्सीहरूमा सांझ पख ग्राहकहरू लुटिने खबर पुरानो थिएन । र कालो हब्सीहरु प्रति धारणा पनि नकारात्मक नै थियो । त्यो भुस्तिग्रे मतिर आएर सोधन थाल्यो, "के तपाई टेक्सी खोज्दै हुनुहुन्छ ? " मैले फोन गरिरहेको जस्तो गरि उसलाई पन्छाए।
मेरो बाटो खर्च उसलाई लुटाउने पक्षमा म थिइन । तर एउटा बुढी आमा आएर उसलाई सोध्यो र बुक गरेर हिड्यो । उ एक एकदम सभ्य पाराले पेस भयो। म अनावश्यक शंका गर्दै बसे । मलाइ झन् ढिलो भइसकेको थियो ।
त्यसपछि अर्को मान्छे आएर रोकियो । ऊ ठिक्कै कदको अद्वैसे मान्छे थियो । मलाई लाग्यो, "यो मान्छे ठिक देखिन्छ। सानो पनि छ बदमासी गरे पनि म यत्रो मान्छेलाइ प्रतिकार गर्न सक्छु।"
मैले सोधे अंग्रेजीमा, " हेल्लो ! के तपाई मलाई डीसीमा लैजान सक्नुहुन्छ, कति लिनु हुन्छ ? " उनि केहि वर हेरिरहे अनि पछाडि फर्केर जवाफ फर्काए, " नेपाली हो ?"। हामी दुवै दङ्ग पर्यौ, "हो, क्या बात यार ।"
म खुसिले गदगद भए । बाल्टीमोर देखि वासिङ्गतनको चिल्लो बाटाहरुमा त्यहाको विकासको वखान गर्दै हामि हुइकियौ । " यहाँ नेपाली हरु धेरै छन ,।--- के गर्नु म पनि नेपालको अवस्था सुध्रेला भन्दा भन्दै यहाँ आएको १५ बर्ष भैसक्यो ---। "
घरतिर कुरा पुग्ना साथ् उनको अनुहार मलिन भयो।
"परदेश बसिरहेका लाखौ नेपालीहरु कहिले आफ्नो घर फर्केलान है ?" मैले सोधे।
----"यहाँ तपाईं यदि मिहिनेत गर्नु हुन्छ भने राम्रो कमाइ पनि गर्न सक्नुहुन्छ । तर नेपालमा कडा परिश्रम गरे पनि त्यो निश्चित छैन।--- अव त बुढो पनि हुन लागि सके। आस पनि धेरै छैन नेपालको ---। "
"यस देशको पुरानो नेता, मान्छेहरु जस्तो हाम्रोमा कहिल्यै पाउन सकेनौ ।" देशप्रति निराशा तर परदेशमा नेपाली हुनुको गहिरो साइनो जोड्दै हामी गन्तब्य पुगी विदावारी भयौ।
भोलि पल्ट एउटा भेटघाट पश्चात व्हाइट हाउस हेर्ने रहर भयो। हिडियो । वाशिंगटन डिसीको अलिशान शहर वीच रमाउदै पेंसिल्वानिया रोड छेउ पुगियो। चिल्ला रोड, आलिशान भवनहरुको लस्कर। सफासुघ्घर मान्छेहरू ।
सायद ति मध्यमै थिए राजनीति, व्यवसाय , कला क्षत्रका ठूला हस्तीहरु । केहि अगाडी अमेरिकी कोष विभागको बडेमानको भवन थियो । 'ट्रेजरी विभाग' जहाँ विस्वकै शक्तिशाली, सम्पन्न रास्ट्र अमेरिकाको वित्तीय पूर्वाधार, प्रणालीहरू सञ्चालन र मर्मत हुन्छ ।
तर एक जना साथि ठट्टा पनि गर्थे कि हाल आएर यसले भएको दुधमा पानी मात्र हाल्ने काम गर्छ । जति रकम छाप्दै जान्छ भएको रकम को मूल्य घट्दै जान्छ। जसरि एक छुद्र किसानले दुधमा पानी थप्दै जान्छ। त्यस भवनको मुन्तिर वाटोमा एउटा बुढो मान्छे स्मारिका टोपीहरू बिक्री गर्दै थिए ।
प्रत्यक विक्रि पछि एक एक डलर गन्दै गरेको दृश्य काठमानडु रत्नपार्कको पसल भन्दा भिन्न थिएन । त्यहाँबाट अलि पर हिडे पछि अगाडी ठुलो भव्य वगैचा र भित्र मान्छेहरुको घुइचो थियो ।
त्यही भित्र डुल्दै जाँदा चकमन्न व्हाइट हाउस देखियो। म रमाउदै, घोत्लदै वसे । मेरो नजिक भिडमा एकजना मान्छे एक प्रहरी संग जिद्धि गरिरहेका थिए " के म ट्रम्पलाई भेट्न सक्छु ?" " सक्नु हुन्छ, तर तपाईसँग अपोइन्टमेन्ट हुनु पर्छ । " जवाफ दिए उनले। "--के तपाइँसँग छ?" "छैन र त सोध्दै छु । "---म उसलाई हेर्न चाहन्छु । " उ निरन्तर जिद्धि गर्दै थियो।
अनि केही पल्तिर अमेरिकी ट्रंप अनि अमेरिकी युद्ध नीति विरुद्ध एक वुढा पाल टाँगेर विरोधमा केहि हफ्ता देखि थिए। पालै भरि मध्य पुर्व देखि अफगानिस्तानसम्मका युद्धका तस्विरहरु, त्यसविरुद्ध नाराहरु थिए । म त्यहावाट स्मिथसोनियन संग्रहालय अनि ट्रम्प टावर होटल हुदै वरालिदै, सोच्दै हिडे ।
अमेरिकी सुखसयलको सपना परवासीहरू माझ परिचित उक्ति हो । कुनै समय यहा एक सर्वसाधारणले मिहिनेत गरे भने परिवारको लालनपोषण, घर, गाडी, शिक्षा यानकी सुख सयलको अमेरिकी सपना प्राप्त गर्न सकिन्छ भन्ने मान्यता रहेछ। आज पनि करोडौ आकाक्षीहरू यसमा विश्वास गर्छन ।
अमेरिकी दुतावास अघि लाम लागेर यहाँ आउँन हत्ते गर्छन् । तर वास्तविकतामा सारा अर्थ र सामाजिक व्यवस्था व्यापार व्यवसायी, कर्पोरेसनहरुको हातमा र ति केवल पैसा कमाउने निर्दयी प्रतिस्पर्धामा उधृत भएको अवस्था छ।
व्यक्तिगत स्वतन्त्रता, फुर्सत, बचत, समाज, वातावरण संरक्षण जस्ता कुरा छायामा परेको अवस्था छ। जीविका चलाउन सातै दिन वार्है महिना कामले थकित र शुन्य वचत न्यून व्यक्तिगत स्स्वतन्त्रताको अवस्थामा यहाको अधिकांश मध्यम वर्ग छन् । र पनि हल्लामा समाज र व्यक्तिगत सोच हल्लाउने सामर्थ हुने रैछ ।
र, त अझै परदेशको रहर घटेको छैन । अनि परदेश पुगेपछि त चाहेर पनि फुत्कन गाह्रो छ । केहि आर्थिक, केहि सामाजिक, केही वैचारिक परिवंदले । केहि समय पछि नेपाल घुम्न मरिहत्ते गर्ने साथीहरूको एक समूह भेटियो र मेरो नेपाल फर्किने अवसर जुर्यो। फेरी लागियो एयरपोर्ट तर्फ। फिलाडेलफिया।
तर संसारको कुनै पनि ठाउ छैन होला जहा नेपाली भेटिदैन । मसँगै लाइनमा एउटा नेपाली दिदी टपक्क आइपुग्नु भो । हलुका पाइन्ट सर्ट लगाएका अधवैसे, मिजासिला, तर निडर जस्ता पनि । "विरामी आमा भेटन जान लागेको भाइ विदा धेरै छैन " ।
भेटपछि फेरी नेपालका कुरा भए। हुदै फेरी कतार एयरपोर्ट पुगियो। त्यहाँ पुग्दा हाम्रो समूहमा अरु पनि थपिए । कोहि जर्मनीवाट , कोहि जापानवाट अनि एउटा ठुलै महिला अधिकारकर्मी नेत्री स्वीजरल्याण्ड एउटा अन्तर्रास्ट्रीय सम्मेलनवाट ।
उनी आफ्नो वखान गर्न थालिन। अमेरिकामा उमेर ढल्दासम्म दुख खेपेका, देशको हालतदेखि अवाक ति दिदीलाइ अवसर जुर्यो क्यार आफ्नो वह पोख्ने ।
"हामी आफ्नो देसको अवस्थावाट पिडित भित्र र बिदेशमा रहेकाहरुको नेपालमै गरिखाने वातावारण बनाउन चै केहि गर्नु भा छ हजुरहरुले ? " यो सम्मेलनवाट हामी जनताले पाउने के ? " ....देशमा न बत्ति छ, न वाटो छ, न पानी । व्यवसाय गर्ने माहोल छैन -----। " कुरा हुदै गयो। ति नेत्रीसंग जवाफ निस्केन। अन्तमा उनि सिट छोडेर अन्तै लागिन ।
विगत केहि दशकभित्र नेपाली भूमि समाजमा अनेक राजनैतिक परिवर्तन भए । तर समाजको समस्या जिउका तिउ छ भन्दा फरक नपर्ला । प्रवासीगहरूको प्रश्न स्वभावै छ " देश फर्कने वातावरण कहिले, कसरी वन्ने होला ? रोजगारी, व्यवसायको वातावरण कसरी, कहिले वन्ने होला ? " ।
तर फेरी गाँठी कुरा केहो भने हरेक ठाँउ, हरेक गाउँमा धैर्य र मिहिनेत गरे एक दिन पालो आउने रैछ । मेरो उडानको केहि महिना पहिले संखुवासभाको एक दुर्गम गाउँमा एक विकासे योजनाको सिलसिला पुगेको थिए ।
खाँदवारीवाट दुइ दिनको बेजोड हिँडाइ र थकानपछि अरूण नदीको मास्तिर एक गाँउ आइपुगियो । भरे पानी पनि पर्न थाल्यो वेजोडले । कठांग्रिने चिसो थियो । एउटा अनकन्टारको गाँउ, त्यसको सानो कोठामा वास पछि हामी आगो ताप्न अघेनामा झुम्मियौं । तर खेतवारीवाट भर्खर फर्केका घरबेटी बुढाको नजर अघेनाभन्दा अन्तैतिर गयो । दाउराको चाङ्ग पल्तिर खोतल्दै, वियरको थाङ्ग निस्कियो उनीसंगै ।
"यत्रो वियर बेच्न लाइ हो दाइ ? " हाम्रो साथिले सोधिहाले "
"हैन, यसो आफु खानलाई "।
केहि साल यता अलैचीले बेजोड भाउ पाउन थाले पछि गाँउ ठाँउमा पैसाको छेलो भेलो भएको कुरा सुनाए बुढाले । "खानको कुरा नगरम भाइ एक ताका मान्छे यहाँ बियरले मुख धुन्थे " बुढा वात् मार्दै गए। यसपाली अलि भाउ घटेको रैछ तैपनि १५ , २० लाख त सजिलै पाउने आँकलन रैछ चल्तीको भाउले । त्यहाँवाट केहि दिन अछि पुर्व झापा, इलाम जादा पनि त्यस्तै थियो ।
हामी बसेको सानो लजले सजिलै महिनाको केही लाख कमाइ हुने हिसाब हाम्रै अगाडी देखाए । नजिकको छिमेकी भारतको गर्मी र तिनको बढ्दो आम्दानी अनि त्यहीँ पल्तिर नेपालमा शीतल, सुन्दर वातावरण, अतुलनीय आथित्य सत्कार । आम्दानी, व्यवसायको सोझो मौका थियो । केवल समय र केहि मिहिनेत, लगानीको जरूरी । अनि पश्चिम डोल्पामा त उखान नै रैछ, "दुनै इज बेटर द्यान दुवै ।"
तर पनि परदेशको रहर, लहर गाँउघरमा कम थिएन। तुम्लिंग्तार विमान स्थलवाट फर्किदा झिटिगुन्टामा फ्ल्याट स्क्रीन टिवी कसेर आउनेको एक हुल भेटियो । त्यहि पर मकै वारी जोति रहेका वाहिर कहिल्यै नगएका खेतालालाई कसरी रहर नलाग्दो हो ? कालो चस्मा, सफा कपडा र भारीमाथिको फ्ल्याटस्क्रिन टिभी । त्यहिँ अन्धो रहरले आज ६० लाख मान्छे परदेशिएका छन्।
केही दिनअघि तल तराइको एक गाँउमा साउदी नजाने घर भेट्न गारो रैछ भन्थे एकजना । घरवारी वेचेर पनि गएका धेरे जसोलाइ कमाइ जोडजाम गर्दा फर्किंदा बेचेको वारी दलालको कब्जावाट किन्न नसकिने वास्तविकता रहेछ ।
मैले सोचे आखिर गरिवी, दुख , परदेसिने रहर इत्यादि केवल एक मानसिक झ्याउकिरि , एक भ्रम मात्र हो । एउटा माछाले शिकारीको जालमा आहार देखेजस्तै । तर यही भ्रमले नेपाली समाज तितरवितर परिसकेको अवस्था छ ।
मेरो फिर्ति यात्राको दौरान विशाल महासागर माथि हाम्रो जहाज उड्न थाल्यो । एकतमासको नीलो सागर हेर्दै सोचे के र कसरी सम्भव होला परदेिसएकाहरू घर फर्कने , विछोिडएको घरहरू जोडने, विथोलिएको समाज जोडने ? के चीज लिएर फर्कनु महत्वपुर्ण होला ? अनि नीलो सागर हेर्दै सोचे हाम्रै हिमालयको नदी, पानी पनि त बगेर आउछ यहाँ वंगालको खाडी हुदै ।
अनि देखे घामको किरणसंगै महासागरवाट वास्प, अनि वादल, विशुद्ध जलमन्डल भएर, गगनमंडल हुदै फर्किन्छन पनि । हिमालय, पर्वत, पठारतिर वर्षा वनेर पुग्छन । जगत सिंचित हुन्छ। अन्न फल्छ, बसन्त आँउछ , खुसियाली छाँउछ । सोचे सायद त्यो संदेश हुनु पर्छ परदेसी मनहरुका लागि ।
चेतनाको तापसँगै मानव महासागरबाट सतही लोभ, ग्राह, संकोच, मोहको छालबाट उठेर वास्पिकरण, शुद्धिकरण हुँदै बादल झैँ हल्का, गतिशील, अनि आकासझैँ खुला सोचको सन्देश । न आलस्य, न अन्धो रहर, न लोभ, न डाह न अपेक्षा, न उपेक्षा , न डर । विशुद्ध, स्वतन्त्र, तर परोपकारले ओतप्रोत चित् । यहिँ चीज नै सबभन्दा महत्वपूर्ण देखे । सोचे त्यस्तो चित्त लिएर हिमालय, पर्वत, पठार, तराईका समाज सिंचित गरे सुख, सयल, समृद्धि, शान्ति कसो सम्भव नहोला ?
केही बेरमा अन्तर्मनको मन्थनपछि काठमाडौँतिर लाग्यो हाम्रो उडान । अनि फेरी आकास, अनि फेरी धर्ति टेकियो । विमानस्थलमा अध्यागमनले सबका झितिगुन्टा खोतले एक एक गरि । बाँकी रहेको बिदेसी खुद्रा त्यहाँ टकटक्याउँदै केही बेरमा हामी बाहिरियौं । हामीसँग पल्तिर कसैका मृत परिवारका शव थिए त केही जिउँदाहरु आफ्नो झितिगुन्टासँगै फ्लाटस्क्रीन टिभी डोरीमा कसेर स्वतन्त्रताको लामो स्वास फेर्दै घर फर्किदै थिए । अनि फेरी हाम्रो पछाडी उल्टो दिशामा एक नयाँ जत्था लाइनमा थियो । एक नौलो नेपाली उडानमा । जिन्दगीको, सुख, शान्तिको एकतर्फी खोजीमा ।
(लेखक लामा, ग्रामीण विकासविद् हुन् । साथै पर्यटनकर्मी, बौध ध्यान परम्पराका अध्येता समेत रहेका लामाको पुर्ख्यौली घर हुम्ला हो । हाल उनी क्यालिफोर्निया, अमेरिकामा बस्दै आएका छन् ।)