रुकुम पश्चिम । चौरजहारी नगरपालिका ८ सोती घटनाको विरोधमा रुकुम पश्चिममा पनि विरोध प्रदर्शन भएको छ । घटनाका हत्यारालाई कारबाही र पीडित परिवारलाई न्याय दिन माग गर्दै रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा विरोध प्रदर्शन भएको हो ।
गाउँपालिकाका दलित मुक्ति संगठन र संयुक्त दलित प्रगतिशील मञ्चले सोमबार विरोध प्रदर्शन गरेका हुन । रुकुम पश्चिममा पुर्वगृहमन्त्री जनार्दन शर्माको जगजगी रहेकाले अरु ठाउँमा प्रदर्शन हुन सकेको छैन । बाँफीकोटमा भने पहिलोपटक प्रदर्शन भएको हो ।
विरोध प्रदर्शन कार्यक्रममा बोल्दै संयुक्त दलित प्रगतिशील मञ्च बाँफिकोट गाउँपालिकाका अध्यक्ष दिपक विश्वकर्माले सोती घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरे । वडाध्यक्षको संलग्नतामा घटना भएकाले दोषीलाई उम्काउन खोजे आफूहरुले कडा कदम चाल्ने पनि उनले चेतावनी दिए ।
यस्तै दलित अधिकारकर्मी मन बहादुर बादीले दोषीमाथि कडा सजाय हुनुपर्ने माग गरे । घट्नाको ढाकछोप हुन खोजे आफूहरुले नसहने र कडा प्रतिकारमा उत्रिने पनि उनले चेतावनी दिए ।
दोषीलाई जन्मकैद हुनुपर्ने माग
यसैबीच दोषीलाई जन्मकैद हुनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरुको निःशुल्क उपचार गर्नुपनेृ लगायत ४ बुँदे माग राख्दै ज्ञापनपत्र पनि बुझाइएको छ ।
संयुक्त दलित प्रगतिशील मञ्च बाँफोकोटका संयोजक दिपक विश्वकर्माको अगुवाईमा बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसी, नेकपा बाँफीकोट गाउँपालिकाका अध्यक्ष कविराम खत्री र इलाका प्रहरी कार्यालय बाँफिकोटलाई घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै ४ बुँदे ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापन पत्र बुझ्दै गाउँपालिका अध्यक्ष केसीले दोषीलाई कारबाही हुनुपर्नेमा आफू दृढ रहेको र ज्ञापनपत्र जिल्ला समन्वय समितीलाई बुझाउने बताए । रुकुम घटनामा सलंग्नलाई पूर्वगृहमन्त्री जनार्दन शर्माले संरक्षण गरेको आरोप छ ।
शर्माकै संरक्षण र निर्देशन रहेकाले रुकुम पश्चिमका अरु सरोकारवालाले घटनाबारेमा खुलेर बोल्न सकेका छैनन् । जेठ १० गते प्रेमिका शुष्मा मल्ललाई विहेका लागि भगाउन सोती गएका जाजरकोट रानागाउँका नवराज विकसहित ६ जनाको कुटपिटपछि हत्या भएको थियो ।
सोतीका वडाध्यक्ष डम्बर मल्लको नेतृत्वमा घटना घटाइएको र युवाहरुलाई कुटपिट गरी भेरी नदीमा फालेको आरोप छ । प्रहरीले वडाध्यक्ष मल्लसहित १५ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । (रुकुमबाट हिरा परियारको सहयोगमा)