केही विद्यालय सञ्चालक आफ्नो स्कुल खोल्न आतुर देखिन्छन । सरकार पनि यो मामिलामा कन्फ्युज देखिएको छ । विषयवस्तुको सही मूल्यांकन गर्ने भविष्यद्रष्टा नीति निर्माण तहमा नहुँदा हरेक निर्णय प्रभावित हुन्छन ।
तर यो भन्दा पहिले विश्वव्यापी कोरोना महामारीको नेपाल अवस्थालाई राम्ररी बुझ्न आवश्यक छ । यसलाई केही बुँदामा हेर्दा कोरोना महामारीको परिस्थिती अनुकुल छैन् । यद्यपी यो सधै प्रतिकुल भइरहदैन ।
वर्तमान परिस्थिती र समस्या
१. कोरोना संक्रमितको संख्या बढ्दो ग्राफमा छ । भारतबाट नेपाल आउने तथा अन्य देशबाट नेपाल आउनेको संख्या घटेको छैन । उल्टै बढिरहेको छ ।
२. जुन र जुलाईमा भारत तथा नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने आंकलन गरिएको छ ।
३. भारतबाट अरु ८ देखि १० लाख नेपाली स्वदेश भित्रिने आकलंन गर्न सकिन्छ ।
४. मध्यपूर्वका देशमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न बाँकी छ ।
५. देशभरका अधिकांश सरकारी स्कुलहरु क्वारेन्टाइनले भरिएका छन् । अन्य लाखौँ नेपालीको आगमन हुने बेलासम्म स्थानीय निकायले स्कुललाई क्वारेन्टाइन भवनको रुपमा प्रयोग गरिरहनेछन् ।
६. हरेक समुदायमा कोरोना संक्रमण देखिएको छ । परिक्षणको गति अत्यन्तै सुस्त छ ।
७. जनस्वास्थ्य चेतना अत्यन्तै न्यून छ ।
८. अभिभावकमा रहेको त्रास र अन्यौल घटेको छैन । संक्रमितको संख्या बढ्दा त्यो त्रास झन बढेको छ ।
तयारी र समाधान
१. नेपालमा प्रति १० लाख जनसंख्यामा जम्मा ६ हजार २१२ जनाको कोरोना परिक्षण भएकोमा ‘ एक परिवार ः एक परिक्षण ‘ को नीति ल्याएर आक्रामक ढंगले छोंटो समयमा अधिकतम परिक्षण गरेर संक्रमितलाई आइसोलेसनमा राख्नुपर्छ ।
२. भारत तथा अन्य मुलुकबाट आउने नेपालीलाई आगमन बिन्दुमा सुरक्षित क्वारेन्टाइनमा राख्ने । दोस्रो हप्तापछि परिक्षण गरेर संक्रमण नभएका व्यक्तिलाई आफ्नो थातथलोमा पठाउने र होम क्वारेन्टाइनमा राख्ने । संक्रमण नभएका व्यक्तिलाई सुरक्षित तवरले आफ्नो थातथलोमा पठाउने अनि २ हप्ता होम क्वारेन्टाइनमा बस्ने प्रबन्ध मिलाउनुपर्छ ।
३. जनस्वास्थ्य चेतनाका प्रभावकारी सामग्री उत्पादन गरेर प्रकाशन र प्रसारण गर्नुपर्छ ।
४. भारत तथा नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेर जब ग्राफ घट्दै जान्छ । त्यसपछि अन्य कार्यालय, पसल, यातायात लगायत खोल्ने, यसरी लकडाउन खोलेपछि त्यसको परिणाम मुल्यांकन गर्ने, अन्य क्षेत्र खोल्दा संक्रमण बढेन भने मात्र स्कुल खोल्ने । बीचको अबधिमा स्कुलहरुले सामाजिक दुरी, सरसफाई तथा अन्य उपायको लागि भौतिक संरचनाको क्षमता बिस्तार गर्नुपर्छ ।
५. भारतमा भएको एक अध्ययन अनुसार कोरोना नियन्त्रण नहुँदै स्कुल खोलेमा ९२ प्रतिशत अभिभावकले आफ्ना बालबालिका स्कुल नपठाउने भनेका छन् । हामीकहाँ शिक्षा मन्त्रालयले यस्तो सर्भे गर्न आवश्यक छ ।
६. कोरियाका केहि ठाउँमा स्कुल खोलेपछि बालबालिकामा संक्रमण बढेको भनेर बिद्यालय पूनः बन्द गरेको समाचार आएका छन । यस्तो परिस्थितिमा विद्यार्थीले संक्रमण बोकेर घर फर्किए भने जोखिम वर्गमा रहेका व्यक्तिलाई कसरी ब्यबस्थापन गर्ने ? भनेर स्थानीय निकायलाई प्रशिक्षित र सुसंगठित गर्नुपर्दछ ।
७. इबोला संक्रमणको बेला अफ्रिकामा ८ महिना स्कुल बन्द भएका थिए । इबोला नियन्त्रणमा आएर स्कुल खोलेपछि बाँकी ४ महिनामा कोर्स पुरा भएको थियो । यस्तो अवस्थाको लागि पनि सरकार तयार हुनुपर्छ ।
८. बिद्यार्थी भर्ना गर्ने, पाठ्यपुस्तक उपलब्ध गराउने, सरकार तथा निजि क्षेत्रले विद्यार्थीलाई निःशुल्क डाटा उपलब्ध गराउने । इन्टरनेटको पहुँच बढाउने तथा पाठ्यक्रम अनुसार पढाइ संचालन गर्नुपर्छ ।
९. इन्टरनेटको पहुँच नभएका ठाउँमा दुर शिक्षा, रेडियो र टिभीबाट संचालन गर्ने । नबुझेको कुरा आफ्नो शिक्षकसंग फोन वा अन्य माध्यमबाट सोध्ने । यहि मोडेलमा शुूरुवाती परीक्षण सञ्चालन गर्नुपर्छ । बार्षिक परीक्षाका हकमा यो लागु नहुन सक्छ ।
१०. यो महामारीमा सबै क्षेत्र आर्थिक रुपमा टाट पल्टिएका छन् । तसर्थ विद्यालयहरुले यो बर्ष बाँच्ने मात्र लक्ष्य राखेर भर्ना तथा मासिक शुल्क सकेसम्म न्यून लिने ्र सरकारले बिद्यालयलाई सकेसम्म अनुदान दिएर अभिभावकलाई राहत अनुभुत गराउनुपर्छ ।
दीर्घकालिन समाधानका उपाय
नेपालमा विद्यालय छिटो खुलेमा भाद्रदेखि अर्को परिदृश्य देखिन सक्छ । दशैंतिहारपछि झन खराब अवस्था आउन सक्ने जोखिम पनि छ । अर्थात जाडो सुरु हुने बेलाको मौसमी रुघाखोकीमा कोरोना भाइरस मिसिएमा विश्व स्वास्थ्य संगठनले भनेजस्तै कोरोना संक्रमणको तेस्रो वेभ आउन सक्छ ।
यसले आगामी चैत्रदेखिमात्रै विद्यालय खोल्ने परिस्थिति पनि सिर्जना हुन सक्छ । तसर्थ बैकल्पिक अध्ययनका उपाय अबलम्बन गरेर पढाइ जारी राख्नु सर्वोत्तम विकल्प हो । हाम्रो आशा र अभियानले कोरोना संक्रमण छिटो नियन्त्रण भएमा आफ्ना बालबालिकालाई छिटो स्कुल पठाउन अभिभावक पनि अग्रसर हुनेछन ।
(पाण्डे जनस्वास्थ्य विज्ञ हुन ।)