सुर्खेत : राज्य व्यवस्था परिर्वतनका लागि संघर्ष गर्ने । बलिदान दिने । निरंकुश सत्ता र शासकलाई ढाल्ने युद्ध चलेकै हो । जनताको हात र साथमा ‘शासन सत्ता’ आउने आशाहरु पनि पलाएकै थिए ।
सर्वहाराको हितका लागि, दमित वर्गको मुक्तिका लागि नेपालमा १० वर्ष युद्ध चल्यो । जसको नेतृत्व तत्कालिन विद्रोही माओवादीले गर्यो । त्यतिबेला कयौंले ज्यान गुमाए । घाइते भए । त्यो परिवर्तनका लागि थियो ।
त्यहीँ परिवर्तनका लागि होमिएका एक कमरेड हुन् किरण शाही । दैलेखको भगवतीमाइ गाउँपालिका–६ का किरण तत्कालिन राज्यव्यवस्था परिर्वतनका लागि १९ वर्षको उमेरमा माओवादी युद्धमा होमिए ।
‘राज्य व्यवस्था परिर्वतन भएपछि हाम्रा सपना पुरा हुन्छ । अर्थात् भुईँ मान्छेले पनि राष्ट्रको नेतृत्व गर्ने छ । सर्वहाराका छोरा छोरीले शासन गर्ने छन् । त्यो व्यवस्थाका लागि लड्नु पर्छ’ भन्ने सोचले युद्धमा सामेल भएका कमरेड किरण युद्धमै घाइते भएर फर्किए ।
अहिले पनि उनको जिउमा गोलीका डोब छन् । ०६२/६३ मा युद्ध चलिरहेकै थियो । रुकुमको खाराबाट बटालियन कमाण्डर र प्लाटुन कमाण्डरसहित ३३ जनाको फौज पश्चिमतर्फ अघि बढिरहेको थियो ।
त्यहीँ अवस्थामा राज्य पक्ष र माओवादी पक्षबीच गोली चल्यो । पश्चिमतर्फ अघि बढेका माओवादी फौज तितरबितर भयो । उक्त आक्रमणमा परेर किरण घाइते भए । खुट्टाको माथिल्लो भागमा गोली लाग्यो । साथीहरुको सहयोगबाट ज्यान जोगाए ।
त्यो गोलीको छर्राले उनलाई अहिलेसम्म पनि सताइरहेको छ । सर्वहारा र दमित वर्गको मुक्ति र राज्य व्यवस्था परिवर्तनका लागि युद्ध गर्दा उर्जा थपिएको थियो । अहिले जनयुद्धका नेतृत्वकर्ताले मुद्धालाई बेवारिसे पार्दा युद्धको बेला नचर्किएको घाउ यतिबेला चर्किएको किरणले बताए ।
परिवर्तनका लागि बलिदान दिएको जनयुद्ध अहिले कुनै व्यक्तिको कमाइ खाने भाँडो भएको उनले बताए । ‘युद्धमा देखाइएका सपना र नेपाली जनताको चाहनालाई मारेर कुर्सीका लागि कमरेडहरु दौडिरहेका छन्, उनले भने, ‘सर्वहारा वर्गका लागि त्यो बलिदान थियो । हजारौं योद्धाहरु शहीद भएका थिए । हजारौं कमरेडहरु घाइते छन् । लडाइँ गर्ने सर्वहाराको छोरा छोरी थिए । कुर्सीमा छैनन ।’ युद्धको मैदानमा गोली लाग्दा नदुखेको घाउ अहिले दुःखीरहेको छ । चर्किरहेको उनले बताए ।
नेपाली जनताका लागि । राज्य व्यवस्था परिर्वतनका लागि गरेको त्यो संघर्ष । त्यो बलिदान खेरै गएको छ । नेताका झुटा आश्वासनले कयौं कमरेडका सपनामाथि तुषारापात परेको उनको भनाइ छ ।
युद्धमा लागेको गोलीको घाउ देखिए पनि कुनै दुःखेको छैन, उनले भने, ‘जति मिशन अपुरो र नेताको झुटा आश्वासनले पछुतो छ । शासक परिर्वनत भए तर, शासन परिर्वतन भएन । मुद्धा परिर्वतन भएन । युद्धमा होमिए गोलीको छर्राले आधा बनाएको आधा जिन्दगी बाहेक अरु केही प्राप्त गर्न सकेनन् । अहिले उहीँ युद्धकालिन अवस्थामा नचर्केको पुरानो घाउ ताजै छ । ताजै बनेर बेला बेला चर्किन्छ ।’
राज्य व्यवस्था परिर्वतनका लागि युद्धमा हिँडेका योद्धा घाइते छन् । उनीहरुलाई अहिले बिहान बेलुका हातमुखको जोड्न धौ धौ छ । युद्धमा उनीहरुले देखाएका सपना सम्झिदा आफु मात्रै नभएर सबै घाइते योद्धाको घाउ चर्किने उनले बताए ।
जनयुद्धमा होमिएर घाइते भएका कमरेड किरण ४५ वर्षका भए । घरपरिवारको खर्च चलाउन भगवतीमाइ गाउँपालिका–६ कट्टिमा आफ्न्तको सहयोगमा घुम्ती चिया पसल खोलेका छन् । त्यहीँ चियापसलमा दिन काट्ने गरेका छन् । १९ वर्षको उमेरमा जनयुद्धमा होमिएका उनले २०६८/६९ मा ३४ वर्षको उमेरमा विहे गरे । उनका दुुई छोरी र एक छोरा छन् ।
जनयुद्धको मुख्य उद्देश्य थियो राज्य व्यवस्था परिवर्तन गर्ने । व्यवस्था परिवर्तन गरेपछि सर्वहारा नेतृत्व गर्ने ठाउँमा पुग्नेछन् । जनताको शासन आउँछ । जनयुद्ध व्यवस्था परिर्वतनका लागि हुन जरुरी थियो र भयो । व्यवस्था परिवर्तन जनताका लागि भएन । जनताका समस्या ज्युँका त्युँ रहेको उनले गुनासो सुनाए ।
जनयुद्धलाइ वास्तविक जीवनमा लागु गर्न सके मात्र जनयुद्ध सफल भएको मानिन्थ्यो । अहिले जनयुद्धकै बलमा आएको गणतन्त्रको नाममा कमाइ खानेतन्त्र, मनपरीतन्त्र लुटतन्त्र चलिरहेकाकारण युद्धको चोट अहिले बल्झिरहेको शाहीको भनाइ छ ।
‘अहिले देशको शासनमा खिया लागि सक्यो । देश ढल्ने अवस्थामै छ, उनले भने, ‘ढल्न लागेको देश जोगाउन र शासन परिर्वतनका लागि फेरी संघर्ष गर्नुपर्नेछ ।’
(२०५२ सालदेखि २०६२ सालसम्म नेपालमा सशस्त्र द्धन्द्ध भयो । तत्कालिन विद्रोही नेकपा माओवादीले जनयुद्ध घोषणा गर्दा देशभर संघीयता, संविधान र गणतन्त्रका लागि योगदान गर्नेको लहर चल्यो । त्यतिबेला रगत बगाउन तयार हुनेहरु अहिले साँझ बिहानको छाक टार्न दैनिक आ - आफ्नै ज्याला मजदुरी गरिरहेका छन् । कतिपयले राम्रो घरबार जोडेका छन् । कतिपय सडकमा छन् । यो जनयुद्धदेखि अहिले बाँच्नका लागि दुई पैसा कमाउन धनयुद्ध लड्नेहरुको कथा हो, 'जनयुद्धदेखि धनयुद्धसम्म' श्रृंखला । त्यतिबेलाको मध्यपश्चिम अर्थात रोल्पाको होलेरीबाट सुरु भएको जनयुद्धले कर्णालीलाई आधार इलाका बनाएको थियो । सुख, शान्ति र समृद्धिको चर्को नारा उचालिएको कर्णाली अहिले पनि जस्ताको त्यस्तै छ । रगतकै बलिदान दिएर पनि कर्णालीको समृद्धि किन हुन सकेन ? हिजो देशका लागि रगत बगाउने, ज्यानको आहुति दिने र जीन्दगीभर जनयुद्धको घाउ बोक्नेको पीडामा किन मलम लाग्न सकेन ? यो श्रृृंखलामा हामी यस्तै प्रश्न र जिज्ञासासहितका सामग्री प्रस्तुत गर्नेछौँ : सम्पादक)