'राजा महेन्द्रको इच्छा कसैको मुनि बस्ने होइन । सुवर्णलाई प्रधानमन्त्री बनाएको भए पञ्चायत आउने थिएन । बीपी कोइरालाको व्यक्तित्व त्यस्तो थियो, राजा उनलाई उछिन्न सक्दैनथे ।
त्यसैले निहुँ खोजेर उनले २०१७ पुस १ को कदम चाले' बीपीको दाहिने हात भनेर चिनिएका तर कुमा राजालाई साथ दिएका विश्वबन्धु थापाले २०७४ चैत २३ गते लेखकलाई सुनाए, 'तीव्र विकास गर्ने भनेर राजाले सत्ता लिएका थिए ।
तर १० वर्ष पुग्दा नपुग्दै उनी पञ्चायतलाई अघि बढाउन सकिँदैन भन्ने निष्कर्षमा पुगिसकेका थिए । पञ्चायत इतरका शक्तिसमेत अटाउने गरी संविधान बनाउने वा संशोधन गर्ने गृहकार्य गोप्य रूपमा भइरहेको थियो राजा महेन्द्रले पञ्चायतमा सुधार गरी सबै प्रजातन्त्रवादी अटाउने वातावण बनाउने विश्वास सुवर्णसहित काङ्ग्रेस नेताहरूलाई दिएका थिए ।
सुवर्णको चाहना पनि त्यही थियो । कार्यकारी सभापति सुवर्ण र नेता सूर्यप्रसादसँग राजाको संवाद चलिरहेको थियो त्यति बेलाको स्मरण गर्दै संविधानविद् कृष्णप्रसाद घिमिरेले भनेका छन्, राजाले सूर्यप्रसादलाई संविधानको ड्राफ्ट बनाएर ल्याउन भन्नुभएको रहेछ । सूर्य बाबु मेरो घरमा आउनुभयो र सबै कुरा भन्नुभयो । त्योभन्दा पहिला शम्भुप्रसाद ज्ञवालीजीले संविधानको ड्राफ्ट बनाएर राजाकहाँ पेस गर्नुभएको थियो ।
सूर्यप्रसादले मस्यौदामा सबै अटाउने गरी सुधार गर्न आग्रह गरेपछि आफूले ड्राफ्ट बनाइदिएको घिमिरेले उल्लेख गरेका छन् । संविधानको त्यो खाका राजासम्म पुगिसकेको थियो । त्यो मस्यौदामा छलफल गरी राजनीतिक सुधारको आधार तय गर्ने अन्तिम गृहकार्य गर्न राजा चितवनस्थित दियालो बगला पुगिसकेका थिए ।
राजाले गर्ने सुधारबारे बनारसमा रहेका बीपीसँग समेत सम्पर्कसूत्रमार्फत कुरा भएको थियो । बीपीले २२ सेप्टेम्बर १९७१ मा सुवर्णलाई लेखेको पत्रमा भनेका छन्, 'नेपालको राजनीतिमा चाँडै नै केही परिवर्तन आउँदै छ भन्ने मैले सुनेको छु । त्यस्तो छाप मैले ऋषिकेश शाहबाट पाएको हुँ । उनले तपाईंलाई पनि अवश्य भेटे होलान् । कृपया आफूले वहन गर्नुपर्ने नयाँ जिम्मेवारीका लागि आफूलाई शारीरिक एवम् मानसिक रूपमा सक्षम बनाएर राख्नुहोला । हाम्रा लागि तपाईंको अपरिहार्य रूपमा खाँचो छ ।
काङ्ग्रेस नेता सूर्यप्रसादका भाइ किरणले भनेका छन्, सूर्य बाबु र सुवर्णजी पनि दियालो बङ्गला जाने वार्ता गर्ने, पार्टीमाथिको प्रतिबन्ध फुकाउने र राजनीतिक दलहरूलाई समावेश गराएर सरकार बनाउने सहमति राजासँग भएको थियो ।
सुवर्णसहितका नेतालाई दियालो बङ्गलामा आउनू भन्ने खबर राजाका तर्फबाट पठाइएको थियो । राजा बीपीलाई समेत मान्य हुने गरी प्रजातान्त्रिक संविधान दिन चाहन्थे । राजाले आफू निकट पञ्चहरूसँग भनेका थिए- अबचाहिँ प्रजातान्त्रिक हक दिने बेला भयो ।
शाही चिकित्सक मृगेन्द्रराज पाण्डेका अनुसार भरतपुरमै १० माघमा बसेको मन्त्रिपरिषद् बैठकमा राजा आफैले संविधान संशोधन जबर्जस्ती पास गराउन खोजे । तर पहिलो प्रयास असफल भयो ।
रिसाउँदै उनले भने, "आजलाई छोडौं, अर्को हप्ता पारित गरौला । त्यो दिनको बैठक स्थगित भयो । मुटुका रोगी राजा महेन्द्रलाई आफू धेरै बाचिंदैन भन्ने अनुमान भइसकेको थियो ।
डा पाण्डेसँग उनी भन्ने गर्थे, मेरा बाजे र बाबुको पनि हृदयाघातबाट स्वर्गवास भयो । मेरी आमा यसैको रोगी हुन् । मलाई पनि एक पटक एट्याक भइसकेको छ । हाम्रो खानदान हृदयाघातबाटै ग्रसित छ । त्यसैले अब मैले देशका लागि केही गर्नैपर्छ । डेमोक्रेसी नै मारेर म आफू मर्न चाहन्नँ
(यो लेख त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं पत्रकार जगत नेपालले लेखेको ‘बीपीको विद्रोह’ पुस्तकबाट लिएका हौँ ।