सिमकोट : हुम्लाका अधिकांश विद्यार्थीहरु यतिबेला सञ्चालन भइरहेको अर्धबार्षिक परिक्षा खुल्ला चौरमा दिन बाध्य भएका छन् । चिसोले कक्षा कोठामा बसेर परिक्षा दिन नसकिने भएपछि घाम लागेको चौर परिक्षा बाध्य भएका हुन् ।
ताँजाकोट गाउँपालिकाको धर्मोदय माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्र प्रदिप जैसीले कक्षा कोठामा बसेर परिक्षा दिन नसकिने भएपछि खुल्ला चौरमा परिक्षा दिइरहेको जानकारी दिए । उनले भित्र कलम चलाउन पनि कठिन हुने भएपछि कक्षामा परिक्षा दिन बसेका विद्यार्थी चौरमै बसेर परिक्षा दिइरहेको जानकारी दिए ।
कोरोनाले पुरै समय अध्ययन गर्न नपाएको र अर्कोतिर केही पढेको कुरा पनि चिसोले लेख्न नसक्ने अवस्था आएपछि चौरमा बसेर परिक्षा दिनुको विकल्प नभएको हो ।
चौरमा परिक्षा दिइरहेकाले उनले चौरमा लेख्न सकेको बताए । सोही विद्यालयकी अर्की छात्रा रमिता खड्काले हलबाट बाहिर आएर परिक्षा दिन पाएपछि प्रश्नले खोजेको उत्तर लेख्न सकेको बताइन् ।
हलमा उत्तर पुस्तिका र प्रश्न पत्र पाइसकेका विद्यार्थी एक स्वरले चिसोले लेख्न नसकिने आवाज उठाएपछि चौरमा परिक्षा दिने व्यवस्था गरिएको थियो । विद्यालयले हलबाट बाहिर चौरमा परिक्षा दिने व्यवस्था गर्नका लागि आधा घण्टा समय थप्नु परेको थियो । विद्यालयले चिसोको कारण परिक्षा दिन नसक्ने अवस्था सिर्जना भएपछि बाहिर खुल्ला चौरमा विद्यालय व्यवस्थापन परिक्षा सञ्चालन गर्न राजी भएको थियो ।
परिक्षा हलमा शिक्षकलाई पनि चिसोले बस्न कठिन भएको र विद्यार्थीले लेख्न सक्ने अवस्था नरहेपछि घाम लागेको चौरमा परिक्षा सञ्चालन गर्नुपरेको बताउँदै उनले यो विद्यालयको रहर नभएर बाध्यता भएको जानकारी दिए । पुस १५ गतेबाट मिन पचासको बिदा हुने हुम्लाका अधिकांश विद्यालयमा यसरी परिक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।
यस वर्ष हुम्ला चिसो पनि निक्कै बढेको छ । यसअघि कम घाम लाग्ने र कर्णाली नदी छेउका विद्यालयमा चौरमा परिक्षा सञ्चालन गर्नुपर्ने अवस्था थियो । दुई वर्ष अगाडीसम्म यो समयमा हुम्लाका विद्यालयहरुले वार्षिक परिक्षा दिँदै आएका थिए । कोरोनापछि पठन पाठन हुन नपाएका जिल्ला भरिका विद्यालयमा अर्धवार्षिक परिक्षा सञ्चालन भइरहेका छन् । चौरमा विद्यार्थी बसेर परिक्षा दिदै गरेको देखिनु सामान्य जस्तै भएको छ ।