सिमकोट : दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य संस्थाहरुले स्वस्थ बालबालिका प्रतियोगिता आयोजना गरेर स्वस्थ शिशु छनौट कार्य भइरहेको छ । नवजात शिशुहरुको स्वास्थ्य अवस्था पत्ता लगाएर स्वस्थ रहनेबारे जनचेतना अभिवृद्धि गर्न स्वास्थ्य संस्थाले यस्ता कार्य गरिरहेको छ ।
स्वास्थ्य चौकी प्रमुख धनराज ढकालले सबै वडाका पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य अवस्था पत्ता लगाउनका लागि स्वस्थ बालबालिका प्रतियोगिता गरिएको जानकारी दिए ।
उनले प्रतियोगितामा उत्कृष्ट भएका प्रत्येक वडाका तीन जना शिशुहरुलाई पहिलो, दोस्रो र तेस्रो स्थानमा छनौट गरेर पुरस्कृत गरिएको बताए । चार वडा वडा गरेर १२ जना शिशु छनौट भएका हुन् ।
यसका लागि निश्चित मापदण्ड बनाएर गाउँपालिकाका एकदेखि चार नम्बर वडामा ४५० जना शिशुहरुको स्वास्थ्य अवस्था परिरक्षण गरिएको थियो । उमेर अनुसार शिशुहरुको तौल, उचाइ पोषणको अवस्था लगायतका आधार मानेर स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिने काम गरिएको थियो ।
स्वास्थ्य परिक्षणपछि ७५ प्रतिशित शिशुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको, २० प्रतिशतको मध्यम र बाँकी पाँच प्रतिशतको न्यून अवस्था रहेको स्वास्थ्य चौकीले जानकारी गराएको छ । स्वास्थ्य अवस्था सामान्य रहेका शिशुहरुका आमाहरुलाई प्रोत्साहन स्वरुप, तेल, हात र कपडा धुने साबुन, ब्रस, तुथपेष्ट नेलकटर लगात व्यक्तिगत सरसफाइका सामग्री दिइएको छ ।
मध्यम र न्यून स्वास्थ्य अवस्था भएको शिशुहरुका आमालाई स्वास्थ्य जनचेतानाका बारेमा अभिमुखीकरण गरिएको हो । प्रतियोगितामा सहभागी भएका सबै वडाका शिशुहरु मध्ये सात जना कुपोषित अवस्था पाइएको बताउँदै आमालाई विशेष गरी पोषणमा ध्यान दिन आग्रह गरिएको प्रमुख ढकालले जानकारी दिए ।
प्रतियोगिताको आयोजना गरेर शिशुलाई स्वस्थ्य राख्नका लागि आमालाई हौसला र ज्ञान प्रदान भएको विश्वास गरिएको छ । यसका लागि विगत लामो समयदेखि गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको फेज नेपालले सहकार्य गरेको हो ।