काठमाडौँ: बैंक तथा वित्तीय संस्थामा तरलता अभावसँगै सेयर बजारमा अस्थिर हुन थालेको छ ।
बुधबार सेयर बजारको परिसूचक नेप्से ५.५ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै नेप्से २५२४ अंकमा पुगेको छ । उतारचढावकै बीचमा दिउँसो १२: ४ बजे नेप्से २५३८ अंकसम्म पुगेको थियो । दिनभर कुल ३ अर्ब ६३ करोड रुपैयाँको कारोबार भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको हो ।
यस्तै सेन्सेटिभ इण्डेक्स ०.२६ अंकले बढेर ४७१.२४ विन्दुमा पुगेको छ। यसदिन २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता सेयर ४२ हजार ५१२ पटकमा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९२ रुपैयाँमा कारोबार भयो।
बैंकिङ ०.७६, होटल तथा पर्यटन १७, जलविद्युत २, उत्पादन ५७, माइक्रोफाइनान्स ११, निर्जीवन बीमा २५१ र अन्य उपसमूह १९ अंकले बढे । त्यस्तै ब्यापार १३, विकास बैंक २९, फाइनान्स ४, जीवन बीमा ७१ अंकले घटे ।
आज मध्य भोटेकोसी जलविद्युत आयोजना र नेपाल बंगलादेश बैंकको सेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ । नबिल बैंकसँग मर्जरमा जान लागेको हल्लापछि बंगलादेश बैंकको सेयर मूल्य उकालो लागेको हो ।
चालु आर्थिक वर्ष सुरु भएसँगै बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव र व्याजदर वृद्धिले सेयर बजार प्रभावित हुन थालेको छ । सँगसँगै चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमा तोकेपछि सेयर बजारमा झनै नकारात्मक प्रभाव पर्यो ।