सुर्खेत । कर्णालीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुर्खेत अस्पतालमा रहेको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको परीक्षणमा १६ जनाको रिर्पोट पोजेटिभ आएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । नयाँ संक्रमितमा दैलेख र कालिकोटका सात सात तथा सल्यानका २ जना छन । यससँगै दैलेखमा कोरोना संक्रमितको संख्या १ सय नाघेको छ । सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार दैलेखमा संक्रमितको संख्या १ सय ५ पुगेको हो ।
यस्तै सुर्खेतमा ६१, सल्यानमा ५५ र जुम्लामा १९ जना संक्रमित छन । यस्तै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको गृहजिल्ला कालिकोटमा २५, मुगुमा १, बाजुरामा एक, अछामका १० र बझाङका १ जना छन ।
सुर्खेत लगायतका जिल्लामा देखिएको कोरोना संक्रमितलाई प्रदेश अस्पतालमा भर्ना गरिएको छ । अरुको क्वारेन्टाइनमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ । कर्णालीमा कोरोनाबाट अहिलेसम्म एक जनाको मृत्यु भएको छ । संक्रमितमध्ये कसैलाई पनि निको भएको छैन ।
पहिलो पटक ५ महिने शिशुमा कोरोना !
कालिकोटमा पहिलोपटक ५ महिनो शिशुमा पनि कोरोना संक्रमण देखिएको छ । बुधबार गरिएको परीक्षणमा कालिकोटका ७ जनामध्ये ५ महिने शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । कालिकोटको महाबै गाउँपालिकाका –४ का ५ महिने शिशुमा कोरोना पोजेटिभ रिर्पोट आएको हो ।
शिशुसहितको परिवार भारतबाटै आएको हो वा होइन भन्ने खुलेको छैन । यसअघि सुर्खेतका ४ बर्षीया बालिका र ८ बर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको थियो । भारतबाट लकडाउनमा रातारात घर फर्किनेको संख्या बढ्दै जाँदा कर्णालीमा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।