वीरेन्द्रनगर : सुर्खेतको बराहताल गाउँपालिका –६ कि हस्तना विक कक्षा एकमा पढ्छिन् । उनी इखेनीस्थित जनजागरण प्राथमिक विद्यालयमा पढ्छिन् । हस्तनाको साथमा नत झोला छ नत न्यानो कपडा नै ।
यस्तै सोही ठाउँकै अर्का लोकेन्द्र विकको पनि अवस्था उस्तै छ । उनीहरु दुबैजना उक्त विद्यालयका प्रतिनिधि हुन् । सोही विद्यालयमा अध्यनरत एक सयभन्दा बढी विद्यार्थीको अवस्था लोकेन्द्र र हस्तना जस्तै छ ।
भेरीको छेउमै रहेको यो विद्यालयमा विद्यार्थी विभिन्न समस्या झेल्दै आएका छन् । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीको साथमा न्यानो लुगा र झोला त परको कुरा हो उनीहरुको गोडामा लगाउने जुत्ता–चप्पल समेत छैन ।
२०६२ सालतिर तत्कालिन विद्रोही माओवादीले भेरी किनार क्षेत्रको वन फँडानी गरेर विभिन्न जिल्लाबाट ल्याएर ५० परिवार राखेको थियो । यातायात, विद्युत, विद्यालय, खानेपानी, सिंचाइ लगायतका सुविधाबाट विमुख इखेनी बस्तीले गाउँमा खानेपानी पाए तर विद्यालयमा खानेपानीको समस्या ज्युँका त्युँ रहेको छ । विद्यालयमा खानेपानी धारा बनाउन भने पनि वडाले वास्ता नगरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्वल विक बताउँछ् ।
जनजागरण प्राथमिक विद्यालयमा कक्षा पाँचसम्म पढाइ हुन्छ । त्यसपछि थप अध्ययनका लागि चेपाङ पुग्छन् । कक्षा पाँचसम्म अध्ययन हुने गरेपनि शिक्षक अपुगकाकारण पठनपाठनमा समस्या भएको विद्यालयका शिक्षक रमेश नामजालीले बताए । विद्यालयमा शिक्षक अपुग मात्र होइन खानेपानी, र शौचालयको पनि अभाव रहेको नामजालीले बताए ।
२०६५ सालमा स्थापना भएको उक्त विद्यालयमा दुइ जना शिक्षकको दरबन्दी छ । एक पद रिक्त छ । स्थानीय शिक्षक राख्न विद्यालयसँग स्रोत छैन । विद्यालयमा हाल एकजना दरबन्दी, एकजना स्थानीय स्रोत, एकजना राहत, एकजना करारसहित पाँचजना मात्र शिक्षक रहेका छन् ।
विद्यालयमा शौचालय र पानी नहुँदा विद्यार्थीहरु जंगलतिर जान बाध्य हुन्छन् । विद्यालयमा शौचालय र पानी नै हुँदैन, नामजालीले भने, ‘शौचालय पनि जीर्ण छ । विद्यार्थी जान डराउँछन् । जसकाकारण जंगल जानुपर्ने बाध्यता छ ।’
चार वर्षअघिको कार्पेटमा बस्छन् विद्यार्थी
जनजागरण प्राथमिक विद्यालयका विद्यार्थी चार वर्षअघिको च्यातिएका कार्पेटमा बस्छन् बाध्य भएका छन् । उक्त विद्यालयको अवस्था जीर्ण भएको स्थानीय नेता कार्यकर्ताले देखिरहेका हुन्छन् तर उनीहरुको विद्यालयमा साँचो र चिन्ता भने छैन । विद्यालयमा भौतिक पूर्वाधार मात्रै अभाव छैन त्यहाँ शैक्षिक सामग्री समेत छैनन ।
विद्यार्थीहरु चार वर्षअघिको च्यातिएको कार्पेटमा बस्नुपर्ने बाध्यता रहेको शिक्षक नामजालीले बताए । विद्यालयको स्रोतबाट विद्यालयमा शिक्षकसम्म छैनन्, उनले भने, ‘बेञ्ज किनेर कसरी राख्नु । यो कुरा नेताको कानमा धेरै पटक पुगे पनि सुन्नु भएको छैन नेतालाई हेलिकोप्टरबाट झर्दा रातो कार्पेट चाहिन्छ, यता ग्रामीण बस्तीका विद्यालयमा ओछ्याउने सस्तो कार्पेट नपाएर चिसोमा ढुङ्गा ओछ्याएर बस्नुपर्ने बाध्यता छ ।’
विद्यार्थी अभिभावकसँगै भारत जान्छन्
२०६२ सालमा तत्कालिन विद्रोही माओवादीले बसाएको यो बस्तीका सबै जसो परिवार भारत नगए चुलो बल्दैन । इखेनी बस्तीका एक सयभन्दा बढी विद्यार्थी अध्यनरत छन् । घरको आर्थिक अवस्था कमजोर भएकै कारण यहाँका ३० प्रतिशत बालवालिका भारत जाने गरेको शिक्षकले बताए ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण अभिभावकसँगै भारत जाने गर्छन,’ शिक्षकले भने, ‘एकसय चारजना मध्य ८५ जना मात्र विद्यालयमा उपस्थित हुन्छन् । छ महिना घरदेश छ महिना परदेश जाने क्रम छ ।’