जहाज अपहरण गर्ने योजना बनाएपछि गिरिजा बनारस गए । एकाबिहानै उनी छतमा यताउता घुमिरहेका थिए । नोनाले सोधिन्, "गिरिजाबाबु किन, के भयो ? भन्नुस् न । गिरिजाले भने, "भन्दिनँ, तपाईं फेरि सान्दाजुलाई सुनाइहाल्नुहुन्छ ।
गिरिजाले भनेका छन्, 'भाउजूले भन्नुभयो म भन्दिनँ । मैले भने- मैले प्लेन अपहरण गर्ने योजना बनाएँ । भाउजूले भन्न थाल्नुभयो गिरिजाबाबु, तपाईं यो काम गर्नुभन्दा पहिला एक पटक सान्दाजुलाई सोच्नुस् । मैले भनें- ठीक छ म सोध्न त सोध्छु । तर एउटै सर्तमा, उहाँले नमाने पनि म अपहरण गर्छु ।
त्यस बखत गिरिजा विमान अपहरण गर्ने अन्तिम निष्कर्षमा पुगिसकेका थिए । प्रधानमन्त्री र राष्ट्रप्रमुखको समेत जिम्मेवारीमा रहेका बेला २०६४ साल भदौमा प्रधानमन्त्री निवास बालुवाटारको क्याबिनेट मिटिङ हलमा गिरिजाले लेखकलाई सुनाए, 'अकस्मात् बिनाखबर, राति म दार्जिलिङ पुगेको देखेर सान्दाइ छक्क पर्नुभयो ।
सुत्ने तरखरमा हुनुहुन्थ्यो । ए तँ आइस् भन्नुभयो मैले भने, "हो सान्दाइ म आएँ । क्रान्ति गरिरहेका छौ । पैसा छैन । एक पटक बम्बैको व्यापारीले सुन पास गराइदेऊ एकचौथाइ दिन्छु भनेको थियो । त्यो पनि नगर्ने भन्नुभयो । अर्को पार्टीले युरेनियमको कुरा गन्यो, त्यो पनि
सान्दाइले मान्नुभएन । म अब हाइज्याकिङ गर्ने निर्णयमा पुगे, सान्दाइ भाइको कुरा सुनेर बीपी चकित भए । एकछिन सन्नाटा छायो । अनि बीपीले गिरिजालाई तीन ओटा प्रश्न सोधेः
बीपी :सुवर्णजी के भन्नुहुन्छ ?
गिरिजा : रिसाउनुहुन्छ ।
बीपी : भारत के गर्छ ?
गिरिजा : त्यति कडाइ गर्दैन ।
बीपी : सफल हुन्छस् कि हुँदैनस् ?
गिरिजा : हाइज्याकरले ल्याइदिन्छ । मेरो काम ठाउँमा पुऱ्याउने हो । त्यो काम पनि म भरसक सफलतापूर्वक गर्न सक्छु होला । सफलै होला । तर त्यो ठाउँबाट पैसा ल्याउने काम तपाईको हो, सान्दाजु ।
बीपी : हुन्छ ।
बीपीको ग्रिन सिग्नल पाएसँगै उत्साहित उनी राति नै त्यहाँबाट हिँडिहाले । अपहरणको तयारीमा लागे । ती दिन बीपी के होला कसो होला भनेर सोचमग्न रहन्थे । सफल भएन भने पार्टीलाई कस्तो असर गर्ला ? बीपी फारबेसगन्जबाट आउने सूचनाको प्रतीक्षामा थिए । गिरिजाले लेखकसँग भनेका छन्, मन्दिर नगए पनि सान्दाइ धार्मिक हुनुहुन्थ्यो । अपहरणको दिन बिहान नोना भाउजू विश्वनाथजीको मन्दिर जाँदै गर्दा सान्दाइले सोध्नुभयो कहाँ जान लागेकी नोना ?
नोना विश्वनाथजीको दर्शनमा । प्लेन अपहरण हुँदै छ आज । त्यसको सफलताका लागि प्रार्थना गर्न जाँदै छु, सान्दाजु ।
उनी फर्किएपछि बीपीले चासोका साथ सोधे - विराटनगर र फार बेसगन्जमा के भइरहेको होला ? बीपी बेचैन थिए ।
बीपी : नोना, के भयो भन त विश्वनाथजीको मन्दिरमा ?
नोना : मैले विश्वनाथजीको दर्शन गर्दैगर्दा एउटा फूल झर्यो । त्यही लिएर आएकी छु, सान्दाइ ।
त्यो फूल बीपीलाई दिँदै नोनाले भनिन्, 'विश्वनाथजीसँग मिसन सफलताको कामना गरे । मलाई अपहरण सफल हुने सङ्केत मिलेको छ । नोनाको कुरा सुनेपछि बीपी मुस्कुराए । धर्म, कर्म र कर्मकाण्डमा विश्वास नगर्ने बीपीसमेत भित्री रूपमा धार्मिक नै थिए । हुन त २००१ सालमा उनले पिताजीको निधन हुँदा काजक्रिया गर्न पाएनन् ।
पटनामा रहेका उनलाई तत्कालीन ब्रिटिस सरकारले सहरबाहिर जान नपाउने गरी प्रतिबन्ध लगाएको थियो । त्यस दिन फारबेसगन्जमा गिरिजा चक्र बास्तोलाका साथ जगदीश मिलमा जहाजको प्रतीक्षामा थिए ।
जहाज ल्यान्ड गर्नासाथ १०-१० लाख भारतीय रुपैयाँ राखिएका तीन ओटा बाकस झिकियो । त्यो कामका लागि विनोद अर्यालको नेतृत्वमा सुशील कोइराला (पूर्वप्रधानमन्त्री). मनोहरि बराल र चालक वीरु लामा खटिए ।
(यो लेख त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं पत्रकार जगत नेपालले लेखेको ‘बीपीको विद्रोह’ पुस्तकबाट।)