इस्ट इन्डिया कम्पनी सरकारका काठमाडौँ प्रतिनिधिले नेपाल विरोधी गतिविधि गर्न खोजेपछि ब्रिटिश रेजिडेन्सीका व्यक्तिहरूलाई घुमफिरमा प्रतिबन्ध लगाइएछ ।
बेलायतले इस्ट इन्डिया कम्पनीमार्फत भारतमा शासन गरेको बेला ब्रिटिश सरकारको प्रतिनिधि (रेजिडेन्ट) दलबलसहित नेपालमा बस्थे । ब्रिटिश रेजिडेन्सी लैन (हालको लैनचौर) मा थियो । त्यहाँ बस्ने अङ्ग्रेजहरू काठमाडौँ उपत्यकाको चारभञ्ज्याङभित्र स्वच्छन्दता साथ घुम्न पाउँथे । नेपालीहरूलाई पनि त्यहाँभित्र पसेर घाम ताप्न, सुस्ताउन छुट थियो ।
तर, प्रधानमन्त्री जङ्गबहादुर राणाले विसं १९२१ असारदेखि रेजिडेन्सी अन्तर्गतका सम्पूर्ण व्यक्तिलाई स्वतन्त्र घुमफिरमा प्रतिबन्ध लगाए । नेपालीहरूलाई पनि रेजिडेन्सीभित्र जान रोक लगाइयो ।
ब्रिटिश रेजिडेण्ट कर्णेल जर्ज न्यामजेले नेपालीलाई नै गुप्तचर खटाएर नेपाल सरकार विरोधी काम गर्न खोजेको थाहा भएपछि श्री ३ जङ्गबहादुरले त्यस्तो कडाइ गरेका रहेछन्। न्यामजेले यस्तो गैरकूटनीतिक काम त्यसअघि पनि गरेका रहेछन् ।
खासमा नेपालभित्र विभिन्न चलखेल गर्न नै कूटनीतिक सम्बन्धको आवरणमा ब्रिटिश रेजिडेन्सी स्थापना गरिएको थियो । औपनिवेशिक शक्तिलाई कूटनीतिक मर्यादाको ख्याल के हुँदो हो ।
रेजिडेन्सीमार्फत दरबारमा चलखेल गर्ने, विभिन्न व्यक्तिलाई उचाल्ने वा च्याप्ने, भोटबारे चासो राख्ने इस्ट इन्डिया कम्पनी सरकारको काम थियो । पुराना व्यापारी देवशङ्करलाल श्रेष्ठ भन्ने गर्थे, "भोटसँग लडाइँ गराउन वा बीचैमा रोक्न अङ्ग्रेज सरकारकै भूमिका हुन्थ्यो ।" ब्रिटिश सत्ता नेपालबाट अर्को देशमा काम गर्दो रहेछ ।
एकपटक इस्ट इन्डिया कम्पनी सरकारले नेपाललाई भोटसँग लडाइँ गराउने निर्णय गरेछ । त्यसका लागि नेपाल सरकारले आवश्यक रसदपानीको बन्दोबस्त गरेछ तर, अन्तिम घडीमा त्यो योजना ब्रिटिश सरकारले नै रद्द गराएछ ।
स्थानहद तोकेपछि असन्तुष्टि
काठमाडौंस्थित ब्रिटिश रेजिडेन्सीले विभिन्न परिदृश्य बुझ्न र रणनीति बनाउन धेरै ठाउँ घुम्नु उसको कामै थियो त्यस्तो स्वच्छन्दता उपभोग गरिरहेको स्थितिमा जङ्गबहादुरले स्थानहद तोकेर रेजिडेन्सी क्षेत्रबाहिर जान प्रतिबन्ध लगाइदिएपछि रेजिडेण्ट न्यामजे क्रूद्ध हुने भइहाले ।
उनले नेपाल सरकारको उक्त कदमबारे ६ जुलाई १८६४ मा भारतको ब्रिटिश सरकारलाई लिखित गुनासो गरेछन् प्रधानमन्त्री जङ्गबहादुरले हाम्रो स्वतन्त्र विचरण गर्ने अधिकार खोसे ।"
रेजिडेन्सीका अङ्ग्रेजहरू बेलाबेला विभिन्न निहुँ झिकिरहने गर्दा रहेछन् । उनीहरू बाटोमा हिँड्दा पनि बटुवाहरूले सलाम गरून् भन्ने चाहँदा रहेछन् बाटोमा नेपालीहरूले हामी अङ्ग्रेजलाई स्यालुट गरेनन् भनी एकपटक रेजिडेन्सीले कम्पनी सरकारलाई रिपोर्ट गरेछ । यसबारे कम्पनी सरकारका भारतमा रहेका मूल व्यक्ति अर्थात् भायसरायले नेपाल सरकारसँग सोधखोज गरेछन्
यसको जवाफमा यहाँका श्री ३ ले हाम्रा मानिस सबै पढेलेखेका र जान्नेसुन्ने नभएको, बाटोमा हिड्ने अधिकांश मान्छे मूर्ख भएकाले सलाम नगरेको भन्ने व्यहोरा जानकारी गराउन आग्रह गरे रे यताका शासक स्थिति सम्हालिने हदसम्म सकभर थामथुम नै पार्न खोज्थे ।
शुरूआतमा यहाँ वैदेशिक सम्बन्धको सिलसिलामा ब्रिटिश रेजिडेन्सी मात्र थियो । भोटसँग सम्बन्ध भए पनि बेलाबेलामा दुई पक्षबीच हेलमेल र बेमेल भइरहन्थ्यो । बेलाबेला भीषण लडाइँ नै पर्थ्यो । भोटसँग लडाइँ गर्नुपर्दा चीनले भोटलाई मद्दत गर्छ कि गर्दैन भन्ने बुझेर मात्र अघि बढ्थे, नेपाली शासक
चीनसँग पनि सम्बन्ध थियो । नेपाल सरकारका प्रतिनिधिहरू राजाका शुभ सन्देश र मूल्यवान उपहारहरू चीनका बादशाह र काजीहरूका लागि लैजान्थे । चीन सरकारका प्रतिनिधिहरू पनि त्यस्तै सौगात लिएर आउँथे । भोटको बाटो हुँदै महिनौं लगाएर आउजाउ गरिन्थ्यो ।