‘त्यता होइन यता बस । त्यहाँ त छोइन्छ । यो पैसा र फलफूल यता मुर्तिमा चढाउ । अनि हात थाप म टिका र फुलपाति दिन्छु । बाबुको के थरी होला ? कोठा त खाली नै थ्यो । तर श्रीमानले अरुलाई दिइसक्नु भएछ.....’ लगायतका व्यवहारले कथित दलित समुदायलाई कथित ब्राह्मणबादले जातीय हिंसा बाहेक केही सिकाएन । त्यसैले समाजमा शिपयुक्त मानिसलाई जातीय हिंसा सिकाउने पहिलो समुदाय हो, ब्राह्मण ।
नेपालको इतिहासमा आजसम्म कुनै त्यस्तो व्यक्ति जो दलित समुदायलाई बर्षौदेखि थिचोमिचो, अन्याय गरिरहेको छ । उसलाई कानुनी सजाय दिन राज्य असफल छ । जसले समाजमा जातीय हिंसा गरिरहे । दलितमाथि सधै अन्याय अत्याचार गरिरहे ।
त्यस्तालाई बरु मिलापत्र गरेर राहत दिइयो । तर जघन्य अपराधीलाई सजाय दिइएन । समाजका अगुवा भनाउँदाहरु कानमा तेल हालेर बसिरहे । जसको उपज हो, काभ्रेका अजित मिजारको हत्या, रुकुम सोती हत्या प्रकरण र रुपन्देहीको अंगिरा पासीको आत्महत्या ।
अन्तरजातीय विवाहमा अत्याचार !
शुरुमा अगिंरा आत्महत्याकै प्रसँग कोट्याऔँ । अंगिराले आफु दलित र तल्लो तहको मान्छे रहेछु भन्ने कुरा त्यतिबेला थाहा पाइन । जतिबेला मध्यरातमा खरबारीमा बोलाउने विरेन्द्र भरले दैलो खोलेर घर भित्र लगेर परिवारका अगाडी अंगिरालाई आफ्नी बनाउन सकेनन् ।
यदी यो समाजको कुरुप अनुहारलाई मृतक पासीले राम्ररी बुझ्दि हुन् त त्यस्ता कैयौं मध्यरात खरबारीमै बित्थे होलान् । अनि त्यस्ता बलात्कारी कथित ब्राह्मणवादलाई आफ्नै हातले खुकुरी समातेर घाटी रेट्न सक्थिन होला ।
आज पासीको मृतआत्माले के सोच्यो होला ? यो संसारमा मान्छे भएर त्यो पनि एउटा गरिब र दलित समाजमा जन्म लिएर ठूलौ अपराध गरेको पीडा दलित समुदायलाई छ । जसको ज्वलन्त उदाहरण हो, अंगिरा पासी । आफू बाच्नुपर्छ भन्ने जीवन्त सत्यलाई उनले पैतालामा कुल्चिदिइन ।
अजित मिजारको हत्या
चार वर्षदेखि काभ्रेका अजित मिजारको शबले नेपालको कानुन र यहाँका घृणित मानसिकतालाई गिज्याइरहेछ । अन्तरजातीय विवाहका कारण धादिङ पुगेर पासो लगाइ आत्महत्या गरे भन्ने खबर फैलिएको चार बर्ष बित्यो ।
काभ्रेको ज्याम्दीकी कमला पराजुली १७ वर्षीय युवतीसँग प्रेम विवाह गरेका पाँचखालका १८ वर्षीय अजित गत असार २९ गते घरबाट हराएका थिए । त्यसको एक दिनपछि धादिङको गजुरीमा उनको शव फेला पर्यो ।
कक्षा १२ मा अध्ययनरत अजितले २०७३ साल असार २५ गते उनले प्रेम विवाह गर्ने कोसिस गरे, कमला पराजुलीसँग । दुई दिन जति भागेर चितवन दिदीकोमा बसे । तेस्रो दिन कमलाको माइतीबाट फोन आयो र उनीहरु पाँचखाल प्रहरी समक्षा उपस्थित भए ।
प्रहरी र कमलाका माइतीको दबाबमा बाल विवाहको डर धम्कीका साथ कमलालाई उनको गलाबाट तिलहरी फुकालेर अजितलाई फिर्ता गराइयो । त्यसको अर्को दिन २९ गते अजित घरबाट हराए । जताततै घरपरिवारले खोजी गर्न थाल्यो ।
एक दुई दिनमा अजितको शव धादिङमा भेटियो । त्यसपछि इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव निरिक्षक प्रकाश लिम्बुको टोलीले गजुरीकै स्थानीयलाई साँची राखेर मुचुल्का गरी प्राथमिक स्वास्थ्य चौकी गजुरीमा उनीहरुको भाषामा पोष्टमार्टम नै नगरी शब दरौदी खोलामा गाडियो ।
पोष्टमार्टम गरेर गाडिएको भनिएको शव मृतक अजितका आफन्तको रोहवरमा डोजरले खोलाबाट उत्खनन् गरेको थियो । साउन २ गते बेलुकातिर अजितको शवलाई शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखियो ।
तर एकपटक पोष्टमार्टम गरिसकेकोले फेरी पोष्टमार्टम गर्न नपाइने रिर्पोट दिएर अजितका आफन्तलाई फिर्ता पठाइयो । जुन झुट ठहर भैसकेको थियो । उत्खनन गरिएको अजितको शवको प्रकृती हेर्दा पोष्टमार्टम नै नगरेको कुरा सामान्य मान्छेले पनि थाहा पाउथ्यो ।
त्यसपछि राष्ट्रिय दलित आयोगले गुह मन्त्रालयमा गएर दबाब दिएपछि पुनः पोष्टमार्टमका लागि अनुमति दिइयो । साउन ५ गते शव ल्याएको तीन दिनपछि पोष्टमार्टम गरियो । पोष्र्टमार्टम रिर्पोटले भन्छ, ‘प्रहरीले आत्महत्या गरेको भन्ने कुरा झुट सावित भयो ।’
यसरी निर्ममतापूर्ण भएको घटनापछि संसद बैठकमा समेत चर्काचर्की भयो । राष्ट्रिय दलित आयोग लगायतका थुप्रै संघ संस्थालाई केही समय खुव खुराक बन्यो । तर यस घटनाको उचित छानबिन भयो । न त पीडीतले न्याय नै पाए । राज्यले अन्याय गरेपछि, छोरालाई जिँउदै मारेपछि परिवारले अहिलेसम्म शब बुझेका छैनन ।
देशभर दलित मुक्तिको आन्दोलन चल्दै गर्दा अजितको शब अहिले पनि शिक्षण अस्पतालमै बेवारिसे अवस्थामा छ ।
अंगिराको आत्महत्या !
रुपन्देही देवदहमा जेठ ९ गते शुक्रबार साँझ १३ वर्षीया अंगिरा पासी घरबाट हराइन् । गाउँलेले खोज्दै जाँदा राति ११ बजे उनी नजिकैको खरबारीमा स्थानीय २५ वर्षे वीरेन्द्र भरसँग भेट्टिइन् । विरेन्द्रलाई १३ वर्षीय बालिकालाई फकाएर शारीरिक सम्बन्ध राखेको स्थानीय बासिन्दाहरूको आरोप छ ।
सोही आरोपपछि १४ गते शनिबार गाउँले जम्माभएर वडाध्यक्ष अमरबहादुर चौधरीसहितले ‘बालिकामाथि अन्याय भएको र सजायस्वरूप अब विरेन्द्रले बालिकालाई श्रीमती स्विकार्नुपर्छ’ फैसला गरे ।
गाउँले र स्थानीय निकायका प्रतिनिधीको नेतृत्वले कथित उपल्लो जातका वीरेन्द्रले किशोरीलाई घर त लगे, तर तल्लो जातको केटी घर ल्याएको भन्दै केटाका घर परिवारले स्वीकार गरेनन् । त्यसको केही घन्टामै किशोरीको शब खोला किनारामा पासो लगाएको अवस्थामा भेटियो ।
अन्तरजातीय विवाहका कारण जीन्दगीलाई पूर्णविराम लगाएकी अंगिराले न्याय पाउने कुरामा द्धिविधा छ । प्रहरीले जाहेरी लिन नमानेपछि नै उनीमाथी अर्को अन्याय शुरु भयो । ४ दिनपछि दलित अधिकारकर्मी र पत्रकारको प्रयासले जेन तेन इलाका प्रहरी कार्यालय बुटवलले जाहेरी लियो । तर प्रभावकारी अनुसन्धान हुन सकेको छैन ।
नवराजसहित ६ जना युवाको नरसंहार !
देश अहिले कोरोना महामारीको लकडाउनमा छ । तर रुकुम पश्चिम चौरजहहारी नगरपालिका ८ सोतीमा गएको जेठ १० गते जाजरकोटका ६ जना युवाको क्रुर अमानवीय ढंगबाट हत्या भयो । हत्यापछि पनि घटना लुकाउन अनेक प्रपञ्च रचियो ।
संघीय संसदमा पूर्वगृहमन्त्री जनार्दन शर्माले आरोपितको बचाउ गरे । उनले दलितका घटना युवाहरुको हत्या भएको बोले । जुन आफैमा विरोधाभास छ ।
युवाहरुलाई कुटेर, मारेर भेरी नदीमा फालेको देख्दादेख्दै पनि घटना लुकाउन अनेक षडयन्त्र चलिरहेकै छ । जुन जति भत्र्सना गर्दा पनि कम हुन्छ । सोतीका शुष्मा मल्ललाई प्रेम गर्नु, उनीसँग विवाह गर्न खोज्नु नवराजको अपराध थियो ?
युवतीलाई दलित युवासँग प्रेम गरेको आरोपमा बन्धक बनाउन आवश्यक थियो ? युवती कथित माथिल्लो जाती र युवक कथित तल्लो जातीका भनेर मार्नैपथ्र्यो ? यसरी क्रुर अमानवीय हत्याको पूर्वगृहमन्त्री जनार्दन शर्माले जवाफ दिनुपर्छ ।
किनकी उनले नै संघीय संसदमा युवाहरु ज्यान जोगाउन भेरीमा हाम फालेका बताएका छन । युवाहरुले हाम फालेका हुन कि ? मारेर फालिएको हो ? यसको जवाफ जनार्दनले दिनैपर्छ ।
२१ औं शताब्दीको मानसिकता !
यी तीन घटनाले मलाई मात्रै होइन, धेरै दलित समुदायका मानिसलाई बेचैन बनाएको छ । घटना अनेक घटिरन्छन् । समाजमा कुनैले क्षणिक त कुनैले दीर्घकालीन प्रभाव पारेकै हुन्छन् । तर रुकुम जाजरकोट घटनाले सामाजिक सञ्जालका भित्ता भित्ता र प्रत्येक कमेन्ट कमेन्टमा वाद प्रतिवाद भइरहेको छ ।
आफ्नो छोरी चेलीले राम्रो पढोस । असल बनोस समाजमा नाम राखोस । आर्थिक भौतिक नैतिक सामाजिक हिसावले सवल वर भेटे कन्यादान गरिदिने हाम्रो नेपाली समाजको संस्कार हो । तर यति भन्दैमा हरेक व्यक्तिको नैसर्गिक अधिकार पनि हुन्छ । मेरो छोरीचेली हो भन्ने जमाना वास्तवमा आजको युगमा मानवीयता र भावनासँग जोडिएको छ ।
आजको युग नैसर्गिक अधिकारकारको पूर्ण युग हो । कहीँ कसैलाई यो वा त्यो बाहानामा केही भन्न बोल्न रोक्न छेक्न दिँदैन । यसमा संविधान देखि आयातित सँस्कार र नयाँ पुस्ता सबैले पूर्ण समर्थन गर्छ ।
तर महत्वपूर्ण कुरा काभ्रेका अजित मिजार र कमला पराजुली रुकुम जाजरकोटका नवराज विक र सुस्मा मल्ल बीच पनि त्यही संविधान देखि आयातित सँस्कार र नयाँ पुस्ता सबैले पूर्ण समर्थन गर्नु पर्ने हो । तर गरिएन । यो नै आजको २१ औँ शताब्दीको लोकतान्त्रिक गणतन्त्रका नेपालीको धज्जी हो । समग्र मानव इतिहासकै कलंक हो ।
समाजमा जातीय हिंसा गर्नेलाई राज्यले सजाय दिन सकेको छैन । बरु संरक्षण गर्दै आएको छ । अपराधीलाई संरक्षण गर्ने र पीडितलाई मिलापत्र गर्न बाध्य पार्ने मानसिकताकै उपज हुन, अजित, अंगिरा र नवराज हत्या प्रकरण । यदि जातीय हिंसा मच्चाउनेलाई कानुनी कठघरामा उभ्याएको भए आज यति क्रुर घटना हुदैन थिए ।
आज देशका कुना कुनामा जातीय हिंसाकाविरुद्ध खुब चर्का चर्का नारा लगाइएका छन् । कथित बुज्रुकहरु यो जातीय हिंसाका विषयमा चुइक्क बोलेनन् । जसले लकडाउनको अघिल्लो साँझसम्म चोकमा सेकुवा खाँदै खुब क्रान्तिका गफ हाक्ने गर्थे ।
जातीय विभेदको अर्थ राजनीति !
यो समाजमा जातीय मात्र होइन । वर्गीय खाडल पनि ठुलै छ । जातीय द्धन्द्धमा मारिएका अजित मिजार होस वा नवराज विक । उनीहरु दुबैको आर्थिक हैसियत औषत छ । उनीहरु बाजा बजाएर बिहे गर्न असक्षम थिए । र त भागेर बिहे गर्न खोज्दा आज यो परिणाम आयो । जसले समाजमा अर्को जातीय हिंसा फैलिने खतरा छ ।
आजको दिनमा हरेक ब्राह्मण क्षेत्री मित्रहरुलाई खुब पिरलो छ, आरक्षणको । आरक्षणका खातिर अदृश्य लडाइ पनि भयो । बाहुन क्षेत्री पनि नेपालका आदिवासी हुन् राज्यले घोषणा गर्नुपर्छ भनेर ।
तर आरक्षण तिनका खातिर थियो । जो हिँजोको राज्य व्यवास्थाको मुलधारमा आउन नसकेका र नसक्नुका पछाडी त्यो सामाजिक व्यवस्था जसले शिक्षामा वञ्चित गरेको थियो । सामाजिक नेतृत्वमा वञ्चित गरेको थियो ।
अन्यायका विरुद्धमा बोल्न वञ्चित गरेको थियो । त्यस्तो व्यवस्था कसले गर्यो रु जो हिजो समाजका शिक्षित समाजका अगुवा थिए । तिनले यस्तो अमानवीय रटान लगाए ।
संस्कृत मात्र त्यस्तो शिक्षण माध्यम थियो । जुन संस्कृत ब्राह्मणबाहेक अरुले सुन्दा पढ्दा पाप लाग्छ भनेर रटान लगाए । समाजका बैठक भेलामा ताली मात्र पिट्न लगाए ल्याप्चे मात्र धस्न लगाए ।
आफू नेतृत्वमा पुगेपछि उनीहरुले कहिल्यै गरीबका बारेमा सोचेनन् । जसले वर्षको एक बोरा धान र मकैका भरमा वर्षभरी आरन चलायो । त्यही एक बोरा धान र मकैका भरमा लुगाफाटो टाल्दिन कल चलायो अनि त्यही एक बोरा धान र मकैका भरमा आरा चलायो ।
सायद त्यो आरन, कल, आरोसँगै कलम पनि चलाउन पाएको भए आजको राज्य व्यवस्थाले न त आरक्षणको आरम्भ गर्नु पर्थ्यो । न त मेरो हितैसी मित्रले सामाजिक सञ्जालमा आरक्षण बन्द गर्नु पर्छ भनेर रोइलो गर्नु पर्थ्यो । मित्र, त्यसैले यस्तो अमानवीयताको दोष तिम्रा पूर्खाले उहिल्यै गरे । जसलाई ब्राह्मणवाद भनिन्छ ।
जुन आजको २१औं शताब्दिमा समेत चोकका भट्टि, सेकुवाको ठेला बाहेक घुम्टि घुम्टिमा व्याप्त छ । त्यति मात्रै होइन, मुलत केही मान्छेको स्वरुप भएकाको दिमागमा छ । जबसम्म दिमागको यो घृणित सोच बदलिन्न । तबसम्म समाजको संरचना र मानसिकता बदलिदैन ।
तर पनि समाजमा पछाडी पारिएको दलित समुदाय आशावादी छ । अस्तिको बाजेको पालामा भन्दा हिजोको बाउको पालामा केही सुधार छ । हिजो भन्दा आज झन केही बदलिएको छ ।
यसप्रति दलित समुदाय आशावादी छ । भोलिका दिनमा यो अवस्था झन् सुधार होला भन्ने आशा छ । यसो भन्दैमा यो समुदाय आफ्नो अभियान छोडेर बस्यो भने पक्कै समाजमा पुन कुसंस्कार बढेर जानेछ ।
त्यसैले समुदायले समाजमा खबरदारी गरिरहन पर्छ । हालै नेपालमा बजेट भाषण भयो । मैले थुप्रै साथीहरुका स्टाटस पढें साथीहरुले खुबै महत्वपूर्ण शब्द चयन गरेर आफ्नो क्षेत्र, संस्था, निकायमा बजेट परेन भनेर गुनासो गरिरहेका छन ।
आज जातीय हिंसा, दलित मुक्तिको आन्दोलनमा तिनै व्यक्ति अग्रपंक्तिमा छन । जो खाडीका विभिन्न देशमा, भारतका विभिन्न शहरमा, आफूलाई फलाना बहादुर भनेर पाएको उच्च सम्मानको सदुपयोग गरिहेका छन ।
बाहिर देशमा सम्मान पाउँदा आफ्नै देशमा भने घृणा र पीडा पाउनु परेको छ । त्यसैले यो समाजका हरेक वर्ग, समुदाय, क्षेत्र र सम्प्रदायका मानिसलाई एक हौँ भन्ने सोचको विकास गरौँ ।
त्यसका लागि सहिष्णुतालाई अंगालौं । त्यस पछि न त कोही अजित मिजार बनेर मारिनपर्छ । न त कोही नवराज र अंगिराले झै मृत्ुयुवरण स्वीकार्नुपर्छ । आफुलाई नेपाली हुनुमा गर्व गरौं । नेपाली भेटेपछि सम्मान गरौं । जातको नाममा घमण्ड नगरौँ । जातमा नाममा राजनीति, हिंसा र विभेद झन गर्दै नगरौँ ।