काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन पुस ११ गतेदेखि काठमाडौँमा जारी छ । महाधिवेशनको आठौँ दिनसम्म पनि माओवादीको नयाँ नेतृत्व चयन हुन सकेको छैन । यो महाधिवेशनमा माओवादीका दुई नेता एकदमै चर्चामा छन् । पहिलो प्रचण्ड, दोस्रो जनार्दन शर्मा । जनार्दन महासचिवको दाबेदार छन् । तर यी दुई पात्रको बिचमा पिल्सिएका पात्र हुन्, शक्ति बस्नेत । जो पदाधिकारीको चर्चामा त छन् तर चर्चायोग्य पात्र हुन् वा होइनन् भन्ने विषयमा कार्यकर्तामा अन्यौल छ ।
कार्यकर्ताले आठौँ महाधिवेशनमा अध्यक्षमा प्रचण्डको विकल्प छैन भनिरहेका छन् । अन्य पदाधिकारी र नेताले केन्द्रीय नेतृत्वमा पुग्न आ–आफ्नो कसरत सुरु गरिरहेका छन् ।
सबभन्दा ठुलो कसरत महासचिव पदमा चलिरहेको छ । हाल महासचिवमा चार जनाले दाबी गरेका छन् भने अन्यले पछि दाबी गर्न पनि सक्छन् ।
जनार्दन शर्मा, शक्ति बस्नेत, वर्षमान पुन र पम्फा भुसालले महासचिवमा दाबी गरेका छन् । जसमध्ये अध्यक्ष प्रचण्डले कसलाई महासचिवमा ल्याउन बल गर्छन् ? कार्यकर्ताका लागि चाँसोको विषय छ ।
महासचिवमा चाँसो देखाएका चारमध्ये जनार्दन शर्मा बलियो छन् । अर्थात् पछिल्लो समय अध्यक्ष प्रचण्डको विश्वासिलो पात्र उनै बन्न पुगेका छन् । त्यहीँ विश्वासिलो पात्र भइएकै कारण माओवादी संगठन हाँक्ने जिम्मा जनार्दनले पाएका थिए ।
जनयुद्धदेखि नै अध्यक्ष प्रचण्डको समीपमा रहेर माओवादी भित्र वर्चश्व जमाउने मध्येका जनार्दन शर्मा मात्रै होइनन्, कर्णालीका अर्का नेता पनि छन्, जसको नाम हो शक्ति । उनले पनि महासचिवमा दाबी गरेका छन् ।
शक्ति युद्ध बेला प्रचण्डको निकै नजिक थिए । अध्यक्ष प्रचण्डसँग जुनसुकै बेला आफ्नो निर्णय गराउन सक्थे । त्यसैको फल र बलले उनी गृहमन्त्री मात्रै भएनन्, ओली सरकारको पालामा वनमन्त्री समेत भए । तर उनले त्यो सम्बन्ध प्रचण्डसँग कायम गर्न भने सकेनन । शक्ति बस्नेत ओली सरकारकै पालामा प्रचण्डको ‘रिङ’बाट आउट भए थिए ।
पछिल्लो समय अध्यक्ष प्रचण्डले जनार्दन शर्मालाई विश्वास गर्न पुगे । जसकारण जनयुद्धदेखि नै हात र साथमा रहेका वर्षमान पुनलाई समेत प्रचण्डले जनार्दन जति विश्वास गर्न सकेनन् । माओवादी केन्द्रमा सबैभन्दा बढी प्रचण्डले भरोसा गर्ने व्यक्तिका रुपमा जनार्दन देखिएका छन् । त्यसैले पनि महासचिवमा प्रचण्डको पहिलो नजर जनार्दनमाथि हुनेछ ।
किनकी जनार्दनले त्यो विश्वास कायम गरेका छन् एमालेसँग एकता गर्दा होस् या बाहिर भित्र अध्यक्ष प्रचण्डको बचाउ गरेर उनको विश्वास जित्ने काम गरेका छन् ।
त्यसकारण पनि प्रचण्डको पहिलो नजरमा महासचिव जनार्दन शर्मा हुन् । यस्तै प्रचण्डको दोस्रो नजरमा वर्षमान पुन र पम्फा भुसाल आउँछन् । चुनावी प्रक्रियामै गएपनि शक्तिसँगै भने माओवादीको शक्ति छैन । यसकारण कर्णाली प्रदेशबाट चुनिएकी अध्यक्ष विमला केसीले पनि जनार्दनका लागि बल गर्ने हुन् । शक्तिका लागि होइन ।
शक्ति यतिबेला कम्तीमा जनार्दनको छेउछाउ पुग्नका लागि पदाधिकारीमा दाबी गरिरहेका छन् । तर उनी जनार्दन बराबर पदाधिकारीमा आउन भने सक्दैनन् । तर पनि उनको दाबी छ ।
यो भनेको आफू शक्तिमै छु भन्ने शक्ति बस्नेतको दाउ मात्रै हो । भित्री रुपमा भने उनको शक्ति खोक्रो बनिसकेको छ । पार्टी कार्यकर्तालाई विश्वासमा राख्न नसकेका शक्ति नेतृत्वसँग पनि दुरी बढाइरहेका छन् । जसले उनको पदाधिकारी सम्भावना ओझेलमा पारिरहेको छ । उनको बाँकी शक्ति चाँही महाधिवेशनपछि मात्रै देखिएला ।