जाजरकोट : नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति सशी बुढा, भेरी नगरपालिकाकै निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १३ जनालाई जुवाको खालबाट प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान करिब ३ बजेको समयतिर जुवा खेलिरहेको बेला भेरी नगरपालिका–४ गैरीखालीस्थित सन्तोष श्रेष्ठको घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार, जुवा खालबाट नेपाली कांग्रेस भेरी नगरपालिका सभापति बुढा, प्रशासकीय अधिकृत घर्तीसहित १३ जनालाई २ लाख ५२ हजार नगदसहित पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सभापति बुढा, प्रशासकीय अधिकृत घर्ती, भेरी नगरपालिका – ४ का सचिव प्रचण्डजंग शाह, भेरी नगरपालिका – ८ बस्ने वर्ष २५ को जिवन खत्री, भेरी नगरपालिका – ४ बस्ने प्रभात केसी, भेरी नगरपालिका–४ बस्ने सन्तोष श्रेष्ठ, भेरी नगरपालिका– ४ बस्ने निराजन भडेल, छेडागाड नगरपालिका–१३ बस्ने कर्णबहादुर खड्का, छेडागाड नगरपालिका–५ बस्ने प्रकाशमान सिंह, छेडागाड नगरपालिका–१० बस्ने प्रशुराम गिरी, कुशे गाउँपालिका–९ बस्ने दिकपाल आरसी, रुकुम पश्चिम चौरजहारी नगरपालिका– ६ बस्ने विकास विक, चौरजहारी नगरपालिका– ३ बस्ने बालकृष्ण बुढाथोकी रहेका छन् ।
उनीहरुबाट २ लाख ५२ हजार नगद बरामत गरेपनि जुवा खेल्दा उनीहरुले मोबाइल बैंकिङको प्रयोग गरेकाले अन्य रकम पनि हारजित भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताए ।