सिमकोट ; प्रत्येक वर्ष पौष कृष्ण औंसीका दिन मनाइने भुवो पर्व हुम्लाका सात वटा पालिका मध्ये छ वटा गाउँपालिकामा धुमधामका साथ मनाइएको छ । औंसीको अघिल्लो रात रातभरी आगो बालेर जाग्रम बसी स्थानीय मिलेर मनाएका हुन् ।
सिमकोट गाउँपालिका–२ ठेहे गाउँका जय भण्डारीले हुम्लाको ठुलो पर्वमा पर्ने भुवो धुमधामका साथ मनाउन सुरु भएको बताए । घरघरबाट सल्लाको दियालो बालेर निस्कने स्थानीयले गाउँको सार्वजनिक स्थलमा गीत गाउँदै–गाउँलेले जम्मा गरेको दाउरा बालेर रातभरी जाग्रम बसेका थिए ।
उनले गाउँका बुढापाका र युवाहरु मिलेर रातभरि गीत गाउनुका साथै महिलाहरु आगो तापेर गीत सुन्न गरेको जनाए । एक आपसमा सम्वन्ध प्रगाढ बनाउनका लागि पनि गाउँका लोग्ने मानिस मिलेर गीत गाउन गरिएको विश्वास गरिन्छ । युवाहरु दिउँसो वनमा गएर दाउराका लागि काठमा मुढा ल्याएर राती दश बजेपछि त्यसलाई घरघरबाट ल्याएको दियालो सल्काएर बाल्ने गरिन्छ ।
युवा युवतीहरु रातभरि डेउडा गीत पनि गाउने गर्छन् । घरघरमा मिठो परिकारका खोनेकुरा पकाएर आफन्त तथा नातेदार र टाढाको गाउँबाट रमाइलो हेर्न आएका मानिसलाई पनि बोलाएर खुवाउने गरिन्छ ।
यता सर्केगार्ड गाउँपालिका–३ उनपानी गाउँका दाने फडेराले रातभरि गीत गाएर जाग्रम बसेका स्थानीयले बिहानै तातोपानीमा गएर नुहाइ धुवाइ गरेर आफन्तलाई ढोगभेट गर्ने गरिएको बताए ।
अघिल्लो रात बालेको आगो तीन दिनसम्म बल्ले गर्छ । आगो तापेर जाग्रम बस्ने स्थानीय औं दिन पनि डेउडा गाएर रमाइलो गरिन्छ । यो पर्व सिमकोट, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोटका प्रत्येक वस्तीहरुमा धुमधामका साथ मनाइन्छ । टाढाकी छोरी चेलीलाई पनि पर्वको अवसरमा माइतीले बोलाउने गरिन्छ ।