अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्दा रुकुम पश्चिमको सोतीमा जाजरकोट रानागाउँका नवराज विकसहित ६ जनाको मृत्यु भयो । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा जेठ १० गते घटेको घटनाबाट अहिले देश विदेशमा रहेका नेपाली स्तब्ध छन । सडक आन्दोलन चलिरहेको छ । घटना रुकुममा भएपनि मृत्यु भएका युवाहरुको शब जाजरकोटमा फेला पर्यो । जातीय विभेदका नाममा भएको नरसंहारको अनुसन्धान गर्ने जिम्मा जिल्ला प्रहरी जाजरकोटलाई पनि लियो ।
शब खोज्ने, उठाउने, मुचुल्का तयार पार्ने र दोषीलाई कारबाहीका लागि उठेको आन्दोलनको आवाज सुन्ने काम पनि जाजरकोट प्रहरीको काँधमा आइलाग्यो । सोती घटना घटेको दुई हप्तापछि पनि जाजरकोट अशान्त छ । अधिकारकर्मी र पीडित परिवारको आवाज झन बुलन्द बन्दैछ । यस्तो अवस्थामा सोती घटनाको अनुसन्धान कसरी चलिरहेको छ त ? कर्णाली खबरका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक डिएसपी किशोर कुमार श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अशः
सोती घठनाको अनुसन्धान कहाँ पुग्यो ?
अहिले अनुसन्धानमै छौँ । अनुसन्धान सकिएपछि मात्रै दोषी को हो ? कसरी घटना घट्यो थाहा हुन्छ । अहिले अनुसन्धान भइरहेकाले यो भन्दा बढी बोल्म मिल्दैन ।
रुकुम पश्चिम चौरजहारी ८ सोतीका वडाध्यक्ष डम्बर मल्लको घटनामा प्रत्यक्ष संलग्नता छ भन्ने आरोप छ । अनुसन्धानबाट केही पत्ता लाग्यो ?
यो पनि अनुसन्धान प्रक्रियामै छ । अनुसन्धान सकिएपछि थाहा होला । तर बाहिर सुनिएको र घटनाको प्रकृति हेर्दा उनको सलंग्ता हो की ? भन्ने हाम्रो पनि अनुमान हो । अनुसन्धान सकिएपछि मात्रै यो विषय एकिन गर्न सकिन्छ ।
शबको प्रकृति हेर्दा लखेटेर कुटपिट गरेपछि मारेर मात्रै फालिएको जस्तो देखिन्छ । वास्तविकता के हो ?
शब भेटिएपछि मुचुल्का उठाएर जिल्ला अस्पताल राखिएको हो । शबको पोष्टमार्टम गरिएको छ । रिर्पोट आउँछ । रिर्पोट आएपछि धेरै कुरा त्यसबाट थाहा हुन्छ । । शब सबुत प्रमाण हो । शबले नै घटनाको वास्तविकतासम्म पुग्न सहयोग गर्छ । शब जस्तो अवस्थामा जसरी भेटिएका छन । यसले घटनाको गहिराईमा पुग्न सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास छ ।
सोती घटनामा बेपत्ता छैटौ युवा गोविन्द शाहीको शब १० दिनपछि भेटियो । उनको शबको प्रकृति हेर्दा मारेर, कतै गाडिएको र पछि मात्रै नदीमा फालिएको जस्तो देखिन्छ ? प्रहरीले यसलाई कसरी हेरेको छ ?
तपाईका सबै प्रश्नको जवाफ अनुसन्धानमा छ । अनुसन्धान सकिसकेको छैन । गोविन्द शाहीको शब मात्रै होइन, हरेक शबको आफ्नै प्रकृति र घटनाक्रम छ । तर त्यो सबै वास्तविकता अनुसन्धान सकिएपछि मात्रै खुल्छ ।
सरकारले जुन उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । समितिले काम गरिहेको छ । यो कतै प्रहरीको अनुसन्धानलाई प्रभावित पार्ने काम त होइन ?
सरकारले गठन गरेको छानबिन समिति र प्रहरीको आ आफ्नै काम छ । दुबै पक्षले आ आफ्नो ढंगबाट अनुसन्धान गरिरहेका छन । छानबिन समितिले गरेको कामले प्रहरीको अनुसन्धानलाई पनि सहयोग पुर्याउँछ । प्रभावित पार्ने होइन सहयोग गर्ने हो । अनुसन्धान जारी छ ।
दोषी कहिले सार्वजनिक गरिन्छ ? कि घटना यत्तिकै ढिसमिस हुने हो ?
हामीले अनुसन्धान पूरा गरेर सम्मानित अदालतलाई बुझाउने हो । सम्मानित अदालतले जे फैसला गर्छ । त्यही हो । दोषी हामीले मात्रै सार्वजनिक गर्न मिल्दैन । अनुसन्धानपछि मात्रै थाहा हुन्छ ।
घटनालाई तोडमोड गर्न राजनीतिक दबाब कत्तिको आइरहेको छ ?
यस्तो जघन्य अपराधमा नेपाल प्रहरीलाई हिजो पनि दबाब आएको छैन । आज पनि आएको छैन । नेपाल प्रहरीले राजनीतिक दबाबबाट प्रभावित भएर अनुसन्धान गर्दैन । प्रहरीका लागि पीडितलाई न्याय र दोषीलाई कारबाही गर्ने लक्ष्य हो ।
यो घटना पनि कतै निर्मला पन्त प्रकरण जस्तै रहस्यमय पार्ने त होइन भन्ने आशंका बाहिर छ, के भन्नुहुन्छ ?
यो घटना अरुभन्दा फरक प्रकृृतिको घटना हो । यो घटनालाई अन्य घटनासँग नजोड्न मेरो आग्रह छ । प्रहरीले आफ्नो विवेक प्रयोग गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धान जारी छ । अरु घटनासँग जोडेर प्रभावित हुने कुरा कल्पना पनि नगरौँ ।
अन्त्यमा, यो घटनाका आरोपितलाई राजनीतिक संरक्षण छ भनिन्छ ।
यस्तो अवस्थामा पीडितले कसरी न्याय पाउँछन ?
घटना घटेलगत्तै प्रहरीले अनुसन्धान शुरु गरिसकेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले मुद्दा दर्ता गरिसकेको छ । भेरी नदीमा भेटिएका शबको मुचुल्का उठाएर पोष्टमार्टम गरिसकेको छ । पोष्टमार्टम रिर्पोट रुकुम प्रहरीलाई उपलब्ध गराउँछौँ । अहिले घटना अनुसन्धानमै छ । अनुसन्धानमै रहेको घटना तोडमोड गरेर मिडियामा आउनु भएन । ढिलोचाँडो पीडितलाई न्याय मिल्छ । दोषीलाई कारबाही हुन्छ ।