काठमाडौँ : एक वाक्यमा भन्दा माओ चिनियाँ नागरिक हुन् । जसले चीनमा क्रान्ति गरिदिए । क्रान्ति गरेर सत्ता उल्टयाए । जनताको आधारभूत आवश्वयकता पुरा गरेर आफूलाई जनवादको नायक बनाए । चीनमा माओलाई भगवान ठान्छन् । क्रान्तिको नायक भन्दै सम्मान गर्छन् ।
माओवाद विचारधाराबाट प्रभावित भएर नेपालमा प्रचण्डले पार्टी खोले । नाम नेकपा माओवादी राखियो । जसले देशमा माओकै शैलीमा जनयुद्ध थाल्यो । त्यही जनयुद्धमा टेकेर माओवादीले संघीयता ल्यायो । गणतन्त्र ल्यायो । नेपालमा आवश्यक व्यवस्था बदलिदियो ।
तर जनताको अवस्था बदलिएन । नेपालमा हतियार उठाएर क्रान्ति गरेको माओवादी सत्तामा पुुगेको एक दशकमै टुक्रियो । चिरा चिरा भयो । माओवादी पार्टी त भयो । तर विचार शून्य भयो । पैसा र चाकरी जसले गर्छ, उसैलाई मात्रै आफ्नो ठान्ने माओवादी प्रवृत्ति हावी भयो ।
जुन आज पर्यन्त छ । हालै माओवादीले आठौँ महाधिवेशन सम्पन्न गरेको छ । तर घोषित केन्द्रीय सदस्यबाहेक माओवादीले महाधिवेशनको औचित्य सावित गर्न सकेन । बर पैसा र चाकडी गर्नेलाई पहिलो प्राथमिकतामा राखेर केन्द्रीय सदस्यलाई टीका लगाइयो ।
यति मात्रै होइन, माओवादीले कर्णालीमा प्रदेश कमिटी चयन गर्दा कैयौँ सम्भावना भएका नेताहरुलाई पाखा लगाएर चाकडी गरिरहने नेतालाई पदाधिकारी बनायो । अनि आफ्नो पकडमा संगठन राख्न ऐतिहासिक अवसर भन्दै महिला नेतृत्वलाई टीका लगाइन्छ ।
जबकी महिलालाई नेतृत्व दिँदा बन्द कोठामा टिके प्रथाबाट होइन, आम कार्यकर्ताको मन बुझाए नेतृत्व हस्तान्तरण गर्नुपर्छ । त्यो पनि माओवादीमा देखिएको छैन । बरु माओको फोटो र नाममा राजनीति गरिरहेको माओवादी आफैँ विलखबन्दमा परेको छ ।
महासचिवको लागि कर्णालीबाट जनार्दन र शक्ति बस्नेतको चर्चा छ । तर उनीहरु चुनाव लडेर महासचिव बन्दैनन् । प्रचण्डको हातबाट टीका लगाएर बन्ने प्रयासमा छन् । यसका लागि जतिसूकै चाकडी हुन सक्छ । प्रचण्डले एक अर्कालाई उपयोग गर्नका लागि महासचिव बनाउँछन् । उपयोग गरेपछि फ्याक्छन् ।
समस्या यसैमा देखिन्छ । माओको विशाल आधुनिक र संसारकै शक्तिशाली चीनकै छेउमा बसेर माओवादीले पार्टी त चलाएको छ । तर पैसा र चाकडीको बलमा । जुन पार्टीमा माओकै विचारलाई मसानघाट पुर्याइएको छ । अनि कार्यकर्तालाई केवल जनयुद्धको बली चढाइएको छ ।
सत्ता, स्वार्थ र समाजवादमा त चाकडी गर्ने नेता मात्रै छन् । जो अहिले परिवर्तनका लागि होइन, पैँसाको बलमा शक्ति आर्जन गरेर राजनीति चम्काउन चाहन्छन् । जसकारण माओवादी अब पार्टी मात्रै छ । विचार छैन । भएपनि त्यो विचार भित्ताको फोटोमा सीमित छ । नेता र कार्यकर्ताको व्यवहारमा देखिदैन । जो समाजवादको नाममा आधुनिक दलालीमा रमाइरहेको छ । जसको नेतृत्व हिजोका क्रान्तिका नायक प्रचण्डले गरिरहेका छन् ।