काठमाडौँ : जुम्ला भनेकै कर्णाली । कर्णाली भनेकै जुम्ला । मल्लकालमा सिँजा शक्तिशाली राज्य भएपछि जुम्ला चर्चामा रह्यो । खस भाषाको उद्गमस्थलदेखि कर्णालीभरिकै सबैभन्दा चर्चित जिल्ला पनि जुम्ला भइरह्यो ।
अनि दुःख र जन्जीरको नाम भनेकै कर्णाली थियो । जसको नेतृत्व जुम्लाले गरिरह्यो । मल्लकालपछि बहादुर शाहले सिँजा जितेपछि जुम्ला हुँदै कर्णालीको शासन काठमाडौँले गर्न थाल्यो । काठमाडौँमा आएका शासक भने गोरखाबाट सरुवा भएका थिए । गोरखाका शासक काठमाडौँ आएर राज्य चलाए । कर्णाली ओझेलमा परिरह्यो ।
जुम्लाले झन् कर्णालीको नाम मात्रै बोकिरह्यो । प्र्र्र्राकृतिक सुन्दरता आफ्नो ठाउँमा थियो, तर वास्तविकता अर्कै थियो । दुःख, समस्या, अभाव गरिबी कर्णालीको परिचय बनिरह्यो । जसको नेतृत्व जुम्लाले गरेकै छ ।
खस भाषाको उद्गमस्थल जुम्लामा अभाव, गरिबी र समस्या धेरै छ । तर यी सबैको बाबजुद जातीय विभेद कर्णालीमा झन् धेरै छ । जातीय विभेदले जाजरकोटका नवराज विश्वकर्मासहित ६ जना युवाको रुकुममा हत्या भएको, छोराले अन्तरजातीय विवाह गर्दा सेते नेपाली मारिएको, चुलो छोइएको निहुँमा मनवीर सुनारको हत्या भएको कर्णालीमै हो ।
यस्ता दर्जनौ दृष्टान्त कर्णालीमा छन् । जातीय विभेदले बर्बरता मच्चाएको कर्णालीबाट जातको पर्खाल तोडेर जुम्लाका गोविन्द नेपालीले विद्यावारिधी गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालको दिगो विकासमा दलितको सामाजिक र साँस्कृतिक सीपको प्रयोग’ शीर्षकमा नेपालीले विद्यावारिधी गरेका हुन् । जुम्लामा जन्मेर दलित समुदायको सीप, क्षमता र सांस्कृतिक पक्षका थुप्रै विषयमा अनुसन्धान गरेका नेपाली दलित समुदायबाट पीएचडी गर्ने कर्णालीका पहिलो व्यक्ति हुन् ।
मंसिर दोस्रो हप्ता उनले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेको प्रमाणपत्र प्राप्त गरेका हुन् । झण्डै एक दशक लगाएर उनले दलित समुदायको सांस्कृतिक पक्षका विविध आयामको अनुसन्धान गरेर पीएचडी गरेका हुन् ।
साविकको चन्दननाथ गाविसको डाँडाकोटमा नेपालीको जन्म भएको हो । २०३६ सालमा जन्मेर गाउँकै विद्यालयमा पढेका उनी एसएलसीपछि पचासको दशकपछि काठमाडौँ पाइला टेकेका हुन् । सामान्य परिवारमा जन्मेर जातीय विभेदको पीँधमा रहेर संघर्ष गर्दै आएका उनी त्रिभुवन विश्वविद्यालयबाट पीएचडी पास गर्न सफल भएका हुन् ।
कर्णालीमा दलित समुदायको अवस्थाबारे गहिरो अध्ययन गरेका उनले काठमाडौँमा कर्णाली म्युजियम सञ्चालन गरेका छन् । ललितपुरको ग्वार्कोमा स्थायी बसोबास गरिरहेका उनी कर्णालीका दलित समुदायले बनाएको सांस्कृतिक सामग्रीलाई सङ्कलन गरेर विस्तृत अध्धयनन, दलित समुदायको सीप र सांस्कृतिक पक्षको अनुसन्धान गर्दै प्रचार प्रसार समेत गरिरहेका छन् ।
भाषा आयोगमा समेत बसेर विषयविज्ञको काम गरेका उनी काठमाडौँका केही कलेजमा अध्यापन गराइरहेका छन् । कर्णालीबाट पीएचडी गर्ने पहिलो दलित समुदायका डा.नेपाली आगामी दिनमा दलितको सीप, सांस्कृतिक संरचना र यसको संरक्षणमा लाग्ने बताउँछन् ।
‘जीवनको सबैभन्दा महत्वपुर्ण संघर्षको उपलब्धी प्राप्त गरेको छु,’ डा.नेपाली भन्छन्, ‘अब कर्णालीको वास्तविकता र दलित समुदायको सीप र सांस्कृतिक पक्षको संरक्षणमा लाग्नेछु । त्यो बाहेक अरु नियमित काम र गतिविधि त छँदै छन् ।