सुर्खेत : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वीरेन्द्रनगरमा नवनिर्मित सुर्खेत सभाहलको उद्घाटन गरेकी छन् । बिहीबार मन्त्री रामकुमारीले उक्त सभाहलको उद्घाटन गरेकी हुन् । हलको पहिलो चरणमा काम सम्पन्न भएपछि उद्घाटन गरेर शहरी तथा भवन निर्माण विभागले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरेको हो ।
सभाहलमा सम्मेलन लगायत सांस्कृतिक प्रदर्शनी सबै गर्न सकिने मन्त्री रामकुमारी बताइन् । “नगरपालिकाले तत्काल हल सञ्चालनको मोडालिटी बनाउनुपर्छ, यो विजनेस सिर्जना गर्न बनाइएको हल हो”, मन्त्री रामकुमारीले भनिन् । पहिलो चरणमा काम सम्पन्न भएपनि सरकारले सभाहल सञ्चालनको मोडालिटी बनाएर व्यवस्थित ढंगले सञ्चालन गरेर आर्थिक समृद्धिसँग जोड्न मन्त्री रामकुमारीको जोड थियो ।
सहरी विकास विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतले कार्यान्वयनमा ल्याएको सभाहल निर्माण योजना आर्थिक वर्ष २०७३/०७४ देखि सुरु भएको थियो । समानान्तर/चक्रेश्वरी शिवशक्ति जेभीले रु २३ करोड लागतमा पहिलो चरणमा सभाहलको निर्माण कार्य पूरा गरेको हो ।
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, सहरी विकास विभागका महानिर्देशक पदमकुमार मैनालीको उपस्थितिमा मन्त्री झाँक्रीले सभाहल व्यवस्थापनको जिम्मा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा नगर प्रमुख सुवेदीले सभाहलको दोस्रो चरणसँग सम्बन्धित निर्माण कार्यका लागि यथाशीघ्र ठेक्का प्रक्रिया थाल्न अनुरोध गरे ।
दोस्रो चरणअन्तर्गत फर्निचर व्यवस्थापन, बगैँचा, चमेनागृह निर्माणलगायत काम छन् । यसका लागि रु छ करोड लागतको अनुमान गरिएको छ । हाल बजेट अभाव भएका कारण दोस्रो चरणको काम सुरु हुन सकेको छैन । ‘सुर्खेत सभाहल’कर्णाली प्रदेशकै गरिमा भएको भन्दै नगर प्रमुख सुवेदीले यसको सञ्चालन तथा व्यवस्थापनका लागि तत्काल मोडालिटी बनाउने प्रतिवद्धता जनाए ।
सङ्घीय आयोजना कार्यान्वयन इकाइ सुर्खेतका आयोजना प्रमुख अमरबहादुर थापाले अपाङ्गतामैत्री साना ठूला गरी तीन वटा बहुउद्देश्यीय सभाहल, बैठक कक्ष, शौचालय, पर्खाल, पार्किङस्थल निर्माणका साथै खानेपानी र विद्युत् जडान कार्य सम्पन्न भएको जानकारी दिए । ।
८५० सिट क्षमता भएको ठूलो हल, १५० सिट क्षमता भएका साना दुई हल छन् । अब ती हलमा फर्निचर व्यवस्थापनको काम बाँकी छ । वीरेन्द्रनगर– ६ मा अवस्थित सुर्खेत सभाहल साढे तीन बिगाहा क्षेत्रफलमा फैलिएको छ । सभाहल हस्तान्तरण कार्यक्रमका लागि सुर्खेत आउनुभएकी मन्त्री झाँक्रीले सहरी विकास मन्त्रालयद्धारा सञ्चालित आयोजनाको अनुगमन गरेकी थिइन् ।