काठमाडौं : कर्णालीका मुख्यमन्त्री जीवन शाही दुई जना मन्त्रीलाई च्यापेर तीन महिनादेखि दौडिरहेका छन् । कहिले राजधानी काठमाडौं आउँछन् त कहिले मन्त्रीविहीनका मन्त्रालय अनुगमन गर्छन् ।
उनको कामै त्यहीँ भएको छ । जसको प्रचार छड्के भनि गरिन्छ । त्यो पनि गठबन्धनका हात साथमा । कर्णाली सरकारका लागि मुख्यमन्त्री जीवनले नेतासँग छलफल गरेर मन्त्रिपरिषद् विस्तारदेखि आवश्यक निर्णय लिन सक्थे । त्यो ल्याकत पनि उनीमा छ ।
फेरि सुन्ने गरी बेला–बेला ‘गर्छु’ भनेर चिया चोकका कार्यक्रममा गफ दिइरहेकै छन् । तर किन गरेका छैनन ? आवश्यक निर्णय किन लिन सकेका छैनन ? यसको आशय के हो ? कि ६ महिनाका लागि सरकार ढाँटेरै चलाउने ? त्यो पनि देखिदैन ।
कांग्रेस एक नेताका अनुसार, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कर्णाली सरकारबारे कुनै पनि निर्णय कर्णालीकै नेताले लिन जिम्मा दिएका छन् । ती नेता भने, ‘मुख्यमन्त्रीसहित कर्णालीमा कांग्रेसले पनि आफ्नो नेतृत्वको सरकारलाई पुर्ण रुपमै विस्तार गरेर काम कारबाही सुरु गर्न चाहेको छ ।’
प्रधानमन्त्री शेरबहादुरले कर्णाली सरकारमा मन्त्रिपरिषद् विस्तार गर्न र आवश्यक निर्णय लिन मुख्यमन्त्री र कर्णाली नेतालाई जिम्मा दिएको बुझिन्छ । र, पनि कर्णाली सरकारमा मन्त्रीविहीन मन्त्रालय छन् । जसको अनुगमन पनि मुख्मन्त्रीले गर्छन् । गठबन्धन नेतृत्वको सरकारमा नत मन्त्रिपरिषद् विस्तार छ नत जनताका सामु देखाउने आवश्यक निर्णय नै ।
कास्टिङका रुपमा दुई मन्त्री नियुक्त भएका छन् । एकीकृत समाजवादीबाट चन्द्र शाही र माओवादीबाट बिन्दमान बिष्ट । चन्दले कृषि बिन्दमानले अर्थ मन्त्रालय सम्हालेका छन् ।
उनीहरुका ती मन्त्रालय कस्ता छन् ? के गरिरहेका छन् ? सचिवालयमा को छ ? केही थाहा छैन । पहिलोपटक मन्त्री भएका चन्द्र र विन्दमानले के-के काम गरे ? थाहा छैन । भनौं गुमनाम छन् ।
यसरी सरकार किन चलिरहेका छन् ? जसको कारण के हो ? जसको कारक को हो ? कर्णालीवासीका लागि साँचोको विषय बन्न पुगेको छ ।
कर्णालीमा माओवादी केन्द्रको इन्चार्ज शक्ति बस्नेत शक्ति बस्नेत छन् । यसअघि जनार्दन शर्मा इन्चार्ज थिए । केन्द्रदेखि प्रदेशसम्म शक्तिहीन भएका शक्ति र नामका जनार्दन तर पार्टी भित्र ‘नेपोटिजम’को राजनीति गरिरहेका जनार्दन शर्माको लडाइँ भने कमको छैन । जसकारण कर्णाली सरकारमा आवश्यक निर्णय हुन सकेका छैनन ।
जतिबेला जनार्दन शर्मा माओवादी कर्णाली प्रदेशको इन्चार्ज थिए त्यतिबेला भाइ-बुहारीदेखि जनार्दनको वरीपरी घुम्नेलाईसम्म मन्त्री बनाए ।
जसले केही महिना जागिर पनि गरे । जनार्दनकै राजकाज चल्यो । शक्ति लाइनबाट मन्त्रीको लाइनमा पुगेका नेता पनि जनार्दनका कारण फुत्किन पुगे ।
तत्कालिन माओवादी नेतृत्वको कर्णाली सरकारले केही महिनापछि कांग्रेसलाई सत्ता हस्तान्तरण गर्नुपर्ने थियो । सत्ता हस्तान्तरण पनि भयो । सत्ता हस्तान्तरणभन्दा पहिले शक्ति बस्नेत कर्णालीको इन्चार्ज तोकिए ।
इन्चार्ज तोकिएपछि जनार्दनभन्दा शक्तिको राजकाज चल्नुपर्ने हो । मतलब जनार्दनको हैकम कर्णाली सरकारमाथि कम हुनुपर्ने हो ।
तर जनार्दनको हैकम कायम रहेको छ । यतिसम्मकी मुख्यमन्त्री जीवन शाहीले माओवादीबाट शक्तिभन्दा जनार्दनको अर्डर मान्न थाले ।
प्रधानमन्त्री शेरबहादुरले ‘कर्णालीको आवश्यक निर्णय कर्णालीकै नेता बसेर गर्नु’ भनेपछि कतिनै हो र ? छ महिना एक वर्षसम्मका लागि मुख्यमन्त्रीले दलका नेतासँग छलफल गरेर मन्त्रिपरिषद् विस्तारदेखि आवश्यक निर्णय गर्नुपर्ने थियो ।
तर मुख्यमन्त्रीलाई नै ‘रोक्नुहोस् कहाँ जाने होर ? पार्टीको महाधिवेशन छ । हामी महाधिवेशनमा छौं ।’ भनेर आवश्यक निर्णयमा अल्झाउनु र शक्ति लाइनका मान्छेलाई आउट गरेर आफ्ना मान्छेलाई मन्त्री बनाउने जनार्दन शर्माको दाउ छ ।
तर शक्ति बस्नेत पनि के कम ? कहिले काही सानो निर्णय वा काम गरेर इतिहास रच्न खोज्छन् । आफ्नो गुटबाट एक जनालाई मन्त्री बनाइ सकेका छन् । गुमनामै भएपनि बिन्दमान बिष्ट शक्ति लाइनबाट मन्त्री बनेका हुन् ।
यद्यपी बिन्दमान शक्ति बस्नेतको स्कुलिङका कारण शक्ति जस्तै छन् । नामका मात्रै । शक्ति र जनार्दनको लडाइँ पार्टी भित्र मात्रै होइन कर्णाली सरकारमा पनि छ । जसकारण कर्णाली सरकार अलपत्र छ ।
त्यसको जस मुख्यमन्त्री जीवन शाहीले पाइरहेका छन् । नपाउन पनि कसरी ? सरकार चलाउने डाडु–पनिउँ जीवनकै हातमा छ । तर गठबन्धनका कारण निरीह जस्तै देखिनु परेको छ ।
शक्ति र जनार्दनको लडाइँ चल्दा माओवादीबाट बाँकी हुने मन्त्री कुन लाइनबाट सिफारिस हुने ? हेर्न बाँकी छ । कर्णाली सरकार सञ्चालन गर्नदेखि आवश्यक निर्णयसम्म शक्ति र जनार्दनको दबदबा भने चलेकै छ । कांग्रेस नेतृत्वको सरकार भएपनि कांग्रेसले निर्णय लिन सकेको छैन ।