सिमकोट : लामा समुदायले नयाँ वर्षकै रुपमा मनाइने ‘तोल ल्होसार’ (तोतङरी) हुम्लामा धुमधामका साथ मनाएर सम्पन्न भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा बसोवास गर्ने लामा समुदायहरुले एक आपसमा रमाइलो गरेर ‘ल्होसार’ पर्व मनाएका हुन् । पर्यटन तथा स्थानीय रिन्जीन लामाले गाउँमा हुनेहरुले गाउँमा रमाइलो गरेर ‘ल्होसार’ मनाएका छन् भने सदरमुकाम सिमकोटमा बसोबास गर्नेहरुले सामूहिक रुपमा ‘ल्होसार’ बनाएका हुन् ।
यसवर्ष पनि सदा झै धुमधामका साथ ‘ल्होसार’ मनाउने कार्य भएको हो । गत सोमवार बिहान पूजापाठपछि लिंगो ठड्याएर जम्मा भएका सहभागीबीच ‘ल्होसार’को शुभकामना आदान प्रदान भएको थियो ।
बौद्ध धर्म अनुसार, यस अवसरमा पूजापाठ गर्दा सिंगो वर्ष भरि नै सबैलाई राम्रो हुने स्थानीयको धार्मिक मान्यता रहेको छ । बालकदेखि वृद्धसम्म नयाँ पोसाकका साथ ‘ल्होसार’मनाउन उपस्थित भएका थिए ।
मुख्य ‘ल्होसार’ एक दिन हुने भएपनि जिल्लाका लामावासीले भने तीन दिनसम्म मनाउने गर्छन् । हुम्लाको माथिल्लो भेगमा बौद्ध धर्म मान्ने लामा समुदायको बसोबास हुँदै आएको छ ।
नाम्खा गाउँपालिका वडा नम्र १ देखि ६ सबै बस्तीमा लामा समुदायको बसोबास हुँदै आएको छ भने सिमकोट गाउँपालिका वडा नम्बर ३ र ४ मा उक्त समुदायको बसोबास रहेको छ ।
एक आपासमा लिमीजुली मिठा परिकार बनाए सामुहिक खाएर मनाउने चलन छ । अन्तिम दिन स्थानीय महिला पुरुष पुरानो पहिरनमा पुरुषहरुले बक्खु लगाउने गर्छन् ।
ल्होसार पर्वलाई नयाँ वर्षका दिनका रुपमा विशेष महत्वका साथ मनाउने गर्ने गरिएको छ । सदरमुकाम सिमकोटमा बसोबास गरिहेकाहरु स्थानीयहरु लामा सांस्कृतिक मञ्चमा सबै जम्मा भएर रमाइलो गरेर ल्होसार पर्व मनाएका थिए ।
ल्होसारमा पाउना भएर पालो मिलाएर सबैको घरमा गएर रमाइलो गर्दै मनाउने गर्छन् । उनीहरुले हरेक वर्षको पुस शुक्ल प्रतिपदाको दिन ल्होसार पर्व मनाउने गरेका छन् ।
यो ल्होसार नै अन्य ल्होसारको उद्घम मानिन्छ । ‘तोल ल्होसार’को आफ्नै दर्शन र महत्व भएको पाइन्छ । गत वर्ष कोरोना संक्रमणका कारण उनीहरुले ल्होसार पर्वलाई एक आपसमा जम्मा भएर मनाउन नपाए पनि यो वर्ष सबै जम्मा भएर बनाएका हुन ।