सुर्खेत : शुक्रबारदेखि कर्णालीका १० जिल्ला मध्ये आठ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन जारी रहेको छ ।
सात जिल्ला सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट, डोल्पा, जुम्ला र दैलेखमा पुस २३ गते शुक्रबारबाट अधिवेशन शुरू भएको हो भने कालिकोटको जिल्ला अधिवेशन आज (शनिबार) देखि शुरू भएको छ ।
कर्णालीका सात जिल्लामा जारी एमाले अधिवेशनमा नयाँ नेतृत्वको लागि सर्वसम्मतको प्रयास जारी रहेको एमाले कर्णाली प्रदेशले जनाएको छ । भने धेरै जसो जिल्लाहरूमा बन्दसत्र जारी रहेको छ । उक्त अधिवेशन जारी रहदा हाल सम्म डोल्पा जिल्लाले भने एमाले नयाँ अध्यक्ष पाएको छ । जसमा युवा नेता शेरबहादुर बुढा सर्वसम्मत चयन भएका हुन् ।
पार्टीको छैटौँ जिल्ला अधिवेशनबाट ६ जना आकाङ्क्षी भित्र सहमति जुटाउँदै बुढा अध्यक्षमा निर्विरोध निर्वाचित भएको एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए । उनका अनुसार अन्य पदाधिकारीको नाम टुङ्गो लागेको छैन् ।
यस्तै, सुर्खेतमा जारी बन्दसत्र शनिबार दिउँसो सकिएको छ । अब नेतृत्व निर्माणका लागि नेताहरु जुटिरहेको प्रचार–प्रसार समितिका संयोजक गंगाराम तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार सुर्खेतमा पनि सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी भइरहेको छ । सुर्खेतमा आकांक्षीहरु धेरै देखिएका छन् । अध्यक्षका लागि जिल्लामा ६ जनाले आकाँक्षा व्यक्त गरेपनि चर्चामा भने चार जनाको नाम रहेको छ । जसमा बहालवाला उपाध्यक्ष अमृतबहादुर विसी, डण्डीप्रसाद शर्मा र कूलमणि देवकोटा र वर्तमान अध्यक्ष धुर्वकुमार शाही रहेका छन् ।तर, नेतृत्व चयनका लागि छलफल भइरहेको छ ।
यस्तै दैलेखमा पनि बन्दसत्र सकिएको छ । दैलेखमा अहिले राजनीतिक प्रतिवेदन प्रस्तनु भइरहेको छ भने नेतृत्व चयनका लागि नेताहरुले ‘लबिङ’ गरिरहेका छन् । दैलेखमा अध्यक्षका लागि चार जनाले दाबी गरेका छन् ।
वर्तमान पार्टी अध्यक्ष रविन्द्रराज शर्माले पुनः दोहोरीने चाहना व्यक्त गरेका छन् भने पूर्व जिल्ला उपसभापति सुर्यबहादुर शाही र प्रदेश सभा सदस्य तथा युवा नेता सुशिलकुमार थापा र चामुण्डा बिन्द्रासैनी नगरपालिकाका मेयर सुर्यबहादुर शाहीले पनि अध्यक्ष पदका लागि दाबी गरेका छन् ।