सिमकोट : दुर्गमको परिचय बनाइरहेको गोठी कुती गाउँमा सडक सञ्जाल जोडिएपछि स्थानीयले खुसीयाली मनाउन थालेका छन् । यति चाँडै घर आँगनमा सडक निर्माण भएर गाडी गुड्ने कल्पना नगरेका स्थानीयलाई पहिलो पटक सामान र यात्रुसहितको गाडी पुगेपछि खुसी भएका हुन् ।
सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँका स्थानीय साउने बुढाले पहिलो पटक गाउँमा सामान र यात्रु बोकेको गाडी पुगेपछि गाउँवासी मिलेर खुसीयाली मनाएको बताए । गाडी चालक र यात्रुलाई फुलमाला, खादा र अविर लगाएर स्वागत गरिएको थियो । गाउँपालिका केन्द्र सर्केगाडबाट गोठी र कुती गाउँमा सडक सञ्जाल जोडिएपछि अब गाउँमा विकासले फड्को मार्ने स्थिानीयले विश्वास गरेका छन् ।
कतिपय स्थानीयले पहिलो पटक गाडी समेत देख्न पाएका छन् । गाडी पुगेपछि स्थानीयवासी मिलेर सगुन बनाए बाँडेर खाएका थिए । सडक निर्माण भएर गाडीमा सस्तो ढुवानीमा सामान आइ पुगेपछि विकास भनेकै सडक निर्माण भएको निष्कर्षमा स्थानीय पुगेका छन् । वडाध्यक्ष कर्णजङ्ग शाहीले दुई वर्ष लगातार निर्माण गरेर गाउँमा सडक पुगेको बताए ।
पहिलो वर्ष सडक निर्माण कार्यका थालनी गर्दा कसैले नपत्याएका स्थानीय गरेपछि हुन्छ भन्ने कुरा प्रमाणित भएको भन्न थालेका छन् । सो सडक निर्माणका लागि बजेट बिनियोजित गर्न गाउँपालिकामा निक्कै घम्साघम्सी परेको स्मरण गर्दै उनले आफ्नो प्रयास बल्ल सफल भएको बताए । उक्त सडकका लागि अघिल्लो वर्ष प्रदेश र गाउँपालिकाको समपुरक कोषबाट ३७ लाख बजेटले स्थानीय उपभोक्ताबाट कामको सुरुवात भएको थियो ।
यस वर्ष सोही कोषबाट एक करोड बीस लाख र गाउँपालिकाको सात लाख गरि जम्मा एक करोड २७ लाखमा टेण्डर भएर सडक निर्माण कार्य सम्पन्न भएको हो । कुल एक करोड ६४ लाखमा पाँच किलो मिटर सडक निर्माण भएर दुई वटा गाउँमा सडक पुगेको हो । दुबै गाउँमा सडक जोडिएसँगै स्थानीयलाई आवत–जावत र खाद्यान्न लगायतका सामग्री ढुवानी गर्न सहज भएको छ ।
यसअघि स्थानीयले गाउँपालिका केन्द्रसम्म दुई घण्टा पैदल हिडेर जानुपर्थ्यो । सो सडकलाई उनले वडाकै भुवा कल्लास गाउँसम्म सडक जोड्न बाँकी रहेको बताए । उक्त गाउँमा सडक निर्माण भए वडाका सबै बस्तीमा सडक सञ्जाल जोडिनेछ ।