जतिबेला कर्णालीका घर आँगनहरुमा ‘गाउँ–गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ जस्ता गीत बज्थे । निरंकुश व्यवस्थालाई ढालेर जनवादी व्यवस्थालाई लागु गर्न हजारौं युवा एउटै बाटोमा थिए । विचारमा थिए । सिद्धान्तमा थिए । विश्वासमा थिए । भरोसामा थिए । जसको नेतृत्व माओवादीले गरेको थियो । जुन दश वर्षसम्म चल्यो । २०५२ देखि ०६३ सालसम्म चलेको थियो । जसलाई सशस्त्र द्वन्द्व भनिन्छ ।
सुर्खेतको बराहताल गाउँपालिका–५ चेपाङका क्षेत्रबहादुर खड्का हजारौं जनयुद्धका योद्धा मध्ये एक हुन् । उमेरले उनी ५६ वर्षका पुगे । राजनीतिको रापताप भने उस्तै छ ।
२०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्यसँगै बहुदल आएपछि नेपाली कांग्रेसको झण्डा लिएर गाउँ–गाउँमा लिने । वितरण गर्ने कार्यकर्ता बनाउने । काम गरे । खड्काले नेपाली कांग्रेसको झण्डा, झोलासहितको सिद्धान्त बोके । सिद्धान्तले हातमुख जोड्न धौ-धौ भएपछि परदेशी हुन बाध्य भए ।
२०५० देखि २०५६ सालसम्म भारत बसे । परिवार पाल्नकै लागि भारतको डेरादुहन बसेको उनी सुनाउँछन् । भारतको लामो बसाइँपछि २०५८ सालतिर घर फर्के । त्यतिबेला गाउँमा जनयुद्ध चलेको थियो । भारतबाट फर्केपछि केही समयमै युद्धमा सामेल भए । ०५९ सालमा उनी कांग्रेसको सिद्धान्त त्यागेर उनी माओवादी विचारधाराको युद्धमा हिँडे । आफ्नो परिवारलाई हातमुख जोड्न समेत कठिन थियो ।
घर परिवारलाई बिहान बेलुकाको छाकटार्न समेत धौ–धौ हुने गरेको थियो । त्यहीँ अवस्थामा परिवारलाई छोडेर युद्धमा होमिएको खड्काले बताए । उनको राजनीतिक अनुभव र सक्षमताले तत्कालिन जनसरकार उप–प्रमुखको जिम्मेवारी दिइयो ।
उनले भने, ‘जनताको नेतृत्वबाट जानुपर्छ र मैले राम्रो नेतृत्व गर्छ नै भनेर मलाई गाजस उप–प्रमुखको जिम्मेवारी पाए’ त्यतिबेला सर्वहाराकाको नेतृत्व गर्दै पार्टीले दिएको जिम्मेवारी पुरा गरेको उनले बताए । उनको त्यो काम र पार्टीमा देखिएको सक्रियताले एक वर्षपछि गाउँ जनसरकार प्रमुख जिम्मेवारी पाए । आन्दोलन हुँदै गयो । उनको सक्रियताले जिम्मेवारी बढ्दै गयो । पछि लेक गाउँ विकास समितिको इन्चार्जको जिम्मेवारी पाए । इन्चार्जको जिम्मेवारी पाएपछि उनले गाउँका विभिन्न योजनाहरु हेरे ।
जतिबेला, असल विचार र बाटोका कमरेडले आँखै अगाडि आँखा बन्द गरे...
२०६२ साल बैशा १० गते युद्ध अन्तिम–अन्तिम चरणमा थियो । सेना राजनितिक कार्यकर्ता गरेर ४० हजारको संख्यामा टोली सुर्खेत रम्बापुर पुग्यो । सेनाको टोली अघि–अघि सुर्खेत तरंगा हुँदै तेल पानी रम्बापुर नजिक पुगेको थियो ।
खड्का पार्टी सेनाका पछि थिए । ‘एक्कासी राज्य पक्षबाट आक्रमण सुरु भयो । राज्य पक्षले एक ग्रुप कब्जा गर्यो । यातना दियो । ठुलो यातनापछि उक्त ग्रुपद्धारा राज्य पक्षले हाम्रो ठेगाना पायो’ खड्काले भने, ‘हामी घेरामा पर्यौँ । त्यसपछि गोलीको वर्षा नै आयो । आँखै अगाडी साथीहरु ढल्नु भयो । हामीसँग पानी पनि कम थियो । गोली लागेर छट्पाइ रहेका साथीहरुलाई पानी समेत दिन सकेनौं । ज्यान गुमाउनु भयो ।’
उक्त घटनामा सयौं घाइते भए । त्यस्तैले ज्यान गुमाए । ‘कोही कमरेडको त आँखा थिएनन । कसैको हातखुट्टा थिएनन’ उनले सम्झे, ‘आक्रमणमा पर्दा आज अन्तिम दिन रहेछ । भन्ने सोचका थियौं । ‘युद्धबाट समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य थियो । त्यो पुरा भएन । केही जनयुद्ध बेलाका विचार सिद्धान्त फेरेर पैसा कमाउनतिर कमरेड लाग्नु भयो । हामीलाई थाहा भएन’ उनले भने, ‘हामीले पहुँच पावर र पैसा लागि शासन गर्ने व्यवस्था अन्तय गरेको जस्तो लाग्थ्यो । तर हाम्रै साथीहरु त्यो व्यवस्थामा लागेको पत्तै भएन ।’
‘जनयुद्ध परिवर्तनका लागि थियो’
जनयुद्धमा नराम्रो काम नभएको खड्काले बताए । सबै जनताको हितका लागि भएको उनको दाबी छ । २०६२ सालमा राज्यबाट कुनै बजेट बजेटको व्यवस्था नगरे पनि यसबीच विभिन्न ठाउँमा विद्यालयको स्थापना गरिएको उनले बताए । गरिबी र निमुखा भुमिहिनलाई बस्तीमा बसाल्ने काम गरेको सुनाए ।
२०६१/६२ सालमा सुर्खेतको इखेनीको लालबस्ति, गुटुको बिशाल बजार, पन्चपुरी नगरपालिकाको पलैटे बजार, बराहताल गाउँपालिकाको घट्टेघारीबस्ति माओवादीले नै बसालेको उनको भनाइ छ ।
जनयुद्धलाई साथीहरुले कमाउने साधन बनाए । आफ्नो यस्तो लोभ नभएको उनको दाबी छ । जनताकै काममा लागिरहेको उनी बताउँछन् । सेवा गर्नका लागि पदको आवश्यक नभएको उनको तर्फ छ । हाल माओवादी केन्द्रको बराहताल गाउँ कमिटी सदस्य हुन् । किसान संगठन समितिका सुर्खेत संयोजक समेत छ । राजनीतिक रुपमा परिचित भएपनि घरको आर्थिक रुपमा अवस्था कमजोर छ ।
उनी भन्छन्, ‘माओवाद सर्वहाराका लागि हो । जसले जनताको हितमा काम गर्छ । हामीले युद्ध गर्यौं । युद्धका सारहरु पुरा हुन बाँकी छ । व्यक्तिगत स्वार्थका लागि सत्तामा पुगेर विचार बाटो भुल्ने हाम्रो युद्धका योद्धा होइनन उनीहरु त केवल युद्धलाई साधन मात्रै बनाइरहेका छन् । शासन गरिरहेका छन् ।’
(२०५२ सालदेखि २०६२ सालसम्म नेपालमा सशस्त्र द्धन्द्ध भयो । तत्कालिन विद्रोही नेकपा माओवादीले जनयुद्ध घोषणा गर्दा देशभर संघीयता, संविधान र गणतन्त्रका लागि योगदान गर्नेको लहर चल्यो । त्यतिबेला रगत बगाउन तयार हुनेहरु अहिले साँझ बिहानको छाक टार्न दैनिक आ - आफ्नै ज्याला मजदुरी गरिरहेका छन् । कतिपयले राम्रो घरबार जोडेका छन् । कतिपय सडकमा छन् । यो जनयुद्धदेखि अहिले बाँच्नका लागि दुई पैसा कमाउन धनयुद्ध लड्नेहरुको कथा हो, 'जनयुद्धदेखि धनयुद्धसम्म' श्रृंखला । त्यतिबेलाको मध्यपश्चिम अर्थात रोल्पाको होलेरीबाट सुरु भएको जनयुद्धले कर्णालीलाई आधार इलाका बनाएको थियो । सुख, शान्ति र समृद्धिको चर्को नारा उचालिएको कर्णाली अहिले पनि जस्ताको त्यस्तै छ । रगतकै बलिदान दिएर पनि कर्णालीको समृद्धि किन हुन सकेन ? हिजो देशका लागि रगत बगाउने, ज्यानको आहुति दिने र जीन्दगीभर जनयुद्धको घाउ बोक्नेको पीडामा किन मलम लाग्न सकेन ? यो श्रृृंखलामा हामी यस्तै प्रश्न र जिज्ञासासहितका सामग्री प्रस्तुत गर्नेछौँ : सम्पादक)