सुर्खेत : कर्णालीका विभिन्न जिल्लमा कोरोना सङ्क्रमण बढ्न थालेको छ । यसले पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ । केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो । उनीहरु विगतको जस्तो लामो बन्दाबन्दी भए खानको लागि कसरी जोहो गर्ने भन्ने चिन्तामा देखिन थालेका छन् । यससँगै भारतबाट आउने संक्रमितका कारण कर्णाली प्रदेशका विभिन्न जिल्ला लोखिममा परेका छन् ।
कैलालीको टीकापुर नगरपालिका–१ विशालनगर शिविरका सन्तोष परियारको दिनभरि मजदुरी गरेर कमाएर ल्याएपछि मात्रै साँझ घरमा चुलो बल्छ । उनका श्रीमान्÷श्रीमती बिहानै काममा निस्कन्छन् । बिहानको खाना पकाएर छोराछोरीलाई घरमै राखेर उहाँहरु आफ्नो खाना बोकेर काममा जाने गरेका छन् । “अलिअलि काम पाउन थालिएको थियो । अझ कोरोनाको सङ्क्रमण बढेको भन्ने सुनेको छु” उनले भने, “अझ बन्दाबन्दी हुन्छ भने हामी त मर्छौं होला । दिनभर काम नगरे साँझ चुलो बल्दैन । कामकाज बन्द भएपछि कमाउने बाटोसमेत बन्द हुन्छन् ।”
सोही ठाउँका रामबहादुर चौधरीलाई पनि त्यहीँ पीडाले सताउन थालेको छ । उनी अहिले घर निर्माणका काममा व्यस्त रहनुभएका उनले कोरोनाको भन्दा बढी चिन्ता परिवारको लालनपालनमा छ । उहाँको पनि दिनभर काम गरेपछि मात्रै साँझ घरमा चुलो बल्छ । यसभन्दा पहिलेको बन्दाबन्दीको समयमा खाएको उधारो अझै तिर्न नसकेका उनलाई फेरि बन्द भएपछि व्यापारीसँग उधारो सामानका लागि जानसक्ने आधार पनि छैन ।
“कोरोना आए पनि हामीलाई चिन्ता छैन । काम हुनुपर्यो । परिवारलाई साँझ बिहान खाने खर्च जुट्यो भने पुग्यो” उनले भने, “धेरै पैसा कमाएर घर जग्गा जोड्ने सपना छैन । विगतका जस्तो बन्दाबन्दी भयो भने परिवारलाई कसरी पाल्ने भन्ने चिन्ता मात्रै छ ।”
कैलाली भारतसँग सिमाना जोडिएको जिल्ला भएका कारणले पनि अन्य जिल्लाभन्दा बढी कोरोनाको बढी जोखिममा रहेको छ । यसमा पनि भारतीय नागरिक अवैध सीमानाकाबाट व्यवसायको लागि नेपाल प्रवेशको क्रम नरोकिएकाले पनि जोखिम बढेको भजनी नगरपालिका–८ का विकास चौधरी बताउँछन् ।
“दैनिक भारतबाट नेपाल आउने भारतीय नागरिकलाई प्रशासनले अझै पनि रोक्न सकेको छैन । भारतमा कोरोनाको सङ्क्रमण वृद्धि हुँदा मुख्य सीमानाकामा मात्रै कडाइ गरेर जोखिम कम हुनसक्ने अवस्था छैन” उनी भन्छन् “सीमानाकामा कडाइ गरी भारतबाट आएका नेपाली नागरिकलाई पनि अनिवार्य क्वारेन्टिनमा राख्न सके सङ्क्रमण कम गर्न सकिन्छ तर, यहीँ अवस्थामा सङ्क्रमण बढ्दै गएपछि हामीजस्ता न्यून आय भएका नागरिकलाई दैनिकी चलाउन निकै मुस्किल हुने निश्चित छ ।”
भारतबाट आउने संक्रमितकै कारण सुर्खेत, दैलेख, कालिकोट, जाजरकोटदेखि कर्णाली सबै जिल्ला कोरोनाको उच्च जोखिममा छन् । कैलाली र कञ्चनपुर सीमा भएर आउने धेरै नेपाली कर्णाली प्रदेशका समेत हुन्छन् । तर सम्भावित जोखिमका विषयमा कर्णालीका सबै जिल्लामा भने तयारी नै देखिदैन । जसकारण थप संकट आउन सक्ने जोखिम छ ।