सिमकोट : मंसिर महिनामा गाउँपालिकाबाट निकासा आउनुपर्ने रकम निकासा नहुँदा सर्केगाडका शिक्षक पारिश्रमिक पाउनबाट बञ्चित भएका छन् । अघिल्लो आर्थिक वर्षको रकम गाउँपालिकाले जथाभावी खर्च गर्दा बजेट शोधभर्ना गर्न नसकेपछि कोष तथा लेखा नियन्त्रण कार्यालयमा निकासा रोकिदा शिक्षकको पारिश्रमिक नपाउँदा गाउँपालिकाप्रति आक्रोशित बनेका छन् ।
सर्केगाड गाउँपालिका–५ गोठीको भवानी आधारभुत विद्यालयका प्रधानाध्यापक रोलबहादुर शाहीले गाउँपालिका भरी ३२ वटा विद्यालयका शिक्षक, बालबिकासका सहजकर्ता र कर्मचारीले मङ्सिरबाट तलब भत्ता नपाएको गुनासो गरे । उनले सबै विद्यालयमा हिउँदे बिदा सुरु भएर बन्द रहेको भएपनि गाउँपालिकाले तलब भत्ता हालसम्म विद्यालयको खातामा नदिएको बताए ।
बिगतदेखि फागुन १ गतेसम्म हिउँदे बिदा हुने भएको कारण आगामी फागुन महिना अर्थात् दोस्रो चौमासिक अवधिसम्मका लागि मंसिर महिनामै शिक्षक कर्मचारीको पारिश्रमिक उपलब्ध हुने गरेको थियो । हिउँदे बिदा सुरु भएको एक हप्ता भन्दा बढी समय भएको भएपनि हालसम्म शिक्षकको तलब भत्ता खुवाउनेतर्फ गाउँपालिकाले कुनै सुरसार नगरेको उनको गुनासो छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकेशर आचार्यले शिक्षक कर्मचारीको तलब भत्ता विद्यालयलाई निकासा दिन नसकिएको स्वीकार गरे । यसमा उनले अघिल्लो आर्थिक वर्ष गाउँपालिकाले फरक शिर्षकको बजेट जथाभावी खर्च गर्दाको परिणती यो अबस्था आएको बताए ।
उनले अघिल्लो वर्ष ३८ लाख रुपियाँ शिर्षक अनुसार नभइ जथाभावी खर्च गरेपछि सो रकम कोष तथा लेखा नियन्त्रण कार्यालयले दाखिला नगर्दासम्म शसर्ततर्फको बजेट निकासा नदिएपछि समस्या खडा भएको जानकारी दिए ।
अब गाउँपालिकामा निकासा आएको सामान्यीकरण शिर्षकको बजेटबाट शोधभर्ना गरेपछि मात्रै निकासाको बाटो खुल्ने गाउँपालिकाले जनाएको छ । उनले गाउँपालिकामा निकासा आएको उक्त शिर्षकको बजेटबाट दालिखा गर्नुपर्ने बजेट कोलेनिकामा जम्मा गर्ने प्रकृयामा लागेको बताए ।
त्यसपछि मात्रै शिक्षकहरुले पाउने पारिश्रमिक शिर्षकको बजेट निकासाको बाटो खुल्नेछ । सो बजेट निकासा आएपछि मात्रै गाउँपालिकाले विद्यालयलाई निकासा दिने जनाएको छ । गतवर्ष यसरी जथाभावी शिर्षकमा बजेट खर्च गर्ने खार्पुनाथ बाहेक जिल्लाका अन्य छ वटा गाउँपालिका परेका थिए ।