सिमकोट : हुम्लाको विकासका लागि आएको बजेट आर्थिक वर्ष सुरु भएको छ महिना बितिसक्दा पनि ज्यादै न्यून खर्च भएरले असारे बिकासले फेरी पनि प्राथमिकता पाउने देखिएको छ । इच्छाशक्ति नभएकै कारण टेण्डर कार्य ढिलो हुनु र भएका आयोजनातर्फका कामहरु निर्माण कम्पनीले समयमै सुरु नगर्दा किवासे बजेट खर्च हुन नसकेको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायले आर्थिक वर्ष सम्पन्न भएको छ महिना बितिसक्दा पनि जिल्लाको कुल विनियोजित बजेट मध्य आठ दशमलव १९ प्रतिशत मात्र खर्च भएको जानकारी दिए । उनले समयका हिसाबले यो खर्च अनुपात ज्यादै न्यून भएको बताउदै बाँकी छ महिनामा कुल बजेट खर्च गर्न कठिन हुने बताए ।
चालु आर्थिक वर्षका लागि संघीय सरकार अन्तर्गत पपुँजीगत शिर्षकमा बजेट ५९ करोड ४० लाख २८ हजार विनियोजित भएकोमा पुस तेस्रो हप्तासम्म चार करोड ७५ लाख १७ हजार १८१ रुपियाँ मात्र खर्च भएको छ । पुँजीगत बजेट सबै भन्दा धेरै भएको हिल्सा सिमकोट सडक आयोजनाले हालसम्म चार करोड २८ लाख मात्र खर्च गरेको छ ।
जबकी उक्त आयोजनाको चालु आर्थिक वर्षमा कुल बजेट ५५ करोड १६ लाख रहेको छ । उनले यसरी हालसम्म बजेट खर्च कम हुनुमा टेण्डर भएका आयोजनामा निर्माण कम्पनीहरुले कम लागत भरेर आयोजना स्वीकृत हुनु तर पछि समयमा काम सुरु नगर्नु पनि मुख्य समस्याका रुपमा रहेको बताए ।
त्यससँगै विकासे कार्यालयहरुले टेण्डरको कार्य पनि ढिलै गरि सुरु गर्नु पनि समस्याका रुपमा देखिएको छ । जिल्लाका अन्य कार्यालयहरुमा पुँजीगत बजेट खर्च गर्न सकिने प्रकृतिको भएपनि आयोजनाको बजेट सडक निर्माणमै भएको कारण काम गर्न कठिन हुने देखिएको छ ।
आयोजनाले खोलिएका टेण्डरका लागि निर्माण कम्पनीहरुले ७५ प्रतिशत घटेर काम लिन खोज्ने प्रबृति पनि समस्याको रुपमा देखा परेको जनाएको छ । यसवर्ष आयोजनातर्फका धेरै कामहरु टेण्डर स्वीकृत भएर काम सुरु हुन सकेका छैनन् ।
अर्को कुरा जिल्लामा हिउँदमा काम नगर्ने प्रवृत्ति पनि बजेट खर्च कम हुनुमा जिम्मेवार देखिएको छ । यसमा स्थानीय तहमा जाने पुँजीगत बजेटको खर्च विवरण नदेखिने भएको कारण खर्च प्रतिशत अझै कम हुने निश्चित छ ।